हाँडी गाउँको जात्रा !

रामप्रसाद खनाल २०७७ फागुन १३ गते १२:१३ मा प्रकाशित

एउटा मान्छे जस्तै जस्तै देखिने
र,
अर्को उसकै थाङ्ना सुत्न फेरी तयार
हाताहाती र नगदको भोके !
बुरुक्क बुरुक्क उफ्रे
चिच्याए घाँटी सुकुन्जेल
अनि,
चढे दाशहरूको काँध
खुसीयाली मनाए
लड्डु बाँडे,
खुवाए,
खाए !
यो नाटक देखेर
यो नौटङ्की देखेर
कौवालाई बेला पाक्यो हर्ष नत बिस्मात भनेझैँ
न त खुसीयाली
न त रुवाइ भएको,
एउटा म बिचरो मनुवा
म मनुवा भित्रको एउटा मेरो मन
त्यही मनले उही मनलाई प्रश्न सोध्यो,
ए मनुवा,
उनीहरूले त खुसीयाली मनाए
लड्डु बाँडे,
खुवाए,
खाए !
तर जनताले के पाए ??
मरी जानु बोलेन मन
खुलेन मन
निरुत्तर भयो झन् झन् !
यत्तिकैमा,
रुन्चे स्वरमा,
कृत्रिम हाँसो हाँस्दै
मन भित्र अनेकौँ चालहरू साँच्दै
अर्का कुरौटेले प्वाक्क मुख खोले
रुन्चे हाँसोमै बोले
“मेरा भाइहरूले लड्डु त खाए,
तर के जितेर खाए ?
के पाए र खाए ?
कुन कुराको खुसीयाली मनाए ??
मलाई थाहा छैन !”
देशमा अहिले यिनीहरूकै उही,
हाँडी गाउँको जात्रा छ
हाँस्ने, हँसाउने
रुने, रल्लाउने !
आफ्नै जालमा माछा कसरी फसाउने
उता,
आमाको चित्कार छ –
बँचाओ बँचाओ !
तर के सुन्थे आमाको गुहार यिनले
यिनलाई हतार छ
आमालाई घुचेट्न
आर्यघाटको चितामा !

– रामप्रसाद खनाल, फाल्गुण १२, २०७७

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया