बिहान सखारै
भालेको डाको सँगै
उठेर बुढी आमै
घर धन्दामा जोतिइरहन्छिन्
बिहानी घर धन्दा
मैजारो मार्दा समेत
लाठे छोरो
पटक्कै उठ्दैन।
छक्काल भयो
झलमल्ल घाम लागिसक्यो
अब त उठ्
कलेज जान ढिला भै सक्यो
भन्दै फतफताउँछिन आमै
खुइय्य सास तानेर।
विस्तारै आङ् तान्दै
अल्छे पारामा उठेर
बिरालोले जस्तै
मुख धोएर
थोरै चारो टिपी
कलेज लाग्छ छोरो ।
फर्केर कलेज बाट
साँझ अवेर
जब आउँछ ऊ
कानमा ठेंटि ठोसेर
फेसबुक,यूट्युव
के जाति हो भन्छ
र हरदम मोबाइल मै झुण्डिन्छ
खानै छोडेर
ल्यापटपे घोप्टे ड्यूटिमा
व्यस्त रहन्छ ।
न आउने पाहुनाको मतलब छ
न छिमेकी सँग भलाकुसारी छ
न बिहान साँझ ईश्वर सम्झन्छ
न पूजापाठमा ध्यान छ
न समयमा सुत्छ
न सबेरै उठ्छ
मध्यरात सम्म बसेर
के गर्छ, गर्छ ?
बल्ल पो भान्सा चहार्छ।
दाल भातले के पेट भरिन्थ्यो ?
घरि चाउचाउ चटपटे भन्छ
घरि खट्टो पिरोले
जिब्रो पड्काउँछ
हैन आजकल
समयले के सिकाउँछ ?
आफ्नो संस्कार
रुढिवादी भन्छ
आफूलाई बडो
आधुनिक ठान्छ ।
को सँग गरुन्
गुनासो आमै ?
आफै सँग विलौना गर्छिन्
भित्रभित्रै भुतभुताउँछिन्
बिहान भरि सुत्ने
रातिमा जाग्ने
निशाचर आफ्नै सन्तान
लाटोकोशेरो झैं पो लाग्ने ।
चमेरो जस्तै लाग्ने ।।
—अस्तु—
-मित्र ‘उराठी’ गौतम
[email protected]
अमरपुर, गुल्मी
प्रतिक्रिया