नेपाली काङ्ग्रेस टुटे फुटेका होइन सिङ्गो पार्टीसँग भिड्न तयार छ

मोहम्मद सदरुल २०७७ फागुन १९ गते २३:०६ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,१९ फागुन(रासस):प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसदलाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाउनुभएको छ।

फागनु २० गते भनिएको प्रदेश सभाको बैठक विशेष कारणले चैत २ गते बस्ने प्रदेश सभा सचिवालयले आज जारी गरेको सूचना प्रति आज पत्रकारहरु सँगको भेटघाटमा आक्रोश व्यक्त्त गर्दै उहाँले कार्यपालिका,न्यायापालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएको काराण सरकारको विरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेश सभाको हिउँदे तथा सातौँ अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गर्नुभयो।

उहाँले सरकारले या त राजीनामा दिनु पर्यो,या त संसदमा अविश्वासको प्रस्तावलाई सामना गर्नु पर्यो,यी विकल्पमा छलेर भाग्नु भनेको व्यवस्था प्रति जनताको वितृष्णा बढ्ने चर्चा गर्नुभयो।प्रमुख सचेतक कार्कीले १२ दिनसम्म संसद बैठक स्थगन हुनु लज्जास्पद हो भन्दै प्रदेश सभाको बैठक छल्नु सरकारको लचारीपन हो भन्नुभयो।

सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि सरकारले दैनिक रुपमा गर्ने कामहरुले गर्दा भ्रष्टाचार मौलाउने जनताले प्रश्न गर्न थालेको भन्दै प्रमुख सचेतक कार्कीले नेपाली काङ्ग्रेस टुटेफुटेका पार्टीसँग होइन सिङ्गो पार्टीसँग लड्न तयार रहेको दृढता व्यक्त गर्नुभयो।

उहाँले अङ्क पुगेमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता पनि परिवर्तन हुन सक्ने भएकोले यसमा कसैले पनि अन्यथा लिन नहुने तर्क गर्नुभयो।

प्रतिक्रिया