संवैधानिक इजलास- हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

इनेप्लिज २०७७ पुष २९ गते १०:३४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ।रिटको सुनुवाइ गर्न अदालतले आज नयाँ संवैधानिक इजलास गठन गरेको छ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल लाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रश मशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन्।

न्यायाधीश हरिकृष्ण कार्की माथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै इजलास छाडेका थिए।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ ।

विघटन विरुद्धका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद भने कायमै छ।रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन्।

पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन्।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधि सभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ।

त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन सम्बन्धी सम्पूर्ण काम कारवाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्य उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न पनि माग गरिएको छ।

प्रतिक्रिया