प्रेमको नियम

नमूना २०७७ पुष ४ गते १९:३३ मा प्रकाशित

प्रेमको एउटा मात्र नियम छ
प्रेम निरन्तर भईरहनु पर्छ

जीवन बाँच्नु नै यदि पर्छ भने
जन्माइरहन पनि सक्नु पर्छ प्रेम
जस्तो कि
विरुवालाई पानी दिईरहनु
जस्तो कि
भाेकोलाई खाना दिईरहनु
या
बज्रको अनेकन प्रहार खपेर
हिमालय झै
ठीङ्ग उभिईरहनु र
बिना शर्त
हिमनदी बगाईरहनु
या
पटक पटकको
बालकको लात्तीमा
चुपचाप स्तनहरु चुसाईरहनु
या
एउटा बुढो बालक
आफ्नो कखरापाठशालाकाे
कन्त विजोग देखेर
मक्किएकाे तख्ता समातेर
भक्कानिईरहनु
या
कथित तल्लो भनिएर पनि
पुर्खाको पेशा अँगालेर
कथित उपल्लाहरुको
आवश्यकता सम्वोधन गरिरहनु
या
बगरकाे वेदना छोपेर
आदिम युगदेखि
काँशजस्तै मुस्कुराईरहनु
या
घनघोर जंगल बिचमा
शत्रुको गोलीले
अन्तिम निश्वास
छोड्दै गरेकाे
सिपाहीले जस्तै
माटाेको टीका लगाईरहनु
या
या चिता पखालेकाे
बर्षौ पछि पनि
बा आमाका पदचापहरु
मनबीचमा सजाईरहनु

हमेशा मन अन्तरमा
प्रतिदान बोकेर
डाँडाको बुढाे पिपल झै
तपिरहनु

यस्तै यस्तै
प्रेमकाे एउटामात्र
नियम छ
प्रेम सँधै
भईरहनुपर्छ।।

नमूना

मेचिनगर १० ओमशान्ति टाेल,झापा

प्रतिक्रिया