ए झरना ननाच न त्यसरी …..!
ए गुराँस नहाँस न त्यसरी……!
ए बतास नउड न त्यसरी….!
मेरा निर्मला र भागिरथी फर्किएका छैनन्
तिनीहरूको आँशु थामिएको छैन
दानवको हतियार खोसिएको छैन
कोखीको घाउ अोभाएकै छैन
भैगो डाँफे नउड मेरो आकाशमा
मलाई मेरी भागिरथीको सितारे मजेत्रो याद आउँछ !
भैगो नलाेभ्याऊ चन्द्र सूर्य अङ्कित झन्डा
मलाई मेरी निर्मलाको निर्बस्त्र शरीर याद आउँछ!
बरु खाेजिदेऊ न खाोसाखोल्सी
ढुङ्गाको कापमुनि मेरी भागि सास फेर्दै छे कि !
पुगिदेऊ न झाडी भाडी
खोस्मेराको अोछ्यानमा मेरी निरु बास बस्दै छे कि !
नत्र नअाऊ यस पटक वसन्त वहार
मेरा साइँली र कान्छीले पनि सुरक्षा पाएका छैनन् ।
म बुढी ……
मोतिबिन्दुको तर बसेका आँखाले
डहर हेरेर कति बसूँ ……!
दम र टिबीले खोक्रो पारेकोछातीमा भक्कानो र
मुटुमा आलो घाउ बोकेर कसरी बाचूँ ……!
ए बुद्ध छोपिदेऊ न तिम्रो स्वच्छ आँचलले
मेरी निरुको नाङ्गो लाश !
ए जनक प्रकट गराइदेऊ न
मेरी भागीको अन्तिम सास !
ए शिव पठाइदेऊ न महाकाली र विरभद्र
र पारिदेऊ दानवको दानवशाला तहसनहस !
ए नवदुर्गा प्रकट होऊ न
यसपटक त गरिदेऊ न महिषासुरको बध !
र शक्ति देऊ न बहिनीहरूलाई…..
अब त गरिदेऊ दानवराज्यको विनाश !!!
मेरा बुढिएका नसामा रगत होइन वेदना बग्छ
र घोच्छ सियो बनी !
मेरा तर बसेका अाँखामा दृष्टि होइन निराशा छाउँछ
र डस्छ अन्धकार बनी !
मेरी भागिरथी नदी बनेर पवित्रता छर्छु भन्थी…..
रगत बनेर बगी पापीको पैतालामुनि !
मेरी निरु डाँफे बनेर सगरमाथाको प्रदक्षिणा गर्छु भन्थी
चित्कार बनेर पोखिई अपराधीको व्याभिचार मुनि !
ए सुनको कलमले चाँदीको अक्षर कोर्ने देवी
विहानै पशुपति नाथको शंखध्वनिमा
सुनिनौ मेरी निरूको छाती चिर्ने क्रन्दन !
ए दन्त्य कथामा देशको भविष्य खोज्ने कोलम्बस
देखेनौ मच्छिन्द्रनाथको जात्रामा मेरी भागिरथीलाई
गुन्यु चोलीसँगै जलाइएको दर्दनाक दृश्य !
ए तिम्रो सन्तान लाई स्वर्ग बनाउन
मेरो दैलोमा हात फैलाएर झुटो कसम खाने ढोंगी नारद
सुनाएनौ तिम्र साम्राज्यका बादशाहलाई
निरू र भागिरथीको छाला बेची बेची
सुनको लङ्का बनाउनेहरुको पुरुषार्थ !
भैगो नदेख….!
नसुन …..!
नभन…..!
तर बाटो छोडिदेऊ
एक हुल चमेली र बेली अाउँदैछन्
कालीको भंगालो तरेर …..
एक जत्था जाई र जुही अाउँदैछन्
सेतीकाे गहिराइबाट उछिट्टिएर ……
कलिलैमा तिखारिएला काँडा भाँच्न !
सतर्क !
गाईका खुरले पनि
तिम्रो पापको घडा फुटाउन सक्छ !
गुराँसको धारले पनि
तिम्रो अत्याचारको मुकुन्डोमा कालो पोत्न सक्छ !
पर्ख ……
म बोलाउँछु इतिहासका चित्रगुप्त
र लेखाउँछु मेरा चेलीहरूको सुरक्षित भाग्य रेखा !
म बोलाउँछु मन्दिरमा मुर्ति बनेर सजिएकि देवी
र गराउँनेछु पापी महिषासुरको बध !!
म बोलाउँछु एकादेशका राजकुमार दिक्पाल
र भित्र्याउँछु सुरक्षित मेरा निरू र भागिरथीलाई
मेरो सुनो र रित्तो मभेरीमा ……….!!!
-विजु पछाई
बुटवल,रुपन्देही
प्रतिक्रिया