मधानी महोत्सवले सांस्कृतिक पहिचान बढाउने:मेयर साह

इनेप्लिज २०७७ फागुन २२ गते १५:११ मा प्रकाशित

रौतहट,

रौतहटको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिरमा फागुन २६ देखि चैत ३ सम्म दोस्रो मधानी महायज्ञ महोत्सव हुने भएको छ।नगरपालिकाको आयोजनामा गत वर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको महोत्सव यस वर्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुन लागेको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले जानकारी गराएकी छन् ।

गत वर्ष करिब पाँच लाख नेपाली तथा भारतीय दर्शकले मधानी महोत्सवमा सहभागिता जनाएको उल्लेख गर्दै मेयर साहले महोत्सले गर्दा करिब एक हजार दुई सय वर्ष पुरानो महादेव मन्दिरको प्रचार प्रसार भएको जसले गर्दा सांस्कृतिक पहिचान बढाउन सहयोग भएको बताएकी छन्।यस वर्षको मधानी महोत्सवले पनि यस क्षेत्रको सांस्कृतिक पहिचान बढाउन सहयोग गर्ने नगर प्रमुख साहको भनाइ छ।

मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्रांगणमा शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मेयर साहले यस वर्ष पनि नेपाली तथा भारतीय चलचित्रका विभिन्न कलाकारहरुको सहभागिता रहने तथा नेपाली र भारतीय चर्चित कुस्तीवाजको भव्य दंगल हुने कार्यक्रम रहेको बताएकी छन् । भारतको वृन्दावनका कलाकारहरूद्वारा शिवलीला तथा मथुराका कलाकारद्वारा रासलीला गराइने कार्यक्रम समेत रहेको नगरपालिकाले जनाएको छ।

मधानी महायज्ञ बोलबम कामरनाथुद्वारा गराइने शिवको विशेष लोकमहायज्ञ हो। यो महायज्ञ बज्जिकाभाषी क्षेत्रमा मात्र प्रचलनमा रहेको छ।मधानी महायज्ञ महोत्सवले यस क्षेत्रको संस्कृतिप्रति चासो बढेको नगरपालिकाको भनाइ छ। कार्यक्रममा प्रदेश साँसद कुन्दन कुशवाहाका साथै मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर साह,निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलगायत विभिन्न वडाध्यक्ष तथा कर्मचारीको सहभागिता रहेको थियो।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले पुरातात्विक महादेवस्थल वरिपरि विभिन्न संरचनाहरु निर्माणको क्रममा रहेको र केही जग्गा नै किनिएको तथा केही अन्य भौतिक निर्माणको काम निकट भविष्यमा ठेक्का प्रक्रियाद्वारा गराइने तयारी भइरहेको जानकारी गराएका छन्।

प्रतिक्रिया