मेरो माया हिउँ जस्तै रैछ है ?

-अस्मिता आचार्य २०७७ पुष २७ गते २:३० मा प्रकाशित

मेरो माया हिउँ जस्तै रैछ है ?
चाहे गुलाफ सरि तिम्रो रुप मुसुक्क मुस्कुराउँदा होस्
या तिम्रो मन छचल्किएर आँखा रसाउँदा होस्
म पनि त यै हिउँका पत्र जसरी निरन्तर झरिरहन्छु
तिमीलाई मेरो मायाले छपक्कै नढाकुन्जेल सम्म।

मेरो सजल स्पर्शले
त्यो अजल धर्ती सिंच्दा
चिसोमा कठ्याङ्ग्रिएका दुई मुटुहरु
उल्टै पग्लिएर निथ्रुक्कै हुन्छन्-
एक अर्काको असिम मायामा।

मेरो प्रेममा भिज्दा भिज्दै पनि तिमी
तै पनि एकै छिनमा फेरि निरस भैदिन्छौ।
सागर देखि सुरुवात भएको मेरो दुर्गम,दुष्कर,दुर्लभ यात्रामा
उम्लिएर,रापिएर,बाफिएर,गर्जिएर,पग्लिएर,बर्सिएर,
मलाई तिमीले ग्रहण गर्न सक्ने रुप श्रृङ्गारिएर,
म बल्ल बल्ल तिमीलाई भेट्न आउँछु।
म बल्ल तल्ल तिमीलाई छुन पाउँछु।

तर तिमी एक छौ,
जो मेरो निम्ति कहिल्यै सज्दैनौ।
हो,यो सही हो,कि,
मेरा चिसाम्मे याद बर्सिंदा तिमीले नाइँ पनि भन्दैनौ।
तर त्यसो त,
अँध्यारो साँझमा उदाएको सेताम्मे चाँदनीका रातहरु सँग
आफ्नो रुप हिलाम्मे हुन्जेल साट्न पनि त
तिमी कहिल्यै नाइँ नास्ती र्गदैनौ।

मलाई थाहा छैन,
तिम्रो र चन्द्रमा बीचको कस्तो वार्तालाप हुँदो हो।
मलाई थाहा छैन,
चन्द्रमालाई पनि तिमीले मलाई जस्तै प्रश्नहरु तेर्स्याउँदा हौ।

तर, हाम्रो हर भेटमा तिमी
हामी दुईको सम्बन्धको साक्ष्य माग्छौ म सँग।
मेरो अपार संघर्ष,अटूट विश्वास,र निस्वार्थ प्रेम जोख्छौ तिमी।
मेरो मायालाई,
मेरो अस्तित्वलाई नै,
ठोस, तरल,अनि ग्याँसको एकाइमा नाप्छौ तिमी।
म बरफ हुँदा हुँदै पनि मुलायम हुन्छु तिम्रा निम्ति।
तिमी भने धर्ती भएर पनि कति कर्कश।
भन न प्रिय,
फ्रिजिङ्ग पोइन्ट र मेल्टिङ्ग पोइन्टको
दुई चरम सीमा बिच
मेरो मायालाई-
कति तापक्रममा
कति डिग्रीमा
तिमीले महसुस गरेका छौ ?

सायद त्यसैले होला,मलाई ज्ञात छ-
तिमी मलाई भेट्न आउने छैनौ कहिले पनि
अहिले सम्म नआए सरि।
न त तिमी सँग हिम्मत नै छ
आकाश छिचोल्न,मैले जसरी।

तर, म आइरहनेछु,
हिउँ झैं झरिरहनेछु,
तिमी मेरो प्रेममा चुर्लुम्म नगले सम्म।
ताकि तिमीले पनि त बुझोस्
तिमी र म
अलग हुँदा हुँदै पनि एउटै जीवन बाँच्छौं।
जल र थल
भिन्दा भिन्दै भईकन पनि
एउटै बाफ लिन्छौँ।
एउटै सास फेर्छौं।

साँच्चै,
मेरो माया हिउँ जस्तै रैछ है ?

-अस्मिता आचार्य

प्रतिक्रिया