नेपाली भाषा-साहित्य,र संस्कृतिको विश्वव्यापीकरण अभियानमा एनआरएन र प्रज्ञाप्रतिष्ठान

सुरेन उप्रेती अटवा, २०७७ पुष २ गते २२:१३ मा प्रकाशित

सुरेन उप्रेती,

बिसं २०७०सालमा नेपाल प्रज्ञाप्रतिष्ठान र गैरआवासीय नेपाली सँघका बिचमा सहकार्य गर्ने सम्झौता भयो।सो सम्झौता नेपाली-भाषा र साहित्यलाई विश्वव्यापीकरणमा दुबै संस्थाहरुले सहकार्य गर्ने प्रतिबद्धता थियो।गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष साहित्यकार जीवा लामिछाने,अध्यक्ष शेष घले, महासचिब बद्री केसी सल्लाहकार रहनु भएको थियो एउटा समिति बनेको थियो।सो समितिको अध्यक्ष बिश्वदिप तिगेला र सदस्यहरुमा बिभिन्न देशका प्रतिनिधिहरु रहनु भएको थियो।नेपाल प्रज्ञाप्रतिष्ठाका पूर्वकुलपति बैरागी काँइला, कुलपति गंगाप्रसाद उप्रेती, एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो सहितले, यो सहकार्यले नेपाली भाषा र साहित्यलाई विश्वव्यापीकरण गर्ने कुरामा बिश्वास व्यक्त गर्नु भएको थियो।यी दुई संस्थाहरुको संयुक्त प्रयाशमा २०७२ सालमा “नेपाली डायस्पोराका कविता” नामक कविता संग्रह प्रकाशन भएको थियो।त्यस्तै गरी २०७६ सालमा “अन्तर्देशीय नेपाली कथाहरु” कथा सङ्ग्रह, सहकार्यमा सम्पादन र प्रकाशन भयो।

गैरआवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति भाषा-साहित्य उपसमितिले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन २०१९ मा अमेरिकाको बोष्टन शहरमा गर्यो।त्यस सम्मेलनमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति माननिय गंगाप्रसाद उप्रेती र प्राज्ञसभा सदस्य एवम् काव्यविभाग प्रमुख प्रा डा हेमनाथ पौडेलको आतिथ्यले दुई संस्थाको सम्बन्धलाई अझ प्रगाढ बनाउँने काम गर्यो।गैरआवासीय संघले नेपाली साहित्यकारहरुका कृतिहरुलाई बिभिन्न भाषामा अनुवाद गर्दै विश्वव्यापिकरण गर्ने कार्य गरीनै रहेकोछ।गैरआवासीय नेपालीहरुले नेपाली भाषा साहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्न अघोषित नेपाली साहित्यिक राजदूतको भूमिका निर्वाह गर्दै आएका छन्।कुनै प्राप्तिको अपेक्षा नगरी नितान्त मातृभूमि र मातृभाषाको सेवा गर्ने नेपालीहरुको ठूलो संख्या प्रवाशमा रहेको छ ।उनीहरु सशारिर नेपालबाहिर रहेपनि मनमष्तिष्कमा नेपाल बोकेर हिँडेकाछन।सन्सार भरी नै सानो नेपाल लिएर,नेपालको पहिचान बढाएका छन्।
भर्खरै मात्र नेपाल प्रज्ञाप्रतिष्ठानले पैँतिसौँ प्राज्ञसभा सम्पन्न गर्यो।उक्त प्राज्ञसभामा नेपाल सरकारका संस्कृति,पर्यटन,तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक माननिय योगेश भट्टराईले नेपाली भाषा-साहित्य र संस्कृतिमाथि अतिक्रमण बढ्दै गएको कुरा औल्याउनु भएको छ। सबै एक जुट भएर नेपाली भाषा-साहित्य र संस्कृतिको विश्वव्यापीकरणमा जुट्नका लागि बिद्वत बर्गलाई आव्हान गर्नु भएको छ।यही प्राज्ञसभाबाट नेपाली भाषा र साहित्यमा सेवारत रहनुहुने बिभिन्न भाषा र साहित्यसेवीहरुलाई सम्मान गर्ने काम गरेकोछ।नेपालभित्र रहेका बिभिन्न भाषामा योगदान गर्नु हुनेहरुको सम्मानले नेपाली साहित्यको बगैँचालाई अझ सुन्दर बनाउने काम गरेको छ।यस्तै गरी प्रवासमा रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली तथा बिदेशी व्यक्तिहरुको पहिचान गरी पुरस्कृत गर्नाले नेपाल प्रज्ञाप्रतिष्ठानको उच्च मूल्याङ्कन भएको छ।भारतको आसाम राज्यमा बसेर नेपाली भाषा र साहित्यमा निरन्तर सेवागर्नु हुने बरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई “भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार”ले सम्मानित गरेको छ।यो पुरस्कार दुईलाख राशीको रहेको छ। आज भन्दा करिव ५६ बर्ष अगाडि प्रकशित ‘बसाईँ’उपन्यास नेपालको पाठ्यक्रममा नै समावेश भएको चर्चित उपन्यास हो।आफ्नो थातथलो छोडेर मुङ्लान भासिन विवस नेपालीहरुको कथा व्यथालाई समेटेर लेखिएको हो यो उपन्यास । यस उपन्यासले जगदम्बा पुरस्कार प्राप्त गरेको थियो।यो बिभिन्न भाषामा अनुबाद भएको छ। त्यस्तै गरी दोबाटो,ब्रम्हपुत्रका छेउछाउ,अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, जस्ता चर्चित पुस्तकहरु लेखेर नेपाली भाषा-साहित्यलाई उचाईमा पुर्याउन प्रयासरत साहित्यकार हुनुहुन्छ।

त्यस्तै गरी “नेपाल प्रज्ञा अनुवाद पुरस्कार”बाट सम्मानित अर्का व्यक्तीको नाम हो श्री कृष्णप्रकाश श्रेष्ठ।करिव साठी बर्ष देखि रुषको मास्कोमा बस्तै आउनु भएका साहित्यकार श्रेष्ठले सन १९६३ देखि रेडियो मास्कोबाट नेपाली प्रसारणको शुरु गर्नु भएको थियो।कविता, नाटक,नियात्रा, लेख आदिमा कलम चलाउनु हुने श्रेष्ठले नेपाली भाषाबाट रुसी भाषामा भानुभक्त आचार्यको कविता संग्रह, देवकोटाका मुनामदन र सुनको विहान त्यस्तै गरी उत्तम कुँवर, बिष्णुबहादुर सिँह ,आनन्द अरुण, नेपाल परिचय हिरण्यलाल श्रेष्ठ, र बिभिन्न पत्रपत्रिकाहरु अनुवाद गर्नु भएको छ।त्यस्तै रसियन भाषाबाट नेपाली भाषामा पनि डेढ दर्जन भन्दा बढी अनुवाद गर्नु भएको छ।मेक्सिम गोर्गी, पुश्किन ,मिनाएभ, राशुल ,हाम्जातोभ, शोलोखोभ,आदिका कृतिहरुलाई अनुबाद गर्नु भएको छ। श्रेष्ठले नेपाली र रसियन भाषामा गरी झण्डै दुई दर्जन पुस्तकहरु लेख्नु भएको छ।ती पुस्तकहरुले नेपाली भाषा-साहित्य र संस्कृतिलाई बिश्वव्यापीकरणमा ठुलो भूमिका खेलेका छन्।त्यस्तै नेपाली भाषा र साहित्यलाई उचाईमा पुर्याउन योगदान पुर्याउने विदेशीहरु मध्यबाट “‘नेपाल प्रज्ञालङ्कार”ले चीनका प्राध्यापक हङवेईलाई सम्मान गर्ने निर्णयले बिश्वमा नेपाली भाषा र साहित्यको पहिचान बढ्दै गएको छ।

यी सम्मानले आफ्नो तन बिदेशमा राखेर मनलाई सँधै नेपाल, नेपाली भाषा,र साहित्यमा समर्पित हुनु हुने साहित्यकारहरुलाई सम्मानित गरेकोछ।कुनै आशा,अपेक्षा रहित निरन्तर सेवामा लागि रहुनु हुने साहित्यकारहरुलाई कतै न कतै योगदानको मूल्याङकन भइ रहेको हुन्छ भन्ने बिश्वास जन्माएको छ।गीतामा कृष्णजीले भने झैं “कर्म गर फलको आशा नगर”को पालना गर्ने साहित्यकार श्रर्जकहरुले आफैँ पुरस्कृत भएको महशुष गर्नु भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठान र पुरस्कार र पदकबाट सम्मानित सबै साहित्यकारहरुलाई हार्दिक बधाई तथा नमन छ।

 

प्रतिक्रिया