हैट यो वर्षमा के भयो
के भएन
म साह्रै अन्योलित छु
निष्प्रभ बनेको छु
प्यारो २०२० मा
मित्रहरुले
सन्चो र विसन्चोका कुरा गरेर
थाहै नपाइ समय विताइ दिए
सडकमा म एक्लो एक्लो
महसूस गरिरहेको छु
चन्चले हुंदै
नयॉ साललाई स्वागत गर्दैछु ।
अस्ति मात्रै
ज्योतिषीले भविष्यवाणी गरिदिए
के हुन्न र २०२१ मा
राहु केतु समेत दाहिना छन रे।
यस वर्ष त सडकको मालामाल हुन्छ रे
सडकका पनि दिन आए रे,
सडकमा बत्ती बल्छन रे
जोश, जॉगर सडकमै प्रस्फुटित हुनेछन्
बन्ने सडकमै बन्ने छन
ढल्ने सडकमै ढल्ने छन्
मादल र दमाहा सडकमै बज्ने छन्
नाच, गान र मनोरंजन सडकमै हुनेछन्
जो जे हुने
सडकमै हुनेछन् !
सडक जीवनको कटु यथार्थसंग
बर्षौं अघिदेखि
अभ्यस्त हुंदै आएको म,
मानिसका ठूला भीडहरुलाई
सडकमै अंकमाल गर्ने,
उनीहरुका उचा चिच्याहट,
सुगन्धित-दुर्गन्धित कर्तलधुनीहरु,
उनीहरुकै मुक्कामुक्कीका आवाजहरु
छर्रा, पटका र एके फोट्टीका सुसेलीहरु,
टियर ग्यासको बाक्लो हुस्सु,
थोत्रो टायरको राप,
अलकत्रको ताप
अनि पानीका फोहराहरु!
आहा! म सडकको लागि
कति आनन्द!!
मलाई थाहा छैन
को कहॉबाट आइपुगेको छ,
कस्ले कस्लाई निम्त्याएको छ,
कस्लाई कहॉ पुग्नु छ,
म त चाहन्छु
यस वर्ष मनग्य उनीहरु
सडकमा आउन,
म उनीहरुसंगै
हगी अंकमाल गर्दै
मेरा अतीतका संस्मरणहरुलाई
पुन: ताजा बनाउन चाहन्छु
बर्तमानमा तिनै पुराना
मित्रहरुलाई मेरै आलिंगनमा
देख्न चाहन्छु
हर हमेशा मित्रहरुलाई
सडकतिरै आमन्त्रण गर्न चाहन्छु।
अलकत्र माथिनै छ्याप्प बसेको
देख्न चाहन्छु ।-२
प्रतिक्रिया