खै कहाँ आयो फेरि यो नयाँ वर्ष
देखिँदैन कतै मन भित्र खुसीयाली र हर्ष!!
आकाश उही देख्छु धर्ती उही देख्छु
बिचार उही देख्छु विवेक उही देख्छु
कलमले उही लेख्छु भावना उही पोख्छु
शुभकामनाका तस्बिरहरू उही देख्छु
वर्षको एउटा अङ्क अलि कति फरक देख्छु
तर चाहना र चिन्ता फेरि उही देख्छु
खै कहाँ आयो फेरि यो नयाँ वर्ष
देखिँदैन कतै मन भित्र खुसीयाली र हर्ष!!
रुख र बिरुवामा पातहरू झरेर गए
खोला र नालाहरूमा पानी बगेर गए
हुरी र बतासले कसिङ्गरहरू उडेर गए
जगतका जीव जन्तु बढेर जवानी भए
ती अँध्यारा रातहरू फेरि उज्याला भए
तर बिहानिको सूर्योदय फेरि उही देख्छु
खै कहाँ आयो फेरि यो नयाँ वर्ष
देखिँदैन कतै मन भित्र खुसीयाली र हर्ष !!
शासन भित्रका शासकहरू उही देख्छु
पालै पालो सडकका उपबासक उही देख्छु
व्यानर भित्र लेखिएका नारा उही देख्छु
भाग बन्डा भित्रै अल्झिएका सारा उही देख्छु
सडकमा पोखिने भाषण उही देख्छु
तर कुर्सी र आसन अलि फरक देख्छु
खै कहाँ आयो फेरि यो नयाँ वर्ष
देखिँदैन कतै मन भित्र खुसीयाली र हर्ष!!
नयाँबर्ष २०२१ को शुभकामना सहित!!
बिनोद पोख्रेल
हाल: टेक्सास
०१/०१/२०२१
प्रतिक्रिया