आइतबार, फागुन २३ २०७७
काठमाडौं ०८:०९
वासिङटन डिसी 21:24

अमेरिका नेपाल शिक्षा सदनको पाँचौँ वार्षिकोत्सव सम्पन्न

इनेप्लिज २०७७ फागुन ९ गते २०:३९ मा प्रकाशित

भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजद्वारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदनको पाँचौँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ गत फरबरी १४ मा सम्पन्न भयो । नेपाल सरकारका शिक्षा सचिव गोपीनाथ मैनालीको विशेष आतिथ्य रहेको सो समारोहमा शिक्षा सदनमा अध्ययन गरिरहेका बालबालिकाले नेपाली भाषामा कार्यक्रम प्रस्तुत गर्नुका साथै नेपाली गीतमा नृत्य गरेका थिए । जुममा भएको सो वार्षिकोत्सव समारोहमा शिक्षा सदनबाट यस शैक्षिक सत्रमा सफलता प्राप्त गरेका बालबालिकालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । सगरमाथा तहकी छात्रा कञ्चन दाहालले सहभागीहरुलाई शिक्षा सदनका तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गरिन् ।

यस शैक्षिक सत्रमा अन्नपूर्ण ए र बी कक्षाबाट क्रमशः गौरव गौतम र दर्शन ढुङ्गाना, ब्रिज ए र बी कक्षाबाट जायरा कुँवर र प्रसिद्धि भारद्वाज, कन्चनजंगा तहबाट ईर्शिता श्रेष्ठ र सगरमाथा कक्षाबाट कन्चन दाहालले वर्षको उत्कृष्ट विद्यार्थीका रुपमा एक एक सय अमेरिकी डलर र प्रमाणपत्र प्राप्त गरे । वर्षका उत्कृष्ट विद्यार्थीका लागि समाजसेवी सागर कँडेल, पदमराज रेग्मी, शिव लामिछाने र रोम ज्ञवालीले पुरस्कारका लागि सौजन्य गर्नुभएको थियो । यसै गरी समरोहमा सबै कक्षामा द्वितीय र तृतीय भएका बालबालिकालाई अमेरिकी डलर ६० र ४० नगद पुरस्कार प्रदान गरियो ।

शिक्षा सचिव गोपीनाथ मैनालीले अमेरिका नेपाल सहयोगी समाजले प्रवासमा जन्मेका नेपाली बालबालिकाका लागि व्यावहारिक र स्तरीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी वितरण गरेकोमा आफू प्रभावित भएको बताउनुभयो । वहाँले प्रवासमा बसेर पनि नयाँ पुस्ताका नेपाली छोराछोरीसित नेपाल र नेपालीप्रतिको मन जोड्ने विषयवस्तु तयार गरेकोमा गर्व गर्दै नेपाल सरकारका तर्फबाट शिक्षा मन्त्रालयले गर्नुपर्ने सहयोगका लागि मन्त्रालय तयार भएको कुरा उल्लेख गर्नुभयो । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदारप्रसाद तिम्सिनाले समाजले विगत पाँच वर्षदेखि नयाँ पुस्ताका छोराछोरीलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट नेपालसित जोड्ने प्रयास गरिरहेको बताउनुभयो ।

कोभिड १९ को महामारीका कारण शिक्षा सदनका सबै कक्षा अनलाइनमा रुपान्तरण भएपछि कक्षाहरु प्रभावकारी भएको र बालबालिकाले सिकाइमा उल्लेख्य प्रगति गरेको कुरा समाजका अध्यक्ष केदारप्रसाद तिम्सिनाले बताउनुभयो । अध्यक्ष तिम्सिनाले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन मासिक रुपमा सबै कक्षाबाट एकएक उत्कृष्ट विद्यार्थी छनौट गरी गएको जुन महिनादेखि पुरस्कार प्रदान गर्नका लागि समाजका संस्थापक अध्यक्ष सागर कँडेलले एकमुष्ठ रुपमा रकम सौजन्य गर्नुभएकोमा वहाँप्रति आभार व्यक्त गर्नुभयो ।

व्यवस्थापन समिति सदस्य एवं बालबालिकाका लागि पाठ्यपुस्तकका लेखक शिव लामिछानेले अमेरिका नेपाल सहयोगी समाजले प्रकाशन गरेका तीन तहका पाठ्यपुस्तकहरू अहिले अमेरिकाका विभिन्न ८ राज्यमा रहेका नेपाल तथा भुटानबाट अमेरिकामा आएका नेपाली समुदायका छोराछोरीले अध्ययन गरिरहेको र अमेरिकाका थप १८ राज्यहरू तथा अस्टेलिया, जापान र बेलायतमा किताबहरू नमुनाका रुपमा पुगेको जानकारी गराउनभयो । शिक्षा सदनका संयोजक रमेश ढकाल पाठ्यपुस्तकको विस्तारका क्रममा नेपालमा रहनुभएको बताउँदै शिक्षा सदनका पूर्व संयोजक रोम ज्ञवालीले शिक्षा सदनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । अनलाइन कक्षाका प्राविधिक संयोजक शिव तिम्सिनाले कोरोनो भाइरसको प्रकोपपछि गत अप्रिल महिनादेखि गुगल ह्याङ आउट र जिसुट हुँदै मे महिनादेखि जुममा कक्षा सञ्चालन गर्दाका विभिन्न चुनौती र सफलताहरूबारे उल्लेख गर्नुभयो ।

वार्षिकोत्सवमा अतिथिको प्रस्तुतिका रुपमा उत्तरी भर्जिनियाका नेपाली पाठशाला सेन्टरभिल, नवदुर्गा नेपाली पाठशाला लोर्टन र नेपाली पाठशाला हर्नडनका बालबालिकाको प्रतिभा पनि प्रस्तुति गरिएको थियो ।

शिक्षा सदनका शिक्षक तनुजा पोखरेलको संयोजनमा सञ्चालन भएको वार्षिकोत्सव समारोहमा शिक्षिकाहरु जानु ओझा, तनुजा पोखरेल, विष्णु न्यौपाने, अभिज्ञा लामिछाने, प्रतिभा गौतम तथा सगरमाथा तहकी छात्रा कञ्चन दाहाल तथा अनुश्री अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाजले सन् २०१६ फरवरीदेखि सञ्चालन गरेको अमेरिका नेपाल शिक्षा सदनमा विभिन्न ६ राज्यका ८६ जना बालबालिकाहरु अध्ययन गर्छन् । शिक्षा सदनमा आगामी मार्च ७ देखि सुरु हुने नयाँ सत्रमा अन्नपूर्ण, ब्रिज, कञ्चनजंगा, सगरमाथा र उच्च सगरमाथा गरी पाँच तहका विभिन्न सात कक्षाहरु सञ्चालन हुनेछन् । नाम दर्ता भएका सबै बालबालिकालाई शिक्षा सदनले निशुल्क पाठ्यपुस्तक प्रदान गर्ने गरेको छ । हरेक वर्षको वसन्तपञ्चमीका अवसरमा हुने सरस्वतीपूजापछि नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदै आएको कुरा शिक्षा सदनका संयोजक रमेश ढकालले इनेपलिजलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया