कुहिएका अण्डा !

रामप्रसाद खनाल २०७७ फागुन २२ गते २३:२९ मा प्रकाशित

हामीले पालेका

पोथी कुखुरीहरू
कोर्कोर्याउन्छन
कुना खोज्छन्
अण्डा पार्छन्
ओथारो बस्छन्
कोरल्छन् !
डुङ् डुङी र ह्वास्स गन्हाउँछ
के हुन्थे र चल्ला
सडेका अण्डाहरूमा
हात लाग्छ कुहिएका अण्डाको
ह्वास्स गन्हाउने गन्ध !
एक पटक होइन
पटक पटक
यस्तै यस्तै देखेर होला
सडेका कुहिएका अण्डाहरू
भोगेर होला
रहर र उत्साह मरिसकेको छ
कुखुरा पालन गर्न
सडेका अण्डाहरू तह लगाउन
के नै अर्थ भयो र यी सडेका अण्डाहरुको
एक्कासि,
सपनीमा आज राती
आफै कुहिएर ह्वास्सै गन्हाएको
मल खादमा मिल्काउन तयार
एउटा अण्डा बोल्यो
उसले चिच्याउँदै खपटो खोल्यो र भन्यो
म कुहिएको छैन
सग्लो मै मात्रै छु
कुहिएको त अर्को अण्डा हो
गन्हाएको त अर्को अण्डा हो
उसको चिच्याहटले मेरो निन्द्रा खुल्यो
निन्द्रा खुलेपछि फेरी हेरेँ
ओहो त्यो अण्डा त्यही अण्डा थियो
जो एउटै गुँडमा जोल्टिएर बसेको थियो
देख्दा उस्तै
छुँदा उस्तै
देखिन्थे दुरुस्तै !
कुहिन पनि के साह्रै कुहिएको
गन्हाउन पनि के साह्रो गन्हाएको
श्वास प्रश्वास नै रोकिएला जस्तो !
हत्त न पत्त,
नाक मुख थुन्दै बाहिर निस्किएँ
आन्द्रा भुँडी बटारिएर आए
पुर्लुक्क मुखबाट निस्कियो बान्ता
बान्ता गरेपछि भयो अलि हलुङ्गो
छ्या कस्तो नराम्रो हस्को
यी कुहिएका अन्डाहरूको
कति विधि गन्हाएको
प्रकृतिले पनि कस्ता बनाएको ??

– रामप्रसाद खनाल, मार्च ६, २०२१

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया