डि.सी टाइडल बेसिनको “राष्ट्रिय चेरी फूल्ने महोत्सव”

-शशी के.सी २०७७ चैत २४ गते २२:४६ मा प्रकाशित

 

प्रत्येक बर्ष मार्च महिनाको अन्त्य देखि अप्रिलको पहिलो हप्ता अमेरिकाको राजधानी वासिगंटन डि.सीमा “राष्ट्रिय चेरी फूल्ने महोत्सव” मनाइन्छ।इतिहास खोज्दा सन् १९१२ मा जापानले अमेरिकालाई ३००० वटा चेरीको रूख उपहार दिएकोरहेछ।ती सेता र गुलावी बिभिन्न थरीका चेरीको रूखहरूलाई डि.सीको टाइडल बेसिनको वरीपरी र राष्ट्रपति भवनमा रोपिएको रहेछ।चेरी वा साकुरा जापानको राष्ट्रिय फूल हो।त्यही साल देखि प्रत्येक बर्ष जापान र अमेरिकाको मित्रतालाईसंम्झेर यो महोत्सव मार्च र अप्रिलमा फूल फूल्न थालेपछि डि.सीमा मनाइन्छ।

ओहो कुनबेला महोत्सव मनाउने भनेर महिनौं देखि चर्चा हुन्छ।अलिक तातो मौसम साथै चेरीमा कोपिला लाग्न थाले देखि पूर्व अनुमान गरेर यो हप्ता मनाउने घोषणा गर्छ डि.सीको सरकारले।बिभिन्न संघ संस्थाले आफुले भाग लिने र के के गर्ने तयारी गर्छन्।सबै भन्दा रमाइलो परेड हुन्छ।जापानले उपहार दिएकोले जापान झल्काउने लुगा लगाएका,जापानिजचित्रकला,म्युजिक,चिया,चेरीको फूलले बनेका सामानहरू प्रदर्शन गरिएको हुन्छ।हो न हो जापान नै पुगेको भान हुन्छ।

अझ टाइडल बेसिनतिर कतै कतै त चेरीको रूखमुनि विवाह गरिरहेको देख्न सकिन्छ।तथ्यांक हेर्दा प्रत्येक बर्ष लगभग दशलाख मानिस चेरी फूलेको बेला डि.सी पुग्छन्।पोहोर र यस बर्ष कोरोना महामारीले गर्दा संख्या कम छ र परेड तथा अरू कार्यक्रम पनि भएको छैन।

चेरी फूलेको हेर्न डि.सी नजिकैको मेरिल्याण्ड र भर्जिनिया राज्यबाट मात्र हैन की अमेरिकाको बिभिन्न राज्यबाट मानिसहरूआउॅंछन्।यतिबेला स्कुल र क्याम्पसको स्पिरिगंको छुट्टी हुन्छ।अझ डि.सीको सबै जसो म्युजियमहरू सित्तैमा हेर्न पाउने हुनाले केटाकेटी लिएर घुम्न आउनेहरू धेरै हुन्छन्।एउटा कुरा अलिक गार्र्हो भनेको गाडी पार्किगं हो।महंगो र टाढा बाटोमा पार्किंग गरेर हिंड्नु पर्छ।तर डि.सीमा मेट्रो रेल मेरिल्याण्ड र भर्जिनियाबाट राम्रो सॅंग जोडिएकोले गर्दा गाडी लग्न झन्झट लाग्नेले रेलमा जांदा हुन्छ।तर चेरी फूले पछि एकपटक त्यहां पुग्नु सांच्चै रमाइलो हुन्छ।

हाम्रो घरबाट आधा घण्टामा पुगिने हुनाले हामी प्रत्येक बर्ष चेरी फूलेको हेर्न पुग्छौं।कहिले काहीं साथीहरू मिलेर रूखको मुनि दिउॅंसो भरि बसेर मिठो खाएर पिकनिक पनि मनाउॅंछौं।ओहो सेतो,गुलावी फूलको रूखमुनी बस्नु,थरीथरीको फोटोखिच्नु,लिंकन मेमोरियल,जेफर्सन मेमोरियल,नेशनल मनुमेन्ट पछाडी पारेर चेरीको फूलसॅंग फोटो खिच्दा रमाइलो हुन्छ।अझ तलाउमा सानो पानी जहाज चढेर घुम्ने हो भने त झन रमाइलो हुन्छ।अरू राज्यमा रहेका इष्टमित्रलाई घुम्न आउनेनिम्तो पनि दिन्छौं।

जे होस् चेरी फूल्दा डि.सीको टाइडल बेसिन मात्र हैन की हाम्रो आफ्नो घर वरीपरीको रूखहरू पनि फूल फूलेर मनमोहक भएको दृश्य देखिन्छ।सेतो चेरी पहिले फूल्छ र केही दिन पछि गुलाबी फूल्छ।यसरी प्रत्येक बर्ष चेरी फूल्दा अनायसै जापानलाई धन्यवाद भन्नै मन लाग्छ।

 

-शशी के.सी

 

प्रतिक्रिया