अनि बन्छ देश

अर्जुन थापा २०७७ पुष ६ गते १:४३ मा प्रकाशित

बा’ले भन्नु हुन्छ
मलाई पहिले नै थाहा थियो
तिनीहरु नालायक हुन्
आफ्नो स्वार्थको लागि जे पनि गर्छन
किनकि मैले बर्षौ देखि
देखिरहेछु,भोगिरहेछु, चेतिरहेछु
न त उनीहरुको नियत
हिजो ठिक थियो
न आज ठिक छ
न त भोलि ठिक हुनेछ
तिमीहरु किन आफ्नो टाउको फुटाइरहेका छौ
सक्छौ भने आफै केहि गर
तिम्रा बल र अमुल्य समय सडकमा होइन
खेत, पाखोबारीमा लगाउ
केहि उद्योगमा लगाउ
गुलामी गर्छौ, गुलामको बिरोध गर्छौ
होइन भने हेरेर बस
नौटंकी ,रमिता, रामलिला
जस्तो म हेरीरहेछु बर्षौ देखि
उनीहरुको नियत मै खोट छ
जब नियत शुद्ध हुदैन तब सम्म त्याग हुदैन
जब त्याग हुदैन
त्यहाँ वलिदान हुदैन
अनि परिवर्तन हुदैन

तब सम्म परिवर्तन हुदैन
जब सम्म निस्वार्थ भाव रहदैन
महलमा बसेर बनाएका योजना कहिले काम लाग्दैन
किनकि त्यहाँ सबै सुबिधा सम्पन्न हुन्छ
योजना त
झुपडीमा बसेर बनाउनु पर्छ
युग फेर्ने योजना
फेर्न सक्नु पर्छ
तिनको एक सरो आङ्ग भरिका कपडा
फेरिनु पर्छ चुहिने छानो
पाखुरी चलाउन प्रेरित गर्नुपर्छ आफ्नै पाखोबारीमा
उमार्नु पर्छ पसिना
फलाउनु पर्छ मोती
हो यहि धर्तीमा
अनि बदलिन्छ युग
फेरिन्छ मुहार, बन्छ देश
अनि बन्छ देश
अनि बन्छ देश

प्रतिक्रिया