‘भ्रष्टाचार नियन्त्रणमा सरकारी निकायलाई घचघच्याउनु पर्छ’

इनेप्लिज २०७७ चैत २९ गते १४:१५ मा प्रकाशित

विराटनगर,२९ चैत।भ्रष्टाचार विरुद्ध कार्य गर्ने सरकारी निकायहरुलाई सुशासन कायम गर्न घचघच्याउनु पर्ने छात्रछात्राहरुले सुझाव दिएका छन्।

भ्रष्टाचार विरुद्धको नागरिक निरानी संस्थाद्वारा आज यहाँ आयोजित भ्रष्टाचार न्यूनिकरणमा नागरिक समाजको भूमिका विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा सहभागी छात्रछात्राहरुले नागरिक समाजले जनतासम्म भ्रष्टाचार विरुद्धको जनचेतना जगाउने कार्य गरेमा न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ।प्रतियोगितामा विराटनगरका आदर्श बालिका,डिएभि, सेन्टजोसेफ,सत्यनाराण मावि,जनपथ मावि,गौतमवुद्ध,बालकल्याण विद्या मन्दिर,मिल्स मावि,अरनिको,गौतम वुद्ध सगरमाथा,एभरेष्ट गरी १२ विद्यालयका नौ र दश कक्षाका अध्ययनरत छात्रछात्राहरुले भ्रष्टाचार नियन्त्रणका सम्वन्धमा सम्वन्धमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो।

प्रतियोगितामा बालकल्याण विद्या मन्दिरका छात्रा सुभिका निरौला प्रथम, राधाकृष्ण भूपालमानसिंह कार्की विद्यालयकी मोनिक दियाली दोस्रो , अरनिको माध्यमिक विद्यालयकी कृतिका यादव तेस्रो र सगरमाथा माविका अतनेश पोखरेलले सान्त्वना पुरस्कार सहित नगद रु सात हजार,पाँच हजार,तीन हजार र १ हजार ५०० र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो।अख्तियार दुरुपयोग निवारण आयोग प्रदेश कार्यालय इटहरीका प्रमुख बाबुराम खतिवाडाले पुरस्कृत विद्यार्थी प्रमाणपत्र प्रदान गर्दै शक्ति र अधिकार केन्द्रीत क्षेत्रमा अत्याधिक भ्रष्टाचार हुने जानकारी दिदै स्थानीय तह र शिक्षा क्षेत्रका अनियमिताका सम्वन्धमा अध्याधिक उजुरी आउने गरेको बताउनु भयो।

उहाँले राजनैतिक नेतृत्व तहले भ्रष्टाचार नियन्त्रणमा मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै अख्तियारका सद्भावना दुतका रुपमा रहेका विद्यार्थीहरुले घरबाट भ्रष्टाचार नियन्त्रणमा घरबाट सचेतना फैलाउन भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, संस्थाका कार्यवाहक अध्यक्ष मोहन भण्डारी र सदस्य उत्तम ढुङ्गेलले अनैतिक आचरण नै भ्रष्टाचार भएको र यो सामाजिक अपराध भएकोले यसलाई नियन्त्रणका लागि हामीसबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया