व्यङग्य कविता: दोषी तुलो

अर्जुन राज पन्त २०७७ चैत २८ गते ११:४२ मा प्रकाशित

कुन छ धेरै कुन छ थोरै कुन छ बराबरी
सबलाइ जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्ने गरि

वस्तु सबै जोख्थे त्यँहा सानो देखि ठूलो
मान्छे समेत जोख्ने खालको आ’ को रै छ तुलो!

तौल नाप्नलाई जोखे मान्छे त्यही तुलोमा हाली!
एकातिर भएका जति अर्का तिर खाली

त्यही खालीमा राखि जोखे एउटा ब्यक्ति जब
बराबर रे दुबै तिर जिल्ल परे सब!

कस्तो खालको वीर पो हो त्यो त्यस्तो तौल भा’ को!
क्यारि भयो त्यती भारी के हो त्यसले खा ‘ को?

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो?
त्यति बिधि मान्छे भन्दा उसको वजन ठूलो!

बिग्रियो कि जोख्ने तुलो पिँधमा परि दुलो ?
धमिल्लिए कि तिम्रा आँखा पर्याथ्यो कि फुलो ?

अचम्मैको तौल अरे एउटै ब्यक्ति सङ्ग
तौलवालाको सम्बाद सुन्दा भा ‘छन् सबै दङ्ग!

शब्द पनि उस्तै अझ महावजनधारी
त्यस्तै शब्द बोल्ने भा र भा को हो कि भारी?

वजन वढाउने खालकै रै छ अझ आनिबानी
जस्तो पनि बोल्न सक्ने जत्ति पनि खानि!

गाली उस्तै शब्द उस्तै वजन उस्तै भा ‘ को
मान्छे जोख्ने अड्डाबाट त्यो पदवी पा’ को

दुइ दिन पनि टिकेन त त्यस्तो शक्तिशाली
सम्बाद सुन्दै थुक्न थाले गर्न थाले गाली

त्यस्तो खालको पदवी त्यो क्यारी उसले पायो!
भित्रिया पो थ्यो कि कतै अनि माया लायो!

वजन पक्कै भारि थ्यो कि बिग्रेको हो तुलो?
जोख्ने मान्छे उस्तो हो कि बोल्यो जोख्नै भुल्यो?

-अर्जुन राज पन्त , बागलुङ मुलपानी( व्यङग्य कवि पहिलो व्यङग्यकाव्य ‘कोइली’ लेखक समेत हुन)

प्रतिक्रिया