उखु किसानको आन्दोलनबारे लोक दलको प्रेस विज्ञप्ति

इनेप्लिज २०७७ मंसिर २९ गते १०:५४ मा प्रकाशित

उखु किसानहरुको करोडौं रुपैयाँ चिनी मिलका मालिकहरुले बेइमानी गर्न खोज्दा त्यस बिरुद्दमा उखु किसानहरुले गरिरहेको राजधानी केन्द्रित आन्दोलनमा लोक दलको पूर्र्ण समर्थन रहेको छ र पिछडावर्ग समुदायका उखु किसानहरुको बाँकी रकम तत्काल अबिलम्ब भुक्तानी दिलाउन लोक दल सरकारसँग माग गर्दछ।चिनी मिलले उखु किसानहरुको भुक्तानी दिन नमान्दा चिनी मिल संचालकहरुको अन्य सम्पतिबाट असुल उपर गरी उखु किसानहरुलाई तत्काल भुक्तानी दिलाउनुको विकल्प नरहेकाले यस तर्फ कदम चाल्न लोक दल सरकारसँग आग्रह समेत गर्दछ।

गरिब उखु किसानहरुको पसिनाको कमाई अरबपति चिनी मिलका मालिकहरुले बेईमानी गर्दा पनि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बेईमान चिनी मिल मालिकको पक्षमा उभिनु लज्जाको विषय रहेको छ।केही दिन अगाडी संसदीय समितिको बैठकमा उद्योग मन्त्री लेखराज भट्टले चिनी मिल मालिकको पक्षमा बोल्दै उद्योगीलाई कारवाही गर्न नसक्ने बताएका थिए।तसर्थ,उखु किसानहरु सँग उद्योग मन्त्रालयले भुक्तानी दिलाउने बारे गरेको पटक–पटकको समझौता नक्कली रहेको प्रमाणित हुन्छ।उखु किसानहरुको भुक्तानी दिलाउन नसक्ने र बेईमान चिनी उद्योगीको पक्षमा वकालत गर्ने उद्योग मन्त्री भट्ट पनि उत्तिकै जिम्मेवार रहेकोले उद्योग मन्त्री भट्टलाई पनि कारवाहीको दायरमा ल्याउनुपर्ने ठहर लोक दलको रहेको छ।

त्यस्तै, प्रदेश नं. २ अन्तर्गत रहेका कृषि, उद्योग, व्यापारलाई सहजीकरण गर्न नसक्दा प्रदेश सरकार पनि उत्तिकै दोषी रहेका छन्।प्रदेश सरकारले उखु किसानको भुक्तानीको विषयमा केही गर्न नसक्नु भनेको प्रदेश नं. २ का सरकारले दहीच्यूरे व्यवहार प्रदर्शन गरेको छ।प्रदेश २ का अधिकांश उखु किसान आन्दोलनमा रहँदा पनि प्रदेश २ का सरकार आफ्नो जिम्मेवारी बोध नगर्दा सबै केन्द्र सरकारकै टाउकोमा थुपारेर प्रदेश सरकार उम्किन खोजिरहेका छन्।
अतः चिनी मिलका मालिकहरुले उखु किसानको भुक्तानी समयमा नदिँदा उखु किसानहरु घरवार विहिन बनेका छन् भने ऋणमा समेत डुबेकाले क्षतिपूर्ति सहित अबिलम्ब भुक्तानी दिलाई सरकारले उखु किसानहरुलाई स–सम्मान घर पठाउन र उखु किसानहरु सँग ठगी गरेका चिनी मिलका संचालकहरुलाई ठगी मुद्दामा कारवाही गर्न लोक दल सरकारसँग माग गर्दछ।

जय समाज

कौशल कुमार सिंह
अध्यक्ष

प्रतिक्रिया