उज्यालो

शशी खड्का काठमाडौं २०७७ चैत ७ गते १५:१३ मा प्रकाशित

गणतन्त्रको लागि शहीद भएको भाइले भन्ने गर्थ्यो

दाजु अब व्यवस्था फेरिएर मुलुक समृद्ध बन्छ

युवाले रोजगारका लागि मातृभूमि छोड्नु पर्दैन

म मरेर के भयो अब परिवारले आँसु बगाउन पर्दैन

माथिल्‍लो जात सँग विहे गरेकी बहिनीलाई अछुत भनिँदैन

असमानता खाडलहरू पुरिँदै घाउमा खाटो लाग्नेछ

अब गरिबका आँखामा आँसु होइन मुस्कान छाउनेछ

तर खै गणतन्त्र कहाँ छ उसलाई थाहा छैन

श्री पाच हटाएर श्री छ भए देशमा केही परिवर्तन भएन

हिजोकै गरिबी,अन्याय,अत्याचारको जरो काटिएको छैन

यी कुराले उसको मनको कन्दरामा छट्पटी हुन्छ

बाबुको चिरिएको कुर्कुचा चिराफारा भएको इस्टकोट हेरेर टोलाउँछ

आमाको फरिया,चोलोले लाज नछोप्ने अवस्था देख्छ

चार वर्से बहिनी देउकी राख्न बेचेको सम्झिन्छ
अभावले माहिली बहिनी झुमा बनेकी सम्झन्छ
सिटामोल नपाइ भाइले प्राण त्यागेको सम्झन्छ
तल्लो जातकी भनी बहिनी घरबार विहीन भएको सम्झन्छ
दाइजोको निहुँमा जलेकी बहिनीको चीत्कार कानमा गुञ्जन्छ

ऊ अँध्यारोमा बसी छाती पिटेर शहीद भाइलाई सम्झिँदै रून्छ
व्याजको स्याज,स्याजको प्याज जोडेर गैरीखेत साहुले खाएको सम्झन्छ
अनि
ऊ सपनाबाट ब्यूँझिएझैँ झस्याङ्ग भएर उठ्दै
तल्लोबारी साहुको नाममा नामसारी गरिदिन्छ
बाले थोता गिजा देखाएर पेटभरि हासेको
आमालाई नयाँ फरिया फेरिदिई
अनुहारमा मुस्कान देख्‍न चाहन्छ

तमसुक गरी लिएको पैसाले पासपोर्ट बनाइ
मातृभूमिलाई ढोग्दै आँसु खसाली चराझैँ उडेर जान्छ
तरतरी पसिना बालुवामा चुहाउँदै ऊ खुसी हुन्छ
अब बाले गरिब भनेर गरिएको अपमान सहन पर्दैन
आमाले बोक्सीको आरोपमा पन्युँको डाम,मानव मलमुत्र खान पर्दैन
बहिनीले मन्दिरमा बलात्कृत हुन पर्दैन
भाइले सिटामल नपाएर मृत्युवरण गर्न पर्दैन
परिवारको हाँसो कल्पना गर्दै ऊ फुरङ्ग भइ काम गर्छ

बालुवाको भतभतीलाई शीतल सम्झी काम गर्छ
दुईदिनको भोको पेटमा काम गर्दा पनि खुसी हुन्छ
चौबीसै घण्टा काम गर्न पाए हुन्थ्यो भनी काम खोज्छ
आफू फर्कँदा बाआमा,बहिनी,भाइको उज्यालो अनुहार सम्झन्छ
आफूलाई भित्र भित्रै भोक,रोगले खोक्रो बनाएर
रित्याएर अनि सकेर भए पनि
परिवारमा अखण्ड ज्योति छर्ने सपना देख्छ

ऊ अन्जान ठाउँको बालुवामा घर बनाउँदै
समुद्रमा सूर्यको किरण झलमलाएको सौन्दर्य हेर्दै
त्यस्तै उज्यालोको दीप परिवारमा बाल्न चाहन्छ
तर
अपसोच्
उसको दीपले उज्यालो नछर्दै झ्याप्प निभिदिन्छ
जब ऊ मात्र चार हातको बाकसमा बन्द भइ मातृभूमि उत्रिन्छ
उज्यालोको आशमा परदेसिएको यात्री आफैँ अँध्यारो बाकसमा फर्कन्छ
उज्यालो छर्ने सपनाअँध्यारो बाकसमा बन्द हुन्छ
अँध्यारो बाकमा सदाका लागि बन्द हुन्छ।।

शशी खड्का
काठमाडौं

प्रतिक्रिया