ब्यङ्ग्य कविता :चिनेन काेइलीले!!

अर्जुन राज पन्त २०७७ चैत २२ गते ०:११ मा प्रकाशित

कोकिल कण्ठी धुन सङ्गै आयो ऋतु राज
ऋतु राजकै दूत माथि व्यङ्ग्य लेखे आज

बर्षौ देखि पुस्तौ देखि शोध्छस् काे हाे? काे हो ?
कहिले चिन्छस् आखिर तैँले खोजेको त्यो जो हो ?

साँच्चै शोधि हिडछस् कि खोइ तेरो थेगो पो हो ?
शँधै शाेधी हिड्छस् कस्लाई तैँले काे हाे ?काे हाे?

सृस्टिकै त्यो चतुर पन्छी कागलाई समेत ढाँटी
उस्का अण्डा खाई दिन्छस् आफ्ना त्यहाँ साँटी !

नबनाउछस् गुँडै तैँले नहुर्काउछस् चल्ला
चलेकै छ तेरो सृस्टि गरेकै छस् हल्ला !

संसारकै खबर जान्ने कागका गुँडमा हूर्किस्
सिकाएन कि तँलाई बिद्या तैँले आफै बिर्सिस् ?

शँधै शोध्छस् एउटै प्रश्न तैँले घरि -घरि
नचिनेर पक्कै हो त ;एति बाठो चरी !

दुनियालाई लठ्ठै पारि गर्छस् आफ्नो जोहो
कागलाई समेत ठग्ने तैले नचिनेको को हो?

सात बर्षकी मेरी छोरी भन्छे घरि- घरि
जान्न म त बाहिर अब दिक्क पार्छ चरी !

हजार चोटी भनि अरे यँहि घरकी छोरी
शाेध्छस् मात्रै सुन्दैनस् ए बहिरो छस् र चरी ?

धोखा दिएको बदला लिदै ठुङ्गदिएर कागले
सुन्दैनन् कि तेरा दुवै कानका भित्रि भागले ?

बक बक धेरै बोल्नेले कि सुन्दैनन् कुरा?
गर्नु सुन्नु मसलक्कै बोली मात्रै छुरा !

युवा बिहिन निर्जर बस्ति देखिस् नौलो कलाई ?
कुन मान्छेले भ्रममा पार्यो चंख पन्छी तँलाई ?

मुखै छोपी आयो कि कोहि फेरि टालो बाँधी ?
सशङ्कित नै बनिस् र पो चल्यो मनमा आँधी?

शिकारी नै आयो कि कोहि काँधमा बन्दुक बोकी ?
अनाहकमा पन्छी मार्ने तिन्लाई गोली ठोकी ?

बिदेशिएको आयो कि कोहि खैरो कपाल पारि
ढ्याब्रे चश्मा लगाएर पाली बोके दाह्रि?

चुनाबै पो लाग्यो कि खोइ आयो कुनै नेता !
पाँच बर्षमा फेरी अर्को पाइलो पार्दै त्यता !

चप्पल पड्काई हिजो हिड्ने पजेरोमा आँउदा
अनुहार् नै छोप्ने गरि फूलका माला लाँउदा

अघि पछि उत्ति गाडी रबाफ गरि ठूलो
नभमण्डल ढाक्ने गरि उडाए कि धुलो ?

गाह्राे भाे कि देख्न तलाई शङ्का भयो चीन्न ?
पाँच बर्षमै कुम्लिएर देखिएर भिन्न !

बेभिचारी भ्रष्टाचारी आयो कि कोहि गाँउमा ?
फेरी पनि झुक्काउनलाइ अनेक थरि नाँउमा ?

कस्लाई सोध्छस एउटै प्रश्न तैले घरि -घरि
को हो त्यस्तो संङ्का लाग्दो चिनाइदेन चरी

बोल्छस मात्रै सुन्दैनस् नि किन हो र तैँले?
तेरै सिको गरि सके नेता ज्यूले अहिले !

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, हाल टेक्सास अमेरिका (प्रस्तुत कवितांश नेपाली साहित्यको पहिलो ब्यङ्ग्यकाव्य कोइली बाट लिइएको हो)

प्रतिक्रिया