लघुकथा सम्बन्धी विशेष अन्तरक्रिया सम्पन्न

इनेप्लिज २०७७ फागुन १९ गते २३:२० मा प्रकाशित

रौतहट,

नेपाली र भारतीय भूमिमा लघुकथा सशक्त रुपमा स्थापित भइसकेको आख्यान साहित्यको उपविधा भएको प्रा.डा.कपिल लामिछानेले बताएका छन्।रौतहटको गरुडामा साहित्यकार सितको भेटघाटमा प्रा.डा.लामिछानेले लघुकथालाई बादल लागेको आकाशमा गड्याङगुडुङ गर्ने वेलाको बिजुलीको झिल्कासित तुलना गरेका छन्।

विराटनगरमा आयोजित लघुकथा सम्बन्धी दुई दिने कार्यक्रममा सहभागी भएर भैरहवातिर फर्कने क्रममा प्रा.डा.लामिछानेले रौतहटका मुस्लिम समुदायमा प्रचलित संस्कार गीतको अध्ययन सम्बन्धी कामको शिलशिलामा गरुडा आएका थिए।सोही क्रममा प्रा.डा.लामिछानेलाई मध्य रौतहटका लेखक तथा साहित्यकारहरुले स्वागत सम्मान गर्दै लघुकथाको विषयमा विशेष जानकारी प्राप्त गरेका छन्।

चार दर्जन भन्दा बढी मौलिक र करिब डेढ दर्जन सम्पादित कृति प्रकाशन भइसकेका प्रा.डा.लामिछाने मोसफलमा रहेर साहित्य साधना गर्दै देशमा विशिष्ट पहिचान बनाउने निकै कम साहित्यसर्जकमा गनिन्छन्।

गरुडाका सञ्जय साह मित्रको संयोजनमा बज्जिका साहित्य संगम रौतहटको आयोजनामा गरुडा स्थित माध्यमिक विद्यालयमा भएको साहित्यिक भेटघाट तथा अन्तरक्रियामा संगमका अध्यक्ष किशुन दयाल श्रीकृष्ण,पूर्वअध्यक्ष श्याम सहनी चन्द्रांशु,उपाध्यक्ष रेणु गुप्ता,सहसचिव केदार राय यादव,सल्लाहकार राम अधार पासवान,विश्वनाथ सञ्जेल,जिसि हरि,संगीताकुमारी सहनी,शेख चाँद अलि,कुमार चन्दन,सुरजनारायण झाले लघुकथा, कविता तथा गीत र मुक्तक वाचन गरेका थिए।कार्यक्रमको अध्यक्षता संगमका अध्यक्ष श्रीकृष्णले गरेका थिए।

नेपाली र बज्जिका भाषामा वाचन गरिएका रचनाहरु सुनेपछि प्रा.डा. लामिछानेले बहुभाषिक देश नेपालको धेरै भाषामा लघुकथाको विस्तार भएको र बज्जिकामा पनि लघुकथाहरु लेखिन सुखद पक्ष भएको बताएका छन्।

जिल्लामा यस किसिमको लघुकथा सम्बन्धी अन्तरक्रिया सम्भवतः पहिलोपटक भएको हो।

प्रतिक्रिया