वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको भव्य राष्ट्रिय अभिनन्दन

इनेप्लिज २०७७ चैत २२ गते १७:०७ मा प्रकाशित

ईनेप्लिज विशेष सम्वाददाता काठमाडौं चैत२२ । नेपाली साहित्य जगतमा उपन्यासकार तथा कथाकारका रूपमा सुपरिचित तथा साहित्यिक पत्रिका अभिव्यक्ति विगत ५० वर्षदेखिसम्पादन प्रकाशन गर्दै आउनु भएका वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई काठमाडौंमा एक विशेष समारोहका वीच राष्ट्रिय अभिनन्दन गरिएको छ ।

उहांलाई वांगमय शताब्दीपुरूष सत्यमोहन जोशीले पूर्ण कदको काश्य अभिनन्दनपत्र हस्तान्तरण गर्नु भयो ।

कार्यक्रमको शुरूमा पन्चे बाजासहित अभिनन्दित प्रतिभालाई मंचमा ल्याईएको थियो । तत्पश्चात् राष्ट्रिय अभिनन्दन मूल समारोह समिति सदस्य साहित्यकार विधान आचार्यले स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो । तदुपरान्त प्रमुख अतिथिबाट पानसमा बत्तीबालेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

त्यसपछि राष्ट्रिय अभिनन्दन मूल समारोह समितिका तर्फबाट अध्यक्ष पवन आलोकले अबिर र पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । साथै उनलाई दुबोको मालाले माल्यार्पण गर्नुका साथै दोसल्ला ओढाइएको थियो ।

अर्का विशिष्ट अतिथि रमा शर्माले ढाका टोपी अर्पण गर्नु भएको थियो ।सो अवसरमा अभिनन्दित प्रतिभाकी कमला शर्मालाई समेत सम्मान स्वरूप माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

कार्यक्रममा अभिनन्दन पत्र राष्ट्रिय अभिनन्दन मूल समारोह समिति सदस्य साहित्यकार श्रीओम् श्रेष्ठ रोदनले पढेर सुनाउनु भएको थियो । साथै  देशका विभिन्न झण्डै ५० सङ्घसंस्थाहरूबाट समेत अभिनन्दन पत्र अर्पण गरिएको थियो ।

सो अवसरमा नगेन्द्रराज शर्माका पूर्व प्रकाशित ४ कृतिहरूको रोशन थापा निरवद्वारा सम्पादित एकल समग्र ग्रन्थ तथा अभिव्यक्तिमा प्रकाशित स्तम्भ यायावरको समग्र संकलन पनि प्रमुख अतिथिबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा गोविन्द गिरी प्रेरणा लिखित “नराश संक्षिप्त जीवनी” पुस्तिका वितरण गरिएको थियो । सो अवसरमा अभिनन्दित प्रतिभा नगेन्द्रराज शर्माको बारेमा समितिले निर्माण गरेको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट अभिनन्दित प्रतिभालाई बधाई दिंदै हाम्रो संस्कारमा ८४ बर्षको उमेरमा गरिने जन्मोत्सवको रिति माथि प्रकाश पार्नु भयो ।

विशेष अतिथि रमा शर्माले योगदानको आधारमा अभिनन्दन गर्नु पर्ने प्रतिभा नगेन्द्रराज शर्माको यसरी अभिनन्दन हुनु महत्वपूर्ण कार्य भएको वताउनु भयो ।

अभिनन्दित प्रतिभा नगेन्द्रराज शर्माले आफूले नेपाली साहित्यका तीन पुस्तासंग सहकार्य गर्न पाएको र सबा पुस्ताप्रति आफ्नो उत्तिकै स्नेह र सम्मान रहेको वताउनु भयो ।

आयोजक समितिका अध्यक्ष पवन आलोकले अभिव्यक्ति जमघटमा हाल अमेरिकामा रहनु हुने साहित्यकार गोविन्द गिरी प्रेरणाले प्रस्ताव गर्नु भएपछि अभिनन्दन समारोह समिति निर्माण भै आज समितिका सबै सदस्यहरूको सहयोगले कार्यक्रम सफल भएकोमा सबैप्रति आभार प्रकट गर्नु भयो ।

अभिनन्दन समारोहका लागि उच्च योगदानकर्ताहरूलाई सो अवसरमा कृतज्ञता स्वरूप प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने सबै सहयोगी मनहरूको नाम समितिका सदस्य देविका तिमिल्सिनाले पढेर सुनाउनु भएको थियो ।

समितिका सदस्य किशोर पहाडीले कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम समितिका सदस्य पुष्पा खनालले आकर्षक ढंगले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया