के हो सुन्दरता ?
कस्तो हुन्छ सुन्दरताको रूप ?
कसरी गरिन्छ सुन्दरताको परिभाषा ?
यो त अनुत्तरित प्रश्न हो
मेरो आँखामा झझल्किने सुन्दरता
उसको आँखामा कुरूपता हुन्छ
मैले देख्ने कुरूप अनुहार
उसको आँखामा सुन्दर हुन्छ
मैले देख्ने सुन्दर मुस्कान
उसले कुटिल मुस्कान देख्छ
मैले बोल्ने तिखो आवाज
उसलाई कर्ण प्रिय हुन्छ
मैले लेख्ने तिनै शब्दकोशका शब्दहरू
उसलाई असाध्य मिठो लाग्छ
तर मेरा ती मिठा र तिखा भावनाहरू
कसैलाई तीक्ष्ण काँढा जस्तो बिझ्ने हुन्छ
बाहिर देखिने त्यो अनुहार एउटै हुन्छ
ओठहरूमा भरिएको मुस्कान उस्तै हुन्छ
ती तिखा शब्दहरू त एउटै हुन्छन्
तर एउटाको आँखामा आकर्षण बढाउँछ
अर्कोको आँखामा घृणा फैलाउँछ
एउटाको मस्तिष्कलाई प्रफुल्लित बनाउँछ
अर्काको मस्तिष्कमा प्रतिसोध जन्माउँछ
कस्तो रहेछ सुन्दरताको रूप
सत्यलाई असत्यताको पर्दा लगाई दिन्छ
असत्यलाई सत्यताको चस्मा लगाई दिन्छ
कस्तो रहेछ सुन्दरताको परिभाषा
झुटलाई यथार्थको विश्लेषण गरिदिन्छ
यथार्थलाई झुटको टोकरीमा थन्काई दिन्छ
सुन्दरता सत्य छ शाश्वत छ
तर बिचारले नजर परिवर्तन गरी दिन्छ
धन र पैसाले बोल्ने भाखा बदलिदिन्छ
सिङ्गो समाजलाई विभाजित गरिदिन्छ
राष्ट्रलाई खण्डित गरिदिन्छ
पलाएका आशा र भरोसालाई तोडी दिन्छ
जन्मिएका खुसी र खुसीयालीलाई मोडी दिन्छ
कस्तो रहेछ यो सुन्दरताको रसायन
दुई अनजान मुटुलाई एउटैमा जोडिदिन्छ !!
बिनोद पोख्रेल
हाल: टेक्सास
डिसेम्बर १८,२०२०
प्रतिक्रिया