अँध्यारो हाँसिरहेछ

गोविन्द गिरी प्रेरणा २०७७ चैत ८ गते १६:२५ मा प्रकाशित

सूनसान आकाशको चकमन्न निरवता
एकाएक भत्किरहेछन्
उज्याला पुञ्जहरू
धमाधम निभिरहेछन्
अँध्यारो अट्टहास गरिरहेछ
शान्ति मिसनमा भुईंचालो ल्याइरहेछ !
अँध्यारो हाँसिरहेछ !

अँध्यारोका पृष्ठपोषकहरू बढिरहेछन्
निस्किरहेछ दिनदिनै जुलूस
अँध्यारोको पक्षमा !
कोणसभा, आमसभा चलिरहेछ निरन्तर
अँध्यारोको पक्षमा !

प्राथमिक विद्यालयदेखि महाविद्यालयसम्म
अँध्याराका पक्षधरहरू
पकड जमाउँदैछन्
महिला पुरूष आवाल वृध्द वनिता
सबैसबै अँध्यारो मन पराउन थालेका छन्
रेडियो टिभी र सामाजिक सँजाल
अँध्यारोले कब्जा जमाईरहेछ !

कालो पोतेर सर्वत्र
बन्द कोठाभित्रको एकान्तमा
दिउँसो मण्डलमै रात्री सुखभोग गरिरहेछ
अँध्यारो निरन्तर हाँसिरहेछ
निरन्तर अट्टहास गरिरहेछ !

म सालिग्राम हुँ
सालिग्राम कालो हुन्छ
संसारले मलाई पुज्नुपर्छ
अँध्यारो आदेशको अध्यादेश जारि गरिरहेछ
हुकुम फर्माईरहेछ !

सुदूर टाढा कतै अनकण्टारमा
अँध्यारोकै साम्राज्यमा
यौटा वालक
हातमा टुकी लिएर
उज्यालो विहान कुरिरहेछ !

२१ मार्च २०२१, विश्व कविता दिवस !
फल्स चर्च, भर्जिनिया, अमेरिका !

प्रतिक्रिया