लक्ष्य भन्दा झण्डै रु.४४ करोड बढी राजस्व सङ्कलन

मोहम्मद सदरुल, २०७७ फागुन १९ गते २२:५६ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,१९ फागुन(रासस):अन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल रु.एक अर्व ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले रु.एक अर्व २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा ३६ दशमलव २८ प्रतिशत अर्थात रु.४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो।

कार्यालयबाट प्राप्त जानकारी अनुसार सङ्कलित राजस्वमा आयकर रु.४२ करोड १५ लाख लक्ष्यमा रु.४९ करोड,मूल्यअभिवृद्धिकर रु.३३ करोड १८ लाख लक्ष्यमा रु ४९ करोड १७ लाख र अन्तःशुल्क रु.३९ करोड लक्ष्यमा रु.६२ करोड सङ्कलन भएको प्रमुख बरालले बताउनुभयो।

आउने असारसम्ममा कुल रु.दुई अर्व २८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा अहिले सात महिनाकै अवधिमा ठूलो उपलब्धि हासिल भइसकेकोले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न अहिले तथ्याङ्क नियाल्दा कुनै समस्या नरहने प्रमुख बरालको दावी छ।कुल तीन हजार ५०० सेवाग्राही भ्याटमा दर्ता भएको र पान लिनेको सङ्ख्या पनि उल्लेखनीय छ जानकारी दिँदै प्रमुख बरालले आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा पनि गएको पुसबाट सञ्चालनमा आएकाले सेवाग्राहीहरुलाई कर तिर्न एवं दाखिला गर्न समस्या नहुने कुरामा जोड दिनुभयो।

आन्तरिक राजस्व कार्यालयको कोशी अञ्चलको धनकुटा,तेह्रथुम,भोजपुर र संखुवासभामा पनि सेवा कार्यालय भएकाले पहाडी एवं दूर्गम क्षेत्रमा सेवाग्राहीलाई सेवा लिन कुनै समस्या नभएको बताइएको छ।

आन्तरिक राजस्व कार्यालय धरानले अब उप्रान्त धरान उपहानगरपालिका र बराह क्षेत्र गाउँपालिकाको वडा नं १ देखि ७ सम्मका सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्ने भएको छ।

 

प्रतिक्रिया