शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:०९
वासिङटन डिसी 17:24

फाइजर र वायोएनटेकको कोरोना विरुद्धको भ्याक्सिन आपतकालिन प्रयोगका लागि स्वीकृति

इनेप्लिज २०७७ मंसिर २७ गते ३:०५ मा प्रकाशित

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)ले फाइजर र वायोएनटेक कम्पनीद्वारा निर्मित कोरोना विरुद्धको भ्याक्सिन आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ । एफडिएले शुक्रवार राती अवेर गरेर सो अनुमति दिएको हो ।

यसअघि शुक्रवार नै अमेरिकी खाद्य तथा औषधि प्रशासनका कमिश्नर डा. स्टेफन हनलाई ह्वाइट हाउसले कोरोना विरुद्धको भ्याक्सिन आज नै स्वीकृत गर्न वा पदवाट राजीनामा दिन निर्देशन दिएको थियो । ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले कमिश्नर हनलाई सो धम्की दिएका हुन् ।

ह्वाइट हाउसको यो चेतावनी सम्वन्धी समाचार सीएनएनले सवैभन्दा पहिला सार्वजनिक गरेको थियो । फाइजर कम्पनीले जर्मन कम्पनी वायोएनटेकसंग मिलेर वनाएको भ्याक्सिनलाई यसअघि नै वेलायत, क्यानडा, लगायत अन्य केही मुलुकले स्वीकृत गरिसकेका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए)को सल्लाहकार प्यानलले विहीवारनै फाइजर र वायोएनटेकद्वारा संयुक्त रुपमा निर्मित कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिने निर्णय गरेको थियो । विहीवार भएको मतदानमा पक्षमा १७ मत र विपक्षमा ४ मत परेका थिए । मतदानमा एक सल्लाहकार भने तटस्थ वसेका थिए ।

क्यानडा, वेलायत लगायतका तीन देशले स्वीकृत गरिसकेको खोपलाई एफडिएले अन्तिम मान्यता दिएमा अमेरिकामा स्वीकृत भएको यो पहिलो खोप हुनेछ । अमेरिकामा मोर्डना, जोनसन एण्ड जोनसन लगायतका कम्पनीले पनि कोरोना विरुद्धको खोप निर्माण गरिरहेका छन् ।

यसअगाडि नै एफडीएले फाइजरको भ्याक्सिनमा सुरक्षा सम्बन्धि कुनै जोखिम नरहेको विश्लेषण सार्वजनिक गरेको थियो तर भ्याक्सिन लिएपछि सामान्य टाउको दुख्ने लगायतका साइड इफेक्ट भने हुनसक्ने जनाइएको छ ।

एफडिएले ९५ प्रतिशत प्रभावकारी भनेको भ्याक्सिनका दुईवटा डोजहरु २१ दिनको अन्तरमा दिनुपर्ने छ र एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

कोरोना संक्रमणका कारण संसारका सवैभन्दा वढी मानिसहरु मरेको अमेरिकाले अमेरिकाले फाइजरका एकसय मिलियन डोजहरु बुक गरेको छ, जुन ५० मिलियन जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ ।

प्रतिक्रिया