काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञा भवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार समर्पण गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा पुरस्कृत कविहरू राधिका गुरागाईं (विराटनगर)को ” इन्द्रेणी सपनाहरू” प्रथम, जीवन आरोही (उदयपुर)को ” निमन्त्रणा ” द्वितीय, केशव भट्टराई (झापा)को “पर्खाई” तृतीय तथा शुभचन्र्द राई (खोटाङ)को “कथाको पात्र” र कल्पना तामाङ (कन्सास, मिजौरी,अमेरिका)को “विभेदको पानी”शिर्षकका कविताले सान्त्वना स्थान हासिल गरेको थियो।
यस प्रतियोगितामा प्रथमलाई नगद ५०० यु.एस.डलर,दोस्रो हुनेलाई नगद ३०० यु. एस. डलर, तेस्रो हुनेलाई नगद २०० यु. एस. डलर र चौथो र पाँचौ हुनेलाई नगद १००/१०० यु. एस. डलर र प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगिताका पुरस्कृत कवि कल्पना तामाङको भने उपस्थिति रहेको थिएन।उनलाई अमेरिकामै पुरस्कार दिने कार्यक्रम रहेको छ।
सो प्रतियोगितामा प्रथम पुरस्कारको रकम बीओटी सदस्य तीर्थराज अधिकारी,दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा,तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र पाँचौको लागि सचिव विमला निरौलाले प्रायोजन गरेका थिए।
सो प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल,प्राज्ञ डा.देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए।उनीहरूलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो।
प्रमुख अतिथि बिष्णुविभू घिमिरेले नेपाली कविताको विश्वव्यापीकरणमा यस्तो प्रतियोगिताले विशेष महत्त्व राख्ने भएको हुँदा कवि,कविता र नेपाली साहित्यको उन्नयनका लागि अनेसासले सास भर्ने काम गरेकोमा आभार ब्यक्त गरे।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष कवि गीता कार्कीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अनेसास केन्द्रीय सदस्य डा.रेणुका थापा सोलुले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको शुभकामना पत्र समेत वाचन गरेकी थिइन्।
कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल,अनेसासका सल्लाहकार प्रा.डा. लक्ष्मण गौतम,निवर्तमान अध्यक्ष, सल्लाहकार एवं कविता प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले शुभकामना ब्यक्त गरेका थिए।निर्णायकहरुका तर्फबाट ज्ञानुअधिकारी द्वारा मन्तव्य व्यक्त गरिएको समारोहमा पुरस्कृत कविता पनि वाचन गरिएको थियो।अनेसास बीओटी सभापति गीता खत्रीको शुभकामना सन्देश वाचन गर्दै महासचिव ऋृषवदेव घिमिरेले संचालन सञ्चालन गरेको उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा भएको थियो।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थिति अवस्थामा अनेसासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनहरू स्थगित गर्दै यो कविता प्रतियोगिताको आयोजनाको घोषणा गरेको थियो।
यो प्रतियोगितालाई पारदर्शी बनाउन निर्णायकहरू बीच नै आपसी जानकारी नदिइएको,कविको नाम छोपेर कविता उपलब्ध गराइएको र सस्थाभित्र नै पनि निर्णायकहरूको नाम गोप्य राखिएको थियो।पुरस्कार प्रायोजकहरू,कार्यसमितिका पदाधिकारीहरू,निर्णायक समितिका सदस्यहरू जुम मार्फत भेला भएर नतिजा निकालिएको थियो।सम्भव त यस्तो परिपाटी पहिलो हो।
सो जुम भेलामा क्रमशः प्रतियोगिताका संयोजक निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली,अध्यक्ष प्रकाश पौडेल माइला,वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा,बिओटी कार्यसमिति सदस्य तीर्थराज अधिकारी,निवर्तमान उपाध्यक्ष भीमसेन सापकोटा सहित सस्थाका उपाध्यक्षहरु राजेन्द्र श्रेष्ठ र राजेश बुढाथोकी, सचिव विमला निरौला,कोषाध्यक्ष कृष्ण गिरी,सदस्यहरु निजानन्द मल्ल,डा.रेणुका थापा सोलु,दीप पाठक, प्रमोद सारङसमेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया