“लेखककी छोरी” सँग केहीछिन

गोविन्द गिरी प्रेरणा २०७७ चैत १४ गते १७:५४ मा प्रकाशित

शुरुमै भनौं, लेखककी छोरी पुस्तक हो, कथा सङ्ग्रह र यसका सर्जक हुन् जे एन दाहाल । उनी जुलाई १, १९८९ मा भूटानको सर्वामा जन्मेका हुन् । त्यसपछि नेपालको भूटानी शरणार्थी शिविरमा हुर्के बढेका हुन् र हाल शरणार्थीलाई तेश्रो देशमा पुन:स्थापना कार्यक्रम मार्फत अमेरिका आई पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा वसोवास गर्छन् ।

नेपाली जाती र नेपाली भाषी भएकै कारण भूटानबाट विस्थापित हुनुपरेका अरु सवैजस्तै हुन् उनी र नेपाली भाषा र साहित्यलाई छातीमा राखेर अघि बढिरहेका छन्, हातेमालो गर्दै अघि बढेका छन् । यसको प्रमाण हो “लेखककी छोरी” कथा सङ्ग्रह । यो विसं २०७६ सालमा काठमाडौंबाट प्रकाशित भएको हो ।

यो उनको पहिलो कथा सङ्ग्रहमा १४ कथाहरु छन् । छोटा छोटा छन् । सवै कथाहरु सलल बगेका छन् । पठनीय छन् । यी तीनै गुणले यी कथाहरुलाई पाठकको मनमा स्पष्ट प्रभाव छाड्ने बनाएका छन् ।

यी कथाहरुले मान्छेको जीवनका सुखदु:ख, आरोह अवरोह, सफलता असफलता एवम् विसङ्गतिलाई उजागर गरेका छन् । नेपाली भाषी मान्छेका कथा हुन् यी । भुटानी नेपालीका कथा हुन् यी ।

नेपाली भाषी मान्छेका कथा हुन् यी । भुटानी नेपालीका कथा हुन् यी ।

समग्रमा मान्छेका कथाहरु हुन् । यी कथाहरुमध्ये अधिकाँश कथाको भूमि अमेरिकाका विभिन्न भूभाग रहेका छन् । त्यसैले यी कथाले ती स्थानमा रहेका पात्रहरुको मनोदशा प्रस्तुत गर्छन् ।

कथाकार जेएनको कथा प्रकाशनको यात्रा त्यति लामो छैन । हुन त उनले सन् २००६ देखि नै कथा लेखनको अभ्यास थालनी गरेका हुन् । तर सन् २०१८ को सेप्टेम्वरमा “आठ मार्च” कथा भूटनिज लिटरेचर डटकम मा प्रकाशित भएपछि उनको प्रकाशन यात्रा प्रारम्भ हुन्छ । अनि उनका अरु २ कथा पनि प्रकाशित हुन्छन् “कर्म दाई ” र “ईण्टरप्रेटर महेश” ।

उनका यी ३ पूर्व प्रकाशित कथा र अरु अप्रकाशित ११ कथाहरुको सग्लो रुप नै “लेखककी छोरी” हो । “मार्च आठ” कथामा दाम्पत्य जीवनको असफलता र महिला अधिकारका कुरालाई अघि सार्दै पारपाचुके भएका दम्पत्तीका सन्तानको मनोदशा केलाउने मेलो गरेका छन् ।

“ईण्टरप्रेटर महेश” कथामा साँस्कृतिक भिन्नताले असमञ्जसमा परेको ईण्टरप्रेटर महेशको मनोदशामार्फत यौटा स्थितिको चित्रण गर्न कथाकार सफल भएका छन् । “लेखककी छोरी” पुस्तकको शिर्षक वोकेको कथा हो जसमा लेखकले आफ्नो छोरीलाई पनि आफ्नै लेखनको बाटोमा डोर्याउँदै गरेको परिवेशलाई अघि सारेका छन् ।

“कर्मदाई” कथाले अमेरिकामा भूटानी शरणार्थी समुदायमा देखा परेको आत्महत्याको घटनालाई चित्रण गरेको छ । तर समाजमा सामाजिक सञ्जालको प्रयोगले मानिसहरु सम्वेदनहीन हुँदै गएको मानवियताको कटु यथार्थलाई पनि चोटिलो ढङ्गले प्रस्तुत गरेको छ।

“बोल्ड म्यान” कथाले पनि दाम्पत्य जीवन र प्रेमका विविध पक्षलाई समेटेको छ । अमेरिकामा पारिवारिक जीवन, सन्तान प्राप्तिमा स्त्री पुरुष वीचको मतभेद र आफ्नै किसिमको आनन्द र सुखका लागि चरी हिंड्ने प्रवृत्तीलाई केन्द्र विन्दुमा राखिएको छ ।

“बोल्ड म्यान” कथाले पनि दाम्पत्य जीवन र प्रेमका विविध पक्षलाई समेटेको छ ।

“परिचय” कथाले मानिसको पहिचान पिताबाट होईन माताबाट गर्न चाहने ईच्छाको प्रतिनिधित्व गर्दछ । त्यसको अन्तर्यमा आन्दोलनमा ज्यान गुमाउने विराङ्गना हेमकलाको वलिदान छ । भूटानमा भएको जातीय आन्दोलनमा महिलाले पनि काँधमा काँध मिलाएर वा एक्लै पनि वलिदान गरेको तथ्यलाई यस कथाले अभिरेखाङ्कन गरेको छ ।

“जीवनदान” कथाले अमेरिकामा विर्यदानको विषयलाई कथाको रुपमा प्रस्तुत गर्दै निसन्तानका लागि खुशी प्रदान गरेको चरम सन्तोषको अनुभूति गर्दछ पथाको पात्र अनिल !

“दृष्टिदोष ” कथामा यौटा दृष्टि विहीनले दृष्टि पाएपछि गुमाएको दृष्टि विहीन हुँदाको शक्ति सम्झेर आफूलाई अभागि ठान्दछ । “हण्टिङ: द सिक्रेट कोड” ले तन्नेरी पुस्ताको उदात्त प्रेमको गतिविधिलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । “भुटानको नेपाली” नेपाली भाषाप्रेमको विषयमा आधारित छ ।

“सपना सम्वाद” मा हृदयाघातबाट वितेका मामासँग सपनामा गरेको सम्वादलाई कथाको रुपमा प्रस्तुत गरिएको छ ।”शिक्षित” कथामा सुस्त मनिस्थिति भएको व्यक्तिलाई पात्र बनाइएको छ । यस कथामा सम्वेदनशील विषयलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

यस कथामा सम्वेदनशील विषयलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

“दिव्यानीलाई चिठी” कथाले सामाजिक मर्यादा र वदलिंदो उदात्त पहिरनले निम्त्याएको अप्रिय अवस्थालाई प्रस्तुत गरेको छ ।”एरिक, उ र ग्राहक” कथामा होटलमा काम गर्ने जेनिटरको माध्यमबाट अमेरिकामा काम गर्ने तौर तरिका र ग्राहकका स्वभावलाई चित्रण गरिएको छ ।

समग्रमा यी कथाहरुले अमेरिकाका भूटानी नेपालीको परिवेश, कामकाज, साँस्कृतिक भिन्नताले जन्माएको अप्ठ्यारो स्थिति, नयाँ मुलुकको संस्कारलाई अँगाल्दै आफू पनि परिवर्तन हुँदै गएको स्थिति, सामाजिक सञ्जालले समाजमा पुर्याएको सकारात्मक, नकारात्मक प्रभाव आदिलाई केलाएका छन् । कतिपय पात्रहरु लेखनसँग सम्बध्द देखिन्छन्, यसले कथाकारले लेखन र साहित्यमा समर्पित हुने मानसिकता तयार गरेको सङ्केत पाउन सकिन्छ ।

लेखन यस्तो उकालोको यात्रा हो जसको अन्तिम उँचाई भन्ने नै हुँदैन । निरन्तर उकालो लागिरहने ठाउँ सदा रहन्छ । जेएन अर्को कृतिमा अर्को उँचाइमा भेटिने अपेक्षा गरौं ।

२७ मार्च २०२१, फल्स चर्च, भर्जिनिया, अमेरिका

प्रतिक्रिया