वर्ग समिकरण बनाऔ

कोमल अधिकारी,टिकापुर,कैलाली। २०७७ फागुन २६ गते ११:४९ मा प्रकाशित

फेरि समिकरणको कुरा
गाईँगुइँ शुरू भएको छ।
एक्समा वाई जोड्दा
वाईमा जेड जोड्दा
कति कति हुन्छ भनेर..
केमा के जोड्दा के हुन्छ भनेर
आजकाल घर-घरमा
बीजगणितको कृयाकलाप भएको देखिन्छ
र,हिसाब गर्दा-गर्दा थाकिइएको देखिन्छ।

तर,
के मा के जोड्दा अपराधीकरण हट्छ
के मा के जोड्दा विदेश जानु पर्दैन
के मा के जोड्दा सन्ततिले शिक्षा पाउँछन्
र,मेरा बुढी आमाले उपचार पाउँछिन्?
कामै नगरी ताशको लुगा किन्ने समाजमा
दिनभर काम गरेर आङ छोप्ने कपडा किन्न
कुन समिकरण चाहिन्छ?
हामीलाई कुनै मतलबै छैन ।

तर पनि, हामी त्यही एक्समा वाई जोड्ने
ताशका वस्त्रधारीहरू सँग क्यालकुलेटर
लिएर हाजिर छौँ र औला खिइँने गरी
ट्याक ट्याक.. हानीरहेका छौँ रमाई रमाई!!

यो भन्दा अघि पनि समिकरण नदेखिएको हैन,
डुङ्गामा प्वाल पर्दा मुसा भागेका नदेखेको हैन,
ताशवालाले थप ताशहरू अर्को जुनीलाई
साँचेको नदेखेको हैन।

तर, हाम्रो स्मरण शक्ति कमजोर भएर हो कि,
अर्कालाई नाइँ भन्न नसक्ने कोमल भाव भएर हो,
हामी फेरि क्यालकुलेटर लिएर बसी हाल्छौँ।
मानौँ,त्यहि हिसाब मिलाएर फेरि आनन्द मिल्छ।

अब त मनलाई फराकिलो पारौँ,
स-साना द्वन्द्वलाई निरूपण/ब्यवस्थापन गरी,
अज्ञानता, गरिबी, प्रभेदलाई निमिट्यान्न गरी
देश नै आत्मनिर्भर हुने नयाँ समिकरण बनाऔ!
पहिलेका भन्दा भिन्न,
गरीबका छोरा-छोरी पनि योग्य हुन सक्ने र पाउने,
बरू गरीब र धनी दुवैको पावर भएको,
रेखीयको सट्टा पावर दुई भएको,
पुरातन लयको हैन,६२/६३ को लयको।
सम्पूर्ण देशले चाहेको,
धेरै समस्यालाई हल गर्ने,
गुणात्मक रूपले बेग्लै वर्ग समिकरण बनाऔ!!

– कोमल अधिकारी,टिकापुर,कैलाली।

प्रतिक्रिया