आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२५
वासिङटन डिसी 12:40

एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित

इनेप्लिज २०७७ फागुन १९ गते ११:३८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको सूर्योदय राज्यको रुपमा परिचित फ्लोरिडाको मध्य क्षेत्रमा अवस्थित पर्यटकिय एवं ब्यवशायिक महानगरी ओर्ल्याण्डो र यस वरपरको शहरहरुमा बसोवासी नेपाली समुदायको स्थानिय नेपाली संस्था NCCO – नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डो फ्लोरिडाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको समाचार छ। केन्द्रको आठौं साधारण सभाको समुदघाटन शत्र गत शनिबार अपरान्ह जूम प्लेटफार्मको माध्यम सम्पन्न भएको छ।

केन्द्रका अध्यक्ष निजानन्द मल्लको सभापतित्वमा जूम प्लेटफार्ममा भएको उदघाटन समारोहको उदघोषण महासचिव कालु भट्टराईले गर्नुभएको थियो। संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यहरुबाट अतिथिको रुपमा जोडिनु भएका बिशिष्ट सामाजिक ब्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको उक्त अवसरमा एन.आर.एन. अमेरिका राष्ट्रिय परिषदका अध्यक्ष सुनिल साहले प्रमूख अतिथिको आसनबाट प्रवासी नेपालीहरु संसारको जुनसुकै भुभागमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा हमेशा लागि रहन्छन्। एन.सी.सि.ओ.ले पर्यटकिय क्षेत्र ओर्ल्याण्डोमा नेपाली सामुदायिक केन्द्रको स्थापना गरेर यस्का माध्यम स्थानिय समुदायमा नेपाल र नेपालीको संस्कृति पहिचानमा खेलेको भूमिका प्रति हर्ष ब्यक्त गर्नुभयो। साथै नेपालीहरु बिच एकता कायम गर्दै आफ्नो सामुदायिक बिकाशमा एन.आर.एन. र एन.सी.सि.ओ. जस्तो संस्थाहरु स्थापना भएका हुन र यस्तो अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभयो। त्यस्तै गरि बिशेष अतिथि उत्तर अमेरिकाको जेठो नेपाली संस्था ए.एन.ए. का अध्यक्ष बिजय राज भट्टराईले केन्द्रको निर्माणमा आफूले हरसंभव सहयोग गर्ने बताउनु भयो। त्यस्तै गरि नाशाका अध्यक्ष बिनय अर्याल, नॅाफका अध्यक्ष अनिला न्यौपाने, अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष दिप कार्की, एन.ओ.ए. फ्लोरिडाका अध्यक्ष डा. राजेन्द्र शाक्य, ए.एन.ए. का महासचिव डा. चुडामणी खनाल लगायतले कार्यक्रम एवं केन्द्रको उत्तरोत्तर प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो।

केन्द्रका उपाध्यक्ष गीता न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा ओर्ल्याण्डो नेपाली भाषा पाठशालाको गतिबिधि बारे समेत सभामा जानकारी गरॅाउनु भएको थियो। ओर्ल्याण्डो महिला समूह ( आरती राई, बिमला भट्टराई, शारदा मल्ल र बिनिता लकान्द्री ) बाट स्वागत गान प्रस्तुत भएको थियो भने केन्द्रका अध्यक्ष, सी.आर.सी.सि. का संयोजक एवं बोर्ड डाईरेक्टर बिकाश देवकोटा, महासचिव कालु भट्टराई, कोषाध्यक्ष दिनेश महर्जन लगायतले संस्थाको सम्वन्धित बिभिन्न समितिहरुको तर्फबाट बिविध पक्षहरु समावेश आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो। उदघाटन शत्रको क्रममा आमन्त्रित बिभिन्न अतिथिहरुबाट मन्तव्य दिने क्रमको बिच-बिचमा ओर्ल्याण्डो नेपाली भाषा पाठशालाका नानीहरु ( धनिशा थापा, कृषा ढकाल, दिया महर्जन, बीर्जला लकान्द्री, संगित प्रळिक्षक देव राईको बॅासुरी धुन ) लगायत बाल कलाकारहरुको रेकर्डेड प्रतिभाको भिडियो प्रदर्शन समेत गरिएको थियो, जस्ले गर्दा कार्यक्रमलाई सॅास्कृतिक एवं सॅागितिक माहौल सृजित भएको थियो।

उक्त अवशरमा आगामी दुई बर्ष ( २०२१/२०२२ ) को लागि सर्वसम्मतिद्वारा पुन: निजानन्द मल्लको नेतृत्वमा नवगठित कार्य समितिलाई निर्वाचन समितिको तर्फबाट संस्थापक सदस्य राजेन्द्र श्रेष्ठले सपथ ग्रहण गरॅाएर पदास्थापन गर्नुभएको थियो। केन्द्रको स्थापनाको औचित्यमा बिभिन्न कार्यकालका समितिहरुले पुर्याउदै आएको योगदान प्रति आभार प्रकट गर्दै नव निर्वाचित समितिले केन्द्रको उदेश्य प्राप्तिको लागि अग्रसर रहनेमा शुभकामना दिनुभएको थियो।

एन.सी.सि.ओ. आगामी दुई बर्षको कार्यकाल २०२१/२२ लागि नवगठित समितिका पदाधिकारीहरुको नामावली देहाय बमोजिम रहेको छ।

१) अध्यक्ष:- निजानन्द मल्ल
२) उपाध्यक्ष:- अमिता देवकोटा
३) महासचिव:- पदपूर्ति गर्न बॅाकी
४) कोषाध्यक्ष:- दिनेश महर्जन
५) सूचना सचिव:- राजिव श्रेष्ठ
६) का.स. सदस्य:- लक्ष्मण थापा
७) “ “ :- कालु भट्टराई
८) “ “ :- बिष्णु लकान्द्री
९) “ “ :- अनिता थापा

यसरी कार्यक्रमको अन्त्यमा केन्द्रको तर्फबाट नव पदस्थापित उपाध्यक्ष अमिता देवकोटाले आमन्त्रित प्रमूख अतिथि, बिशेष अतिथि, अन्य अतिथिगण बिभिन्न संघ संस्थाका प्रतिनिधि, पदाधिकारी, अभिभावक, पाठशालाका गुरु बा-आमा, बाल-बालिका लगायत सम्पूर्ण सहयोगिजन एवं सुभेच्छुक मनहरु प्रति आभार प्रकट गर्नुभएको थियो। यसरी अन्तिममा कार्यक्रम संचालक भट्टराईले अध्यक्षको अनुमतिले सबै प्रति धन्यवाद ज्ञापन गर्दै उदघाटन समारोहको समापन भएको घोषणा गरेर कार्यक्रमको बिधिवत समाप्ति भएको थियो।

प्रतिक्रिया