आइतबार, फागुन २३ २०७७
काठमाडौं ०९:२१
वासिङटन डिसी 22:36

महिला लिग फूटबलमा चन्द्रपुरविरुद्ध आर्मीको ६–१ गोल अन्तरको जित

इनेप्लिज २०७७ फागुन २ गते १५:५४ मा प्रकाशित

काठमाडौं।चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फूटबलमा उपाधि दाबेदारी कायम राखेको छ।

एन्फा कम्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा चन्द्रपुरलाई ६–१ गोल अन्तरले हराउँदै आर्मीले ३ अंक जोडेको छ । आर्मीलाई सहजै जिताउन रश्मी घिसिङले ४ गोल गरिन् ।

त्यस्तै, विमला चौधरीको नाममा दुई गोल रह्यो । खेलको १० औं मिनेटमा रश्मीले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २१ औं मिनेटमा रश्मीले अग्रता दोब्बर बनाउँदा त्यसको २ मिनेटपछि नै विमलाले डिबक्स बाहिरबाट सहजै गोल गरिन् ।

३ गोलले पछि परेको चन्द्रपुरका लागि पहिलो हाफको अन्तिममा रजनी थोकरले गोल गर्दै टोलीलाई खेलमा फर्काइन्।५० औं मिनेटमा रश्मीले पेनाल्टीमार्फत् गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

त्यसको सात मिनेट पछि विमलाको गोलबाट ५–१ को अग्रता लिएको आर्मीका लागि ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । जितसँगै आर्मी १० खेलबाट २५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ । २ अंक बढी बनाएको एपीएफ शीर्ष स्थानमा छ।

चन्द्रपुर भने १० खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ।लीगमा भोलि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ।

प्रतिक्रिया