प्रदेश गौरवको योजना चालु आर्थिक वर्षमा आधा सम्पन्न हुने

इनेप्लिज २०७७ फागुन २३ गते १२:२२ मा प्रकाशित

विराटनगर,२३ फागुन।प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मोरङको पुष्पलाल चोक घिनाघाट देखि विराट चोकसम्मको २२ किमी बाटोको १० किमी बाटो आउने असारसम्ममा सम्पन्न हुने भौतिक पूर्वाधार कार्यालय विराटनगरले जनाएको छ।

पुष्पलाल चोक देखिको यो बाटो पूर्वपश्चिम महेन्द्रराजमार्गको विराट चोकसँग जोडिने यो बाटो मोरङका लागि मात्र नभएर अन्य जिल्लाको लागि सर्वाधिक चर्चामा रहेको बाटो हो।

मोरङको विराटचोक देखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका स्थित शिलान्यास गर्नु भएको थियो।

प्रदेश सरकारको गौरवको आयोजना रुपमा रहेको सो सडक रु एक अर्व ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलार्य तीन प्याकेजमा विभाजित गरेको छ।

पहिलो र दोस्रो गरी २० किमी बाटो श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिइ काम शुरु गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी बाटो र घिनाघाटको पुल रु.छ करोडको लागतमा निर्माण गर्न लामा बानिया कम्पनीले ठेक्का लिई काम शुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिनुभयो। उहाँले ठेक्कामा लागेका बाटोको १० किमी चालु आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीहरुले तीव्र गतिमा काम गरिरहेको जानकारी दिनुभयो।

सडक निर्माणबाट मोरङ,झापा,ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुबिधा पुग्ने बताइएको छ भने सडकको गुणस्तरमा कुनै कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको प्रमुख रेड्डीले बताउनुभयो।

मोरङको विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट,ग्रामथान गाउँपालिको नेताचोक,हरैचा हँुदै पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने यो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन्।

यसैगरी,बहुवर्षिय योजना अन्तर्गत सुनसरी र मोरङमा कुल रु. नौ अर्वको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।कार्यालयबाट प्राप्त जानकारी अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्कीपुल निर्माण गर्न रु.२२ करोडको योजना सञ्चालनमा रहनुका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न रु.छ करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिनुभयो।

मुलुकमा सङ्घीयता आइसकेपछि प्रदेश सरकारले जनताको सुख र सुबिधाका लागि सडक बाटो,पुलपुलेसा जस्ता आधारभूत आवश्यकतामा विशेष जोड दिएको पाइएको छ।

प्रतिक्रिया