प्रदेश भवन सङ्घीयताको उपहार–मुख्यमन्त्री राई

इनेप्लिज २०७७ चैत १७ गते २२:०१ मा प्रकाशित

विराटनगर,१७ चैत।नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवन आज यहाँ उद्घाटन भएको छ।

सो भवन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की,विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले संयुक्त्त रुपमा उद्घाटन गर्नुभयो।उहाँले प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गर्नुभएको थियो।

भवनको लागि विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित रु.एक करोड भन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको सो जग्गामा भवन बनाउनका लागि प्रदेश सरकारले रु.७६ लाख आर्थिक सहयोग गरेको छ।व्यापारिक उद्देश्य सहितको सो भवनमा बैठक कक्ष सहित दुई तले रहेको छ।

कार्यक्रममा प्रदेश नं १ का ३० वर्ष भन्दा बढी पत्रकारिता क्षेत्रमा अनवरत योगदान एवं क्रियाशील रहनु हुने पत्रकार लोकराज ढकाल,गोबिन्दचन्द्र क्षेत्री,कृष्ण अधिकारी,कौशल चेम्जोङ,शिव कार्की, यज्ञ शर्मा,कृष्ण हुमागाँई,लक्ष्मी लुइँटेल,राजबाबु शङ्कर लगायत ३० जना पत्रकारहरुलाई सम्मान पनि गरियो।

मुख्यमन्त्री राईले सङ्घीयताको उपहारको रुपमा रहेको यो भवनबाट सञ्चारकर्मीहरुलाई आफ्ना क्षेत्रमा योगदान दिन मद्दत पुग्ने बताउनुभयो।उहाँले संविधान र सङ्घीयताको कार्यान्वयनमा पत्रकारहरुको पनि भूमिका महत्वपूर्ण छ भन्दै समृद्धि र विकासको फराकिले यात्रालाई पूरा गर्न सञ्चारकर्मीहरुको अझ भूमिका आवश्यक छ भत्रुभयो।मुख्यमन्त्री राईले स्थायी शान्ति र सुशासनबिना समृद्धि र विकासको यात्रा पूरा गर्न कठीन हुने चर्चा गर्दै पत्रकार महासङ्घ राजनीतिक आस्थाको केन्द्र नभई व्यवसायिक तथा पेशागत हितको निम्ति उपयोग गर्न सुझाव दिनुभयो।प्रदेश सरकारले भ्याएसम्म आवश्यक पर्ने संरचनाहरु बनाउँदै लैजाने भन्दै मुख्यमन्त्री राईले सङ्घीयताको सुन्दर पक्ष यसको आफ्नै संरचनाहरु निर्माण हुनु पर्ने कुरामा जोड दिनुभयो।

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको पत्रकारिता सत्य र तथ्यको आधारमा चल्नु पर्ने धारणा राख्नुभयो।उहाँले समृद्धि र विकासको यात्रामा पत्रकारिता क्षेत्रलाई कम आङ्कलन गर्न नहुने भन्दै समाजका चुनौती र समस्यालाई चिरफार गर्न यो क्षेत्रले महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो।उहाँले पत्रकारिता पेशा राजनीतिक पार्टीको निर्देशन र आदेश अनुसार नभई मुलुकको वास्तविकताको आधारमा चल्नु पर्ने सुझाव दिँदै पत्रकारहरुले पेशागत एकतालाई व्यवस्थित गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यले सरकारलाई खबरदारी गर्ने र समाजमा चेतना फैलाउने पत्रकारिता पेशा इमान्दार हुनु पर्ने बताउनुभयो।उहाँले यो क्षेत्रलाई राजनीतिक दवाव भन्दा बाहिर राख्नु पर्ने सुझाव दिँदै नेतृत्वमा आउने पदाधिकारीहरुले नयाँ एवं रचनात्मक काम गर्नु पर्ने कुरामा जोड दिनुभयो।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले पत्रकारिता क्षेत्रको विकास र पेशागत हक हितका लागि नवनिर्मित भवन कोशे ढुङ्गा हुने भन्दै पत्रकारिताको खोज र अनुसन्धानका लागि यो भवनले धेरै बल प्रदान गर्ने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल र उपाध्यक्ष सोमनाथ सुसेलीले समिति बनेको तीन वर्षको अवधिमा धेरै कामहरु गरेको जानकारी दिँदै भवन बनाउनमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिनुभयो।

प्रतिक्रिया