तिम्रो स्वार्थ मिल्दा
अपराधको सरदारसँग,
मित लगायौ, प्रीत लगायौ
एउटै माला भित्र गलो मिलायौ
एउटै टेबुलमा दुई कुर्सी र थलो मिलायौ
तिम्रो स्वार्थ बाझिएछ क्यारे !
अचानक,
मुख छोडा छोड गर्यौ
संविधान तोडातोड गर्यौ
पार्टी फोडाफोड गर्यौ
जनताको नजरमा झर्नु सम्म झर्यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्यौ ??
भन त ओली महाराज
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
प्रचण्ड महाराज !
सत्र हजार मान्छे मार्यौ
देशलाई पचास वर्ष पछाडि पार्यौ
लुट्यौ जनता
कुट्यौ जनता
भँडायौ सबका सब
दक्षिणको खायौ कलो
उत्तरसँग मिलायौ गलो
बिहान एउटा कुरा
दिउँसो अर्को कुरा
साँझ फेर्छौ कुरा
वेश्याको वेश्यावृत्ति जस्तै
आफ्नै पार्टी खायौ
काँग्रेस पनि खायौ
एमालेमा पस्यौ
एमाले भँडायौ
कहिले ओली बोक्यौ
कहिले झलनाथ बोक्यौ
कहिले माकुनेलाई झार्यौ
अहिले फेरि त्यही माकुने लाई,
आफ्नो भागमा पार्यौ !
देश र जनता मार्नु सम्म मार्यौ
भन त प्रचण्ड महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
माकुने महाराज !
पिँध नभएका लोटा जस्ता
कहिले कता, कहिले कता,
बन्यौ तिमी निकै सस्ता !
उधारोमा नचल्ने तिमी
हाताहाती भन्दा तल नझर्ने तिमी
खुन खुन बाहेक केही नगर्ने तिमी
जनता र देशका लागि होइन
मात्र आफ्ना लागि,
कुर्सी, सोफा र साइज नाप्ने तिमी
स्वार्थको आगो मात्रै ताप्ने तिमी
फेरि शती गयौ अपराधी सरदारसँग
के गुनासो गर्नु र खोइ !
बैङ्कको खजान्ची र खरदारसँग !
भन त माकुने महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
शेरबहादुर महाराज !
देश तन्नाम पार्यौ
काँग्रेस तन्नाम पार्यौ
हुँदोखाँदाको काँग्रेस पुछारमा झार्यौ
नियुक्तिमा भागबन्डा
लुटतन्त्रमा भागबन्डा
तिमीले भागबन्डा पाए मात्रै हुने रैछ
असली काँग्रेस रुने रैछ
सासू राजदूत भएको भैछ
प्रमुख प्रतिपक्ष,
आरजुको कोटामा गैछ
ओली,प्रचण्ड, माकुने सबैसँग दोस्ती
देश भाँडमा जाओस्,
तिमीलाई छँदै छ मस्ती !
फेरि ज्योतिसेकोमा जाऊ
हात हेराऊ
कमाउनिस्टहरु लडे,
कुकुर हड्डीमा लडे जस्तै
अब फेरि पालो तिम्रो
कमाऊ, खाउ, रमाउ
जनता फेरि टाउको समाऊ !
भन त शेर बहादुर महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
– रामप्रसाद खनाल
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया