समृद्ध प्रदेश, खुसी जनता

-मित्र ‘उराठी’ गौतम ,गुल्मी २०७७ फागुन २ गते १९:२५ मा प्रकाशित

उठ उठ ए ! उठ
झलमल्ल घाम लागेर
हिमाल हाँसेको छ
जुटजुट अब पौरखमा जुट
डाँफे, मयुर नाचेको छ ।
आऊ सन्ते, मंगले, चमेली र पुतलीहरु
हिम्मत साथ पहरा ठोक
उर्वर भूमीमा विऊ रोप ।

बोलाऊ नेपाली दाभिन्चीहरुलाई
राष्ट्रियता धर्मराएको बेला
मानवता मुर्झाएको बेला
अब मोनालिसा मात्र हैन
सप्तरङ्गी रङहरुमा
कुची चोपेर
हरेक नेपालीको छातिमा
राष्ट्रियताको चित्र बनाइदेऊ
मानवता जुर्मुराउने मित्र बनाइदेऊ ।

यहाँ सुरुङ मार्गमा रेलगाडी गुडाउनु छ
नेपाली ध्वजावाहक विमान उडाउनु छ
अपार जलस्रोतको उपयोग गर्दै
विजुली झलमल्ल बाल्नु छ
विकासको मूल फुटाउँदै
अशिक्षा र गरिबी फाल्नु छ।

नौलो प्रविधि विकास गर्दै
हाम्रा खानीहरु खोल्नु पर्छ
अमूल्य जडिबुटी जुटाउँदै
अमृत रुपमा घोल्नु पर्छ
संस्कृति जगेर्ना गरौं
पर्यटक हाम्रा पाहुना हुन्
विश्ववन्धुत्वको मनन् गरी
‘बशुधैव कुटुम्बकम्’ बोल्नु पर्छ।

किन अछट्ट ए दमाई दाइ
आऊ तिम्रो सियोले
फाटेका मनहरु सिलाउनु छ
तर्केर नबस कामी दाइ
तिम्रो रसानको सीपले
विविधतामा एकता मिलाउनु छ ।

छोरो खाडीमा फस्यो
छोरी विदेश बस्यो भनेर
नविरक्तिनु आमै
अब फर्कनेछन् आफ्नै देशमा
रमाउने छन्
आफ्नै भाषा र भेषमा ।

किनकी,
हाम्रो प्रदेशमा
अविकासको अँध्यारो पहाड
गर्ल्याम्म ढल्दै छ
गाउँ,वस्ती वस्तीमा
समृद्धिको उज्यालो फल फल्दैछ
‘‘समृद्ध प्रदेश, खुसी जनता’’
अभियान हाम्रो चल्दै छ
सहयोगापेक्षी, वृद्धवृद्धा
सबको मुहारमा हाँसो ल्याउँदै
हाम्रो मुटु लुम्बिनीमा
शान्तिको दीप बल्दै छ।

—अस्तु—

 

प्रतिक्रिया