फर्किन् तर बोल्दै बोलिनन् !!

- कोमल अधिकारी, टिकापुर,कैलाली। २०७७ माघ २९ गते १२:१८ मा प्रकाशित

धेरैचोटी आमाले बोलाइन्,
फकाएर,माया गरेर,चिच्याएर,
तर,ऊनी बोलिनन्।
हुन त खै के भएर हो,
साथी-सङ्गी झैँ ईच्छाएको नपुगेर पो हो कि,
गृहकार्य गर्न कपि नभएर हो कि,
राम्रो यूनिफर्म नभएर पो हो कि,
अस्ति भर्खर बुवा वित्नु भएकाले हो कि
दाजु विदेशीएर मन भाँचिएकाले हो,
ऊनी अस्ति अस्ति पनि कम बोल्थिन्।
हुन त बुवा वितेको पीरमा
गर्जो टार्न छोरो मुग्लान भासिएको सोचमा,
आफूलाई पनि बोल्न मन छैन।
तर, छोरीको अघि केही न भा जसरी
बोल्न खोज्थिन् आमा।
बोलाउन खोज्थिन् छोरीलाई र भन्थिन्:
तँलाई जसरी पनि पढाउँछु,
राम्रो मान्छे बनाउँछु,
भन्दै ढाडस दिन्थिन्।
अर्कोतिर ढाडसको जग कमजोर रहेको
उनी आफैँ स्वीकार्थिन्।
आफू बाँच्न र बढ्दै गरेकी छोरी हुर्काउन
कति गार्हो छ उनी गुन्थिन्।
आर्थिक रूपले मात्रै हैन,
सामाजिक रूपमा पनि
एकल महिलालाई हेर्ने दृष्टिकोण
विपन्नलाई होच्याउने प्रवृत्ति
र, र,
कलिला मुनाहरू तोड्न खोज्ने
राक्षसी आँखाहरू।
तैपनि एउटी आमाको कर्तब्य हो
छोरीलाई ढाडस दिने
र, भन्थिन्:
तँलाई योग्य मान्छे बनाउँछु।
तर, पति बितेको छ हप्ता नपुग्दै,
स्कुल गएकी छोरी
आएर खाजा खुवाउँछु भन्ने छोरी
आएर लुगा धोईदिउँला भन्ने छोरी
आएर पँधेरो जाउँला भन्ने छोरी
पढेर एउटा राम्रो घर बनाउँला भन्ने छोरी
समाजलाई उत्कृष्ट बनाउँछु भन्ने चेली
आउन त आइन् तर भोलिपल्ट मात्रै।
फर्किन त फर्किइन्
तर, बोल्दै बोलिनन्।

( भागरथी भट्ट्प्रति हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा हार्दिक समबेदना।’न्याय मर्नु हुँदैन’ भन्नेहरूमा समर्पित)

– कोमल अधिकारी, टिकापुर,कैलाली।

प्रतिक्रिया