गज़ल

भण्डारी जी “अचम्म” २०७७ फागुन १४ गते ०:४४ मा प्रकाशित

सिन्दुर किन्या पोते किन्या चुरा किन्या धेरै भयो
साइली तिम्लाइ यो साइलोले खोज्दै हिन्या धेरै भयो ।।

साल घारी नि धाई सकेँ पानी घट्ट पुगि सकेँ
पातै गाँसी सेल पकाउन पिठो पिन्या धेरै भयो।।

चौथो बर्ष नाघी सक्यो दाइले भाउजु भित्र्याएको
बा ले तेरै पालो भन्दै कुरो छिन्या धेरै भयो ।।

जोर परेवा उडाएर मनको कुरा पुगोस भनी
देउराली को देबि भाक्दै ढुंगो चिन्या धेरै भयो ।।

जन्ते बाख्रो खानुपर्ने भन्दै मेरा हजुरबा ले
कार्तिक पछि मंसिर भन्दै औंला गिन्या धेरै भयो ।।

-भण्डारी जी “अचम्म”

प्रतिक्रिया