“सुन्तली “

गम्भीर दुवाडी गजुरी -५ ,धादिङ्ग २०७७ माघ १२ गते २३:१६ मा प्रकाशित

जब मिरमिरे हुन्छ तब सुन्तली उठ्छे
रातभरका सपना सङगाल्दै आगो जोर्छे
भित्र बाहिर गर्दै कसिङ्गर लाउँछे

पँधेराको पानी टौवाको पराल वस्तुभाउलाई दिन्छे
तातो एक गिलास दूध लिएर श्रीमान् कहाँ पुग्छे
‘ ए हजुर ! म पनि क ख रा सिक्छु नि हुन्न ! ‘ भन्छे

सुन्तली धेरै गर्छे थोरै सोच्छे अनि थोरै बोल्छे
सुन्तली जतिखेर काम छुन्छे
त्यो भन्दा पहिल्यै
ऊ संस्कारको भात सँगै दाल बुन्छे
थोरै समय पाए मात्रै पनि तान बुन्छे
आङ ढाक्ने अलिकति कपास बुन्छे
कल्पना पछि आशा बुन्छे
फाटेका तनलाई मनले तुन्छे
तुन्नु ,बुन्नु र उन्नुले दशकौं वित्यो
अक्षर खुट्न
शब्द उन्न
वाक्य तुन्न
तानै अभिशाप भएको छ

सुन्तली अलिकति खुशी सँगै
पारिवारिक गाँठो फून्छे
अनि धर्ती सझाउँदै आकाश बुन्छे
बनपात गर्दा देउरालीमा बतास बुन्छे
गाउँ बेंसी गर्दा पसिनाले दाग धु्न्छे

कहिले जून सँगै जून बुन्छे त घाम सँग घामै बुन्छे
कनिकुथी आत्माको गुदी
जन्म घरदेखि कर्म घरसम्म मधुरता हुन्छे

सन्तानमा वात्सल्य बगाएर
वृद्धा-वृद्धको वैशाकी भएर
अनवरत गाउँको नाउँ बुन्छे
अलिअलि गर्दै देशको शान बुन्छे
ईमान जमान पखेराको सिउँदो भरि
लालीगुराँस फुलाउँछे

मेलापात साथी सङ्गिनी
प्रकृतिको चरित्र मुनि
खोला नाला पहाडी
कुहिरो र हुस्सु पन्छाएर
बाली माथि बयली खेल्दै
चरीहरुको चिर्रबिर्र आवाजमा गीत बुन्छे

खेतबारीमा श्रम सम्बन्ध फैलाउँदै
जंगलको कर्ण प्रीय सुसेली बुन्छे
सुन्तली अहोरात्र पौरखका भण्डार छुन्छे
जब मिरमिरे हुन्छ तब सुन्तली उठ्छे

गम्भीर दुवाडी
गजुरी -५ ,धादिङ्ग

प्रतिक्रिया