नारी दिवस मनाऊँ म कसरी?

शशी खड्का काठमाडौं २०७७ फागुन २३ गते १७:२७ मा प्रकाशित

हृदयबाट सहस्र मूल फुटाइ तिनको पेट भरेँ मैले
उज्‍ज्वल भविष्यका लागि चन्‍द्रसूर्य सँग ज्योति मागिरहेँ
प्रसव बेदनाले छट्पटाउँदा हाँसी तिनको आगमन चाहेँ
सन्तानका लागि आफ्नो खुसी तिलाञ्‍जली दिई हुर्काएँ ॥१॥

सकारी जागिर खान्छु भनी पढ्न कलेज गएकी छोरी
यमराज बन्यो आफ्नै भाइ मारिदियो बलत्कार गरी
भक्‍कानिन्छ मन,नि: शब्द ओठ आँसु बहन्‍छ गङ्‍गासरी
जिउँदो लाश भएकी आमा नारी दिवस मनाऊँ म कसरी? ।।२।।

घरमै थिए श्रीमान दुईचार जना आई कुरा गर्नुछ भनी लगे
दिन्छु म खसी नलैजाऊ मेरो प्राण भनी हात जोडी बिन्ती गरेँ
शिक्षक थिए ज्ञान बाँडी हिँड्थे मारिदिएछन् घाँटी रेटी रेटी
निसर्त छुट्‍यो अपराधी म विधवा हाँसी नारी दिवस मनाऊँ कसरी?।। ३।।

छोरी बिहेदान गरी पुण्य कमाउन भनी डोलीमा चढाइ पठाएँ
अर्कीलाई लिई मनोरञ्‍जन गर्दै छोरी मारी अन्तै लगी जलाए
अब पुग्यो भनी सजायँ घटाइ बडा इज्जत अपराधी रिया गरी
न्याय नपाइ थलिएको मनले नारी दिवस मनाऊँ म कसरी? ।।४।।
तेजाव आक्रमणमा परी छटपटिँदै जलेको शरीर लिई
उपचार गर्न खर्च जुटाउन भएको खोरियो बारी बेची
दाइजो नल्याएकी भनी परिवारले घर भित्रै मारेर जलाई
सन्तान वियोगी म आमा नारी दिवस मनाऊँ कसरी? ।।५।।

काम गरी पाल्छु म तिमीलाई भनी छोरा इट्टाभट्टा गए
त्यही भित्र राखेर आगो लगाईदिए जिउँदै खरानी भए
सुनेको छु अब त्यो अपराधी निर्दोष सावित हुँदै छ रे
छुटे पछि कस कसलाई जलाऊँ भनी तानाबाना बुन्दै छ रे॥छ॥

पढ्न जान्छु है आमा भनी साथी घरमा गएकी मेरी छोरी
बलत्कार पछि हत्या भएको धानबारीमा लाश भेटियो
दिएनन् न्याय ती छोरीलाई हत्यारा अपराधी लुकाई
त्यही मुनाकी जननी हाँसेर नारी दिवस मनाऊ म कसरी? ।।७।।

दिन दिनै बाबु,मामा,दाजु,छरछिमेकी सँग बच्नु पर्ने डराउँदै
गएको छ नारी लक्ष्मी, सरस्वती हुन भन्‍ने मान्यता हराउँदै
नारी भई जन्मिएकोमा जीवन भर आफूलाई बारम्बार धिक्‍कारी
अस्तित्व जोगाउन गाह्वो छ मलाई नारी दिवस मनाऊँ म कसरी? ।।८।।

-शशी खड्का काठमाडौं 

 

 

 

 

प्रतिक्रिया