-मित्र ‘उराठी’ गौतम
पक्षघातले कूँजिएर हो
वा ख्वामितको पाऊ
मसार्दा मसार्दा
माथि उठ्नै नसक्ने गरि
थलिएर हो ?
आजकल
अभिवादन फर्काउन पनि
सकसै पर्यो त।
अभिवादन गर्नु त
कता हो कता
अभिमान र दम्भले
मात्तिएर हो कि
रिपको आची फूले जस्तै
फूलिरहेछौ
अभिवादन स्वीकार्नै पनि
कष्ट मानेर।
कि त चिन्दैन भनि
बोलि नै बार्नु
नभए देखावटि नै सहि
अभिनय सम्म त गर्नु।
गर्लम्मै झुकेर पाऊमा
स्वामी चाकरीको व्यस्तताले हो
वा तलुवा चाट्दा चाट्दा
जिव्रो चरचरी चिरिएर हो ?
मुखमा दहि जमे जस्तै
बोलि पनि
साह्रै महङ्गो पो छ त।
मृदु मुस्कान सहित
नम्र भै बोल्दा
के नै जान्छ तिम्रो ?
कि कद नै पो घट्छ र ??
कि त अपेक्षै
नगर सम्मानको
नत्र अपमान पनि
नगर अरुलाई,
हिजोको धरातल
भुसुक्कै विर्सियौ र ?
दरीद्र मानसिकता बोकेर
कति टिक्दो रहेछ
तिम्रो अहङ्कार ?
हामी पनि हेरौंला
भन्दै पो छन् त
तिम्रा सरोकारीतहरुले
आखिर नेपाल सानै छ
भेट भोलि पनि
हुन सकिन्छ
सूचना सञ्चारको
युग न हो
खबर निरन्तर
पाउन सकिन्छ ।
जानकारी पलपल
लिन सकिन्छ ।।
—अस्तु—
[email protected]
प्रतिक्रिया