चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

इनेप्लिज २०७७ फागुन १८ गते ११:०७ मा प्रकाशित

काठमाडौं,

चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ।यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन्।

काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरियो।चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर २ छायाँकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए।

युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरियो।निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्य सहित कार्यक्रममा प्रकाश पारे।गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्य एउटा बास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए । गोर्खा वारियर चलचित्र ४ सृँखलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्य दृष्य मार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे।यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तराष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको पनि उनले बताए।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुन्।जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन्।चलचित्रलाई नेपाल सहित मलेशिया र बेलायतमा छायाँकन गरिने भएको छ।

यो चलचित्रमा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल,बुद्दी तामाङ,कविता आले, बिरुप घले,सारा राई,मनोज केसी सहितको मुख्य भूमिका रहने छ।रितेस चाम्स नव नायकको रुपमा यो फिल्मबाट प्रस्तुत हुँदैछन्।

साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफु पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता बिजय लामाले कार्यक्रममा बताए।

यस्तै नव अभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्र मार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए।अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफुलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममो मुख्य नायिकाको जिम्मेवारी दिँदा झनैे खुसी लागेको बताईन्।हास्य अभिनेता बुद्दी तामाङले आफु होचो कदको भए पनि गोर्खाली सैनिकको रुपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको छु भने।

आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत,एलिस कार्कीको संगीत,राजेश पायल राईको गायन,मिलन चाम्स र गिरीराज घिमिरेको लेखन,अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ।

प्रतिक्रिया