प्रा.डा.खगेन्द्र लुइटेलमाथिको आरोप व्यक्तिगत रिसइबीको पिलो मात्र हो

नारायण अधिकारी २०७७ मंसिर १६ गते २३:२८ मा प्रकाशित

यसै शीर्षकबाट मैले आफ्नो कुरा अगाडि बढाउन चाहें । डा.खगेन्द्र लुइटेलमाथिको बौद्धिक चोरीको आरोप व्यक्तिगत रिसइबी र कुण्ठाको पिलो मात्र हो भन्ने कुरा यस आरोपको पृष्ठभूमिलाई केलाएर हेर्दा थाहा पाउन सकिन्छ । “लोकसंवाद” नाम गरेको कहिल्यै कतै नाम नसुनिएको एउटा अनलाइनमार्फत बेनामे रूपमा प्रवेश गराइएको यो निराधार आरोपका पछाडि विगतमा त्रिविविमा विद्यार्थीकालदेखि नै सहपाठी र विभिन्न व्यक्तिहरूसँगको प्रतिस्पर्र्धा, बेमेल र जीत हारका लामा शृङ्खलाहरूको एउटा विद्रूप कथा मात्र हो भने वर्तमानमा नेपाली भाषा बचाउ आन्दोलनमा डा.खगेन्द्र लुइटेलका विपक्षीहरूले खडा गरेको भ्रमको खेती मात्र हो डा.खगेन्द्र लुइटेलमाथिको आरोप । यस आरोपका पछाडि थुप्रै कथा र पात्रहरू जोडिएर आएका छन् । त्यस्ता आरोपलाई नेपथ्यमा बसेर बाहिर छर्ने काममा रमेश भट्टराई, सुधा त्रिपाठीलगायत केही प्राज्ञ, प्रबुद्ध वर्ग पनि लागिपरेका छन् । यो आरोपमा पर्दा बाहिर देखिने पात्रलाई पर्दाभित्र रहने पात्रहरूले सञ्चालन गरेका मात्र हुन् ।

एउटा प्रसङ्गलाई हेरौं । हाल अमेरिका निवासी अच्युत पराजुलीले जनआस्था पत्रिकामा लेखेका छन्ः “त्यसबेला नेपालीका हेडगुरुले लुइटेलको नम्बर घटाइदिएर अर्कालाई फुलमार्कभन्दा पनि बढी नम्बर दिएछन् । त्यहीँ पढाउने एकजना गुरुमालाई बिहे गर्ने शर्तमा ती विद्यार्थीलाई यो अतिरिक्त बोनस दिइएको रहेछ । लुइँटेलले चैँ बिहे गर्न नमानेका कारणले नम्बर घटाइएको रहेछ । यो थाहा पाएर नेविसंघ र अखिलका साथीहरू मिलेर ती हेडगुरुकै अफिसबाट ती कागजपत्र खोसी फोटोकपी गरेर हामीलाई बाँडे । त्यो कागज लिएर ती हेडगुरुसँग छलफल गर्न गएका थियौँ । केही साथीले रिस थाम्न नसकेर उनीमाथि हातपात गर्न थाले । हामीले त्यहाँबाट तिनलाई भगाएको हो । त्यसपछि ती हेडगुरु कीर्तिपुर आउन सकेनन् र एक वर्षको बिदामा बसे । यो कुरा विश्वविद्यालयको रेकर्डमा पनि होला । त्यो फोटोकपी मैले आजसम्म पनि जतन गरेर राखेको छु ।”

दुखसाथ भन्नुपर्दा माथि उल्लेख भएका हेडगुरु नेपाली भाषा साहित्यमा विशिष्ट स्थान बनाउनुभएका डा.वासुदेव त्रिपाठी हुनुहुन्छ । डा.लुइटेलमाथिको यो आरोप काण्डले लहरो तान्दा पहरो थर्किएझैं प्राज्ञिक क्षेत्रमा शीर्षस्थ स्थानमा उभिएका व्यक्तित्वहरूबाट ससाना स्वार्थका लागि आफ्नो अधिकारको दुरुपयोग कतिसम्म गर्दारहेछन् भन्ने कुरा पुष्टि हुन्छ । डा.खगेन्द्र लुइटेलमाथिको यो आरोपमा अहिले डा.वासुदेव त्रिपाठीको संलग्नता नहुन पनि सक्छ, कसैले प्रयोग गरेको भए बेग्लै कुरा । तर यसको पृष्ठभूमिकालमा यस्ता थुप्रै उपकथाहरूमध्ये यो घटना पनि एउटा प्रतिनिधि घटनाको रूपमा जोडिएर आएको देखिन्छ । अब माथि अच्युत पराजुलीले संकेत गर्नुभएको बढी नम्बर पाउने व्यक्ति हालका प्रा.डा.रमेश भट्टराई थिए भने त्यहीँ पढाउने प्रस्तावित “दुलही” गुरुमा थिइन् हालकी रमेश भट्टराईकी पत्नी प्रा.डा.सुधा त्रिपाठी । सिधा वाक्यमा भन्नुपर्दा खगेन्द्र लुइटेललाई सुधा त्रिपाठीसँग विवाह गर्ने प्रस्ताव राखिएको थियो तर उहाँ मान्नुभएन ।

त्यसपछि सुधा त्रिपाठीसँग विवाह गर्ने शर्तमा खगेन्द्र लुइटेलको नम्बर काटी रमेश भट्टराईलाई थपिदिइएको थियो । यो विश्वविद्यालयका जोकोहीलाई थाहा भएको विषय हो । यसको प्रमाण चाहिएमा अच्युत पराजुलीले दिने भनेर जनआस्था पत्रिकामा उल्लेख गरेको उद्धरण माथि मैले दिइसकेको छु । “अंक थपघट”को यो घटना र तथ्यका आधारमा सुधा त्रिपाठीको बारेमा यति अनुमान गर्न सकिन्छ कि “मन परेको केटो जेठाजु प¥यो” भने जस्तो आफूसँग विवाह गर्न खगेन्द्र लुइटेलले नमानेको वा अस्वीकार गरेको कुरा मस्तिष्कको अन्तरकुन्तरमा कुण्ठा बनेर लुकेको अथवा अपमानको घाउ बल्झिएर सुधा त्रिपाठीलगायत रमेश भट्टराईहरू डा.लुइटेलमाथि प्रायोजित रूपमा अनावश्यक आरोप लगाई चरित्रहत्या गर्ने दुष्कार्यमा लागेका देखिन्छन् ।

विश्वविद्यालय जस्तो पवित्र क्षेत्रमा यस्तो घृणित खेल पनि हुँदोरहेछ ! मानिलिउँ, विभागीय प्रमुखबाट खोसेर लिएका ती अंक घटबढसम्बन्धी कागजपत्र अखिल, नेविसंघका कुनै पात्रहरूसँग अहिले पनि सुरक्षित होलान्, ती बाहिर आए भने के हुन्छ ? यस्तै वा अन्य कुनै प्रसङ्गगमा अच्युत पराजुलीले सुरक्षित राखेको उक्त फोटोकपी बाहिर ल्याइदिए भने के होला ? विश्वविद्यालयका तत्कालीन प्रमुख, नेपाली विभाग र अहिले पर्दापछाडि बसेर खेल खेल्ने प्रा.डा.रमेश भट्टराई र सुधा त्रिपाठीहरूको के इज्जत रहन्छ ? यी प्रमाण अहिलेसम्म बाहिर नल्याउनु डा.लुइटेलको धैर्यशीलतालाई सम्मान गर्नैपर्छ ।

डा.लुइटेलमाथि बौद्धिक चोरीको आरोप लगाउनुको कारण सत्यमा आधारित नभएर तत्कालीन समयदेखि हालसम्म व्यक्तिगत रिसइबी र व्यक्तित्व टकराव नै हो । कुनै कार्यको जस लिने र दिने, जस पाउने र नपाउने आदि अवस्थाको परिणाम हो । विगतमा भएको नेपाली भाषा आन्दोलनमा “मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल”लाई काठमाडौं जिल्ला कार्यालयमा विधिवत् दर्ता गरी एउटा अभियानको रूपमा नै डा.लुइटेलले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउनुभएको थियो र यो अभियानको सफलतासँगै यसको श्रेयको भागिदार हुन नसक्नुको परिणाम एकाडेमीभित्र र बाहिरका केही व्यक्तिहरूको चलखेलका रूपमा यो बौद्धिक चोरीको आरोप लगाइएको देखिन्छ ।

प्रायोजित रूपमा लगाइएको यस आरोपमा पर्दापछाडिबाट एकाडेमीका केही व्यक्तिहरूले काम गरेको सहजै अनुमान लगाउन सकिन्छ । जस्तो कि– एकाडेमीका वर्तमान कुलपति गंगा उप्रेतीज्यूले भाषा बचाऊ आन्दोलनमा आफूभन्दा कनिष्ठहरूबाट बिगारिएको भाषा र शब्दकोशलाई आफूले सच्याएको भनेर एभरेस्ट नेपालसँगको एउटा अन्तर्वार्तामा झुठो बयान दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा सोही मिडियामार्फत प्रा.डा.लुइटेलले भाषा आन्दोलनको बारेमा व्याख्या गर्दा “लुगा लगाउँदैमा लाज छोपिन्न” भनेर कडा जबाफ दिनुभएको थियो । डा.लुइटेलको यही बोलीले त्यस्ता व्यक्तिहरूको मर्ममा साँचो प्रहार भएको हो । यो घटना पनि डा.लुइटेलमाथि लगाइएको आरोपको एउटा उपकथा हो, घटनाको अतिरञ्जना मात्र हो ।

दैवकी देवीका नाममा उही अनलाइनबाट सार्वजनिक गरिएको “म जस्ता पीडितहरू अरू कति होलान् ?” भन्ने शीर्षकबाट डा.लुइटेलमाथि निराधार आरोप लगाइएको थियो । यहाँनेर उल्लेख गर्नैपर्ने एउटा तथ्य के हो भने डा.लुइटेलमाथि आरोप लगाउने पात्र दैवकी देवी नाताले एकाडेमीका उनै कुलपतिकी सालीकी छोरी हुन् । यति कुरा खोलेपछि घटनाको तथ्यलाई केलाउन निकै सजिलो हुन्छ । यहाँ दैवकी देवी पर्दाबाहिरकी एक यस्ती पात्र हुन् जसको माध्यमबाट भारतको गौहाटी विश्वविद्यालयमा अहिले अस्तित्वमै नरहेको एम.ए. नेपाली कार्यक्रमलाई जोडेर डा.लुइटेलमाथि निराधार आरोप लगाइएको छ भने त्यस्ता आरोपलाई नेपथ्यमा बसेर बाहिर छर्ने काममा गंगा उप्रेतीकै संलग्नता रहेको कुरासम्बन्धी विस्तृत र खोजमूलक विवरण “बिआरटीनेपालडटकम”ले यसभन्दा अगाडि नै प्रकाशित गरिसकेको छ । अत्यधिक पुस्तक र लेखहरू लेखेका डा.लुइटेल तथा लीला लुइटेललाई अरूको एउटा लेख आफ्ना नाममा छाप्नुपर्ने जरुरत नभएको कुरा जोसुकैले पनि बुझेका छन् ।

माथि उल्लेख भएअनुसार रमेश भट्टराईको डा.लुइटेलसँग विद्यार्थी जीवनदेखिकै लामो व्यक्तिगत प्रतिस्पर्र्धा र यसले सिर्जना गरेको “इगो”को परिणाम हो अहिलेको यो विवाद । एकाडेमीमा कार्यरत केही विशिष्ट व्यक्तिहरूले यस विवादमा सामेल भएर अनावश्यक तेल थप्ने काम गरेका छन् । नेपाली भाषाको मानक स्वरूपलाई बिगारेर जब एकाडेमीले अमानक वर्णविन्यासमा आधारित शब्दकोश प्रकाशन गरी नेपाली भाषामाथि जाइकटक गरेको थियो, त्यसका विरुद्धमा डा.खगेन्द्र लुइटेलले तत्कालै झिकिकटक गर्नुभएको थियो । यो झिकिकटक आन्दोलनले देशभित्र र बाहिर नेपाली भाषाप्रेमीहरूलाई तत्कालै कथित नयाँ वर्णविन्यासको शब्दकोशको खारेजीका लागि आन्दोलनमा उत्रिने वातावरण सिर्जना ग¥यो । एकाडेमीलगायत देशमा शिक्षा मन्त्रालय, शिक्षामन्त्रीसमेत यस विवादमा तानिए र एउटा घनीभूत भाषा अन्दोलनले अन्तमा कथित नयाँ वर्णविन्यासमा अधारित शब्दकोशलाई खारेज गरेको थियो । यही भाषा आन्दोलनले एकाडेमी र त्यसमा आसीन मठाधीशहरू पराजित भएका थिए । पराजित माानसिकताले के खोज्छ ? जहिले पनि प्रतिशोधको बाटो खोज्छ । समयको यही प्रतीक्षामा रहेका एकाडेमीका मठाधीशहरूले पनि “अवसर यही हो” भनेर एउटा अनलाइनमार्फत डा.लुइटेलमाथि बौद्धिक चोरीको आरोप छाप्न लगाई त्यसको छानबिन गर्न भनेर रातारात तीन सदस्यीय कथित छानबिन समिति गठन गरेका छन् । समितिमा डा.लुइटेलका प्रतिस्पर्धीहरू, ईष्र्याभाव राख्नेहरू नै सदस्य बनाइएका छन् । ती सार्वकालीन रूपमा डा.लुइटेलका प्रतिस्पर्धी तर सधैं पछि परेका पात्रहरू हुन् जसलाई डा.लुइटेलको विपक्षमा निर्णय गराउनैका लागि छनोट गरिएको हो ।

एउटा अनलाइनमा अप्रमाणित रूपमा छपाइएको समाचारमा टेकेर दिनेशराज पन्तको संयोजकत्वमा हेमनाथ पौडेल र गोपीन्द्र पौडेलसमेतको तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् । छानबिन नै गर्नुपर्ने भए यसअगाडि नै नेपालकै आधिकारिक पत्रिकामा हेमनाथ पौडेललगायतका कतिपय प्राज्ञहरू चोरीमा मुछिएको कुरामा एकाडेमी चुप लाग्नु र अहिले अनलाइनमा समाचार छपाएर रातारात कथित छानबिन समिति बनाउनाले यसमा एकाडेमीका कुलपतिको समेत संलग्नता रहेको स्पष्ट हुन्छ । प्रज्ञाप्रतिष्ठानजस्तो संस्थालाई व्यक्तिको चरित्रहत्याका लागि दुरुपयोग गरिनु निन्दनीय काम हो ।
बुझ्दै जाँदा अहिले सक्रिय देखिने प्राज्ञ हेमनाथ पौडेल र त्यो अनलाइनका सम्पादक भूपराज खड्का पहिले एउटै पत्रिकामा प्रुफ हेर्थे भन्ने जानकारी पाइयो । अहिले लुइटेलका विरुद्ध गरिएको षड्यन्त्रमा ती प्राज्ञलगायत रमेश र सुधा आफैँले तयार पारेको झुटको पुलिन्दा बोकेर विभिन्न छापा र चल्तीका अनलाइनमा गएको तर कसैले पनि छाप्न नमानेको हुँदा कथित आरोप पैसा तिरेर प्रकाशित गर्न लगाएको बुझियो । यदि यो षड्यन्त्र नभए यस कार्यमा संलग्न हेमनाथलाई मेरो प्रश्न छ — यसअघि पनि एकाडेमीको बैठक बसेको समाचार रातारात तपाईंले राससमा पठाउनुभाको थियो ?

यसैबेला एउटा अनलाइनले एकाडेमीलाई छानबिन गर्ने अधिकारै नभएकाले छानबिन समिति बनाउनु उचित नभएको भनी एकाडेमीकै तीनजना पूर्व सदस्यसचिवहरूको अन्तर्वार्ता छापेको पनि पढियो । तर भोलिपल्टै यसको खण्डन गरिएको जानकारी आयो सम्बद्ध पत्रिकामा होइन हामी अमेरिकातिर बसेका साथीहरूको मेसेन्जरमा । के भएछ त भनेर बुझ्दा— यसले एकाडेमीमा भुइँचालो गएछ र रातारात ती पूर्व सदस्यसचिवकहाँ गएर आफूले बोलेको कुरा फिर्ता लिइदिन प्राज्ञहरूले रोइकराइ गर्दा उनीहरूले नमानेकाले आजीवन सदस्यको भत्ता रोकिदिनेसमेत धम्की दिएको कुरा सुनियो । अझ ध्रुवचन्द्र गौतमलाई त कुनै पुरस्कारको “अफर” गरेको कुरा पनि सुनिएको छ तर सनत रेग्मी आफ्नो अडानमा बस्नुभएछ, सलाम छ उनलाई ।

यदि एकाडेमीकै पदाधिकारी ती पूर्व सदस्यसचिवहरूका घरमा गएर कथित खण्डनमा सही गर्न नलगाएको भए र आफ्नो खण्डन छाप्नुपर्ने भए उनीहरूले नै उही अनलाइनमा नै पठाउँथे होलान् । तर त्यो खण्डन सम्बद्ध अनलाइनमा नभई यताका व्यक्तिहरूको पर्सनल इनबक्समा पठाउन हेमनाथहरूलाई किन त्यति हतारो भएको ? अनि दुई प्रकारको खण्डनमा सही गर्न लगाएर पूर्व सदस्यसचिवहरूको मर्यादामै आँच आउने काम किन गरेका ? यति गरिरहँदा आफ्नो धोती फुस्केको पनि थाहा नपाउने कठैबरी प्राज्ञहरू । अनि सार्वजनिक रूपमा आउनुअघि नै अनेकका इन्बक्समा पठाउँदा तिनको प्राज्ञिक मर्यादा कहाँ पुग्यो ? प्राज्ञ भनिएका व्यक्तिले यसरी गति छोडेर हिँड्न तिनलाई अलिकति पनि अप्ठेरो लागेन ? यदि यी कुरा झुटा हुन् भने तिनले सार्वजनिक रूपमा खण्डन गरून् ।

नेपाल एकाडेमी नेपाली भाषाको उन्नति प्रगतिको लागि कार्य गर्ने संस्था हो तर कुनै प्रशासनिक निकाय भने होइन । यसले कसैलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिँदैन र त्यस्तो प्रमाणपत्रको जाँच पनि गर्दैन । अर्को शब्दमा भन्दा, कसैको योग्यतामाथि छानबिन गर्ने अधिकार एकाडेमीको कार्यक्षेत्रभित्र पर्दैन । तसर्थ, आफ्नो काम कर्तव्य र अधिकारभित्र नपरेको विषयमा प्रवेश गरेर एकाडेमी झन् विवादको भुमरीमा फसेको छ । एकाडेमीको यस्तो क्रियाकलापले गलत नजिर स्थापित भएको र आफ्नै मान हानिसमेत गरेको छ । अझ भविष्यमा विद्यार्थी, प्राध्यापक एवं बुद्धिजीवी वर्गबाट प्रज्ञाप्रतिष्ठान खोज र अनुसन्धानको क्षेत्रमा अविश्वासको पात्र बन्नसक्छ । तसर्थ, प्रज्ञाप्रतिष्ठानले समयमै आफ्नो गल्ती सुधारोस् भन्ने सुझाव दिन चाहन्छु ।

चोरीको आरोप पनि बडो गज्जबको छ । डा.खगेन्द्रले आफ्नो सर्वाधिकार रहेको र प्रज्ञाप्रतिष्ठान प्रकाशक मात्र रहेको कृतिमा आफ्नै अर्को कुनै पुस्तकको कुरा सन्दर्भको रूपमा लिनुभयो भनेर यसलाई बौद्धिक चोरी भनिएको छ । मानौं, मैले मेरो दायाँ गोजीमा भएको रकम झिकेर बायाँ गोजीमा हालें भने त्यो चोरी हुन्छ ? लेखकका आफ्ना सबै कृति उसका बौद्धिक सम्पत्ति हुन् र तिनीहरूलाई अर्को पुस्तक वा कृतिका लागि सन्दर्भसामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । यो सामान्य प्राकृतिक सिद्धान्तको कुरा हो ।

अब एकछिन डा.लुइटेलको विद्यावारिधि शोधको कुरा गरौं । डा.लुइटेलका शोधनिर्देशक प्रा.मोहनराज शर्मा हुनुहुन्छ । अब जहाँसम्म विद्यावारिधि गर्दा लुइटेलले बौद्धिक चोरी गरे भन्ने कुरा छ, यो भ्रामक कुरा हो । डा.लुइटेलको शोधप्रबन्ध समितिमा प्रा.मोहनराज शर्मा शोधनिर्देशक एवं प्रा.डा.अभि सुवेदी र डा.गोविन्दराज भट्टराई शोधविशेषज्ञ तथा प्रा.डा.बल्लभमणि दाहाल र तुलसीप्रसाद भट्टराई बाह्यपरीक्षक हुनुहुन्छ; उहाँहरूका महत्त्वपूर्ण भनाइहरू यहाँ उद्धरण गरी राख्नु उपयुक्त देख्छु । डा.लुइटेलको शोधका बारेमा शोधनिर्देशक प्रा.मोहनराज शर्माकै शब्दमा “नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्ध” भनेर लेखिएको छ । एउटा शोधनिर्देशकले शोधनिर्देशन गरिरहँदा तयार भएको एउटा ठूलो ठेलीलाई एकपटक पढेर ठीक बेठीक भन्दैन । शोधकार्यका सिलसिलामा नै शोधनिर्देशक र शोधकर्ताबीच दर्जनौंपटक विषयवस्तुमा छलफल भएको हुन्छ । दर्जनौंपटक शोधमा उल्लिखित विषयहरूको शोधनिर्देशकले सूक्ष्म विश्लेषण गरेको हुन्छ । शोधनिर्देशकले अनेकौंपटक सुझाव र परिमार्जनका लागि निर्देशन गरेको हुन्छ । अनेकौंपटक थपघट, संशोधन एवं परिमार्जन गरेको हुन्छ । विना तथ्य र विना प्रमाणका आधारमा शोध सम्पन्न भयो भने शोधकर्ता मात्र होइन, शोधनिर्देशककै क्षमतामाथि पनि प्रश्न उठ्नसक्छ । तसर्थ, एउटा शोध तयार भइसकेपछि त्यो शोधकर्ताको बौद्धिक सम्पत्ति त हुन्छ नै तर त्यसको नैतिक जिम्मेवारी शोधनिर्देशकको पनि हुन्छ । प्रा. मोहनराज शर्माले यो कुरा बुझेका थिएनन् भनेर भन्नु गलत कुरा हुनजान्छ ।

डा.लुइटेलबारे प्रा.मोहनराज शर्मा

डा.लुइटेलको शोधबारे प्राध्यापक मोहनराज शर्माले मन्तव्यमा फरकफरक अनुच्छेदमा लेख्नुभएको छ :

– यो शोधकार्य साहित्यशास्त्र र भाषाविज्ञानको सङ्गमस्थलको रूपमा देखापरेको छ ।
– यो शोधप्रबन्ध नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्धका रूपमा देखिएको छ ।
– यसमा संरचनावाद र यसको आधारमा कविता विश्लेषण–व्याख्या गर्ने पद्धति नेपालीका लागि एकदमै नौलो तथा अज्ञात विषयवस्तु हो ।
– संरचनावादी सिद्धान्त र प्रयोगमा केन्द्रित प्रस्तुत कृति नेपालीमा ऐतिहासिक महत्त्व राख्ने प्रथम शोधग्रन्थ भएको कुरा निर्विवाद छ ।
– यसमा शोधनियम तथा शोधप्रबन्धका नियमहरूको पूर्ण पालना गरी अत्यन्त उपयोगी विषयवस्तुको आधिकारिक प्रतिपादन गरिएको छ । यसप्रकारका कृतिको अर्को जोडा नेपालीमा छैन ।

प्राध्यापक मोहनराज शर्माका यी भनाइबाट के बुझिन्छ भने नेपाली साहित्यमा संरचनावादी धारको नयाँ अध्याय नै डा.लुइटेलको शोधप्रबन्धबाट सुरु भएको कुरालाई पुष्टि गर्दछ भने यस खालको शोधग्रन्थलाई बौद्धिक चोरीको आरोप लगाउनु दुराशयपूर्ण प्रमाणित हुन्छ ।

डा.लुइटेलबारे प्रा.डा.बल्लभमणि दाहाल

डा.लुइटेलको संरचनावादको प्रयोगका बारेमा प्रा.डा.बल्लभमणि दाहालले पनि आफ्ना भनाइ राख्नुभएको छ । उहाँले लेख्नुभएको छ :

– खगेन्द्र लुइटेलको लेखन खोजपूर्ण, आधिकारिक, प्रामाणिक र निजी पहिचान दिने खालको छ ।
– संरचनावादमा सर्वप्रथम विद्यावारिधि गर्ने लुइटेल भाइले आजसम्म अरू कसैले नगरेको र गर्न नसकेको शोधकार्य गरी नेपाली अनुसन्धानका क्षेत्रमा नयाँ आयामको निर्माण गर्नुभएको छ ।
– नेपालीमा अहिलेसम्म अरू कसैले नगरेको वा हातै नहालेको क्षेत्रमा यति गहन शोधकार्य पहिलो पटक लुइटेल भाइले नै गर्नुभएको हो ।
– यहाँको त के कुरा, अन्य मुलुकमा पनि यति स्तरीय शोधकार्य यदाकदा मात्र हुने गर्छन् ।
– यो शोधग्रन्थ प्रभाववादी भासबाट उन्मुक्त रही वस्तुवादी ढङ्गले निर्माण गरिएको छ …।
– नेपालीमा साहित्यमा संरचनात्मक प्रणालीको विशद व्याख्या गरी सोहीअनुरूप साहित्यिक विधा (कविता)को मूल्याङ्कन गरिएको यो प्रथम र मौलिक कृति हो ।

नेपाली साहित्यमा यो शोधकार्य नौलो मात्र होइन “ब्रेक थु्र” नै हो ।

डा.बल्लभमणि दाहालका यी गहन भनाइबाट पनि माथि प्रा.मोहनराज शर्माका भनाइलाई नै पुष्टि गर्दछ । आफ्ना भनाइ राख्ने क्रममा डा.बल्लभमणि दाहाल अगाडि लेख्नुहुन्छ, “हामीकहाँ राम्रो कामलाई राम्रो हो भनी त्यसको प्रशंसा गर्ने र थप प्रोत्साहित गर्ने परिपाटी अझै बसेको छैन ।” डा.बल्लभमणि दाहालको यो भनाइले नै अहिले डा.लुइटेलमाथि लगाउन खोजिएको आरोपलाई उतिबेलै खण्डन गरिदिएको छ ।

डा.लुइटेलबारे प्रा.डा.अभि सुवेदी :

डा.लुइटेलको विषयमा प्रा.डा.अभि सुवेदीको ठह¥याइलाई पनि बिर्सनुहुँदैन । उहाँ भन्नुहुन्छ, “आधुनिक नेपाली समीक्षाको समस्या ऐतिहासिक र समकालीन दुवै छ । ऐतिहासिक समस्या भन्नाले यसको जग बसाउनेले पश्चिमी, खासगरी अंग्रेजी साहित्य समीक्षा र धारणालाई प्रयोग ग¥यो । समकालीन भन्नाले पाश्चात्य प्रभावको नयाँ आयामको पनि यस पद्धतिले केकस्तो भइराखेको छ भन्ने चिन्ता लिएर नयाँ कुरा भित्र्याउने क्रममा जागरुक भइरहनु प¥यो । यही कुरालाई डा.लुइटेलले पाश्चात्य मुलुकमा उत्पत्ति भएको तर अहिले सार्वभौमिक संरचनावादी पद्धति मात्र होइन, चिन्तनको पनि यस ग्रन्थमा निजत्वका साथ सार्थक प्रयोग गरेका छन् ।” प्रा.डा.अभि सुवेदी अगाडि भन्नुहुन्छ, “ ….. डा.खगेन्द्रप्रसाद लुइटेलले कविताको समीक्षा गर्दा संरचनावादी समालोचनाको प्रयोग सर्वप्रथम गरेका हुनाले त्यसको विभागीय पठनपाठनमा सीधै र सकारात्मक प्रभाव पर्छ भन्ने देखियो । ……… यो कृतिलाई मैले यस दिशाको एउटा महत्त्वपूर्ण, विशिष्ट र ऐतिहासिक साहित्य सिद्धान्त र समीक्षाको मानक ग्रन्थका रूपमा लिएको छु र यो शोधग्रन्थ यस क्षेत्रमा “ग्राउन्ड ब्रेक” गरेको ऐतिहासिक कृति हो भन्ने मेरो दृढ विश्वास छ ।”

डा.लुइटेलबारे डा.गोविन्दराज भट्टराई :

“सैद्धान्तिक पक्ष र प्रायोगिक विश्लेषण पक्ष दुवैको विस्तृत र व्यापक अध्ययन गरिएको यो शोधग्रन्थ छुट्टछुट्ै दुईवटा विद्यावारिधिस्तरीय मानक शोधग्रन्थको एकीकृत रूप बन्नपुगेको छ । यस अनुसन्धानमूलक ग्रन्थले नेपालीमा सर्वप्रथम संरचनावादी समालोचना पद्धतिको नौलो जग बसाएको छ र नेपाली समालोचनामा नयाँ मोड ल्याएको छ । भाषाविज्ञान र साहित्य सिद्धान्तको एकीकृत सैद्धान्तिक प्रस्तुति तथा त्यसको प्रयोगको अपूर्व मिलन गराइएको यस शोध ग्रन्थको विशेष ऐतिहासिक महत्त्व रहेको छ । यसमा पश्चिमी सिद्धान्तको व्याख्या मात्र नभएर आफ्नै नवनिर्माण भएकाले यो कृति नेपालीकै अतुलनीय, अद्वितीय र विशिष्ट गुणवत्तायुक्त शोधग्रन्थ हो ।… यो कुनै काल्पनिक वा प्रभाववादी चिन्तनभन्दा माथि उठेको कृति हो ।”

डा.लुइटेलबारे डा. तुलसीप्रसाद भट्टराई : 

यथार्थमा प्रस्तुत शोधग्रन्थ नेपाली अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण एवं विशिष्ट उपलब्धि हो ।… यसले नेपालीमा संरचनावादी समालोचनाको नयाँ पद्धति, परम्परा र तरिकाको थालनी र विकास गराएको छ । … यो शोधग्रन्थ कोशेढुङ्गो भएर छालतरङ्ग उठाउन सफल छ । यसमा शोधविधिको प्रयोग र भाषिक सम्प्रेषण अत्युत्तम छ । समग्रतः सान्दर्भिक र उपयुक्त विषयवस्तु अङ्गीकार गरिएको प्रस्तुत शोधग्रन्थ स्तरीय, मानक एवं अद्वितीय छ र यसमा खोट लगाउने ठाउँ कतै छैन ।

माथि उल्लिखित विद्वान्हरूका यस्ता विद्वतापूर्ण टिप्पणी पाउने गरी गरिएको शोधमा प्रयोग गरिएका फुटनोट र विद्वान्का नाम हटाई अनुच्छेदमा राखेर कसैले डा.लुइटेलमाथि झुठो आरोप लगाउनु आफैंमा दुराशायपूर्ण छ । तसर्थ, प्रस्ट रूपमा शोधप्रबन्ध समिति र बाह्यपरीक्षक समेतले नै नवीन विषयमाथि तयार गरिएको मानक शोधप्रबन्धलाई कसैले बौद्धिक चोरीको झुठो आरोपको प्रयास बिल्कुल निराधार छ ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल र डा.खगेन्द्र लुइटेलको नेपाली भाषा–अन्दोलनमा योगदानः

नेपाली भाषामाथि जब आक्रमण भयो, एउटा ठूलो बौद्धिक समूह यसको विरुद्धमा अगाडि आयो । त्यसमध्ये डा.लुइटेल अध्यक्ष रहेको “मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल”ले महत्त्वपूर्ण, निर्णायक र सफल आन्दोलनको नेतृत्व ग¥यो । यो कुनै संगठनभन्दा पनि एउटा अभियानको रूपमा अगाडि आयो । यो अभियानले प्रज्ञाप्रतिष्ठानले जारी गरेको गलत शब्दकोशविरुद्ध मात्र होइन, नेपाल सरकार शिक्षा मन्त्रालय, पाठयक्रम विकास केन्द्रसम्मलाई आफ्नो निर्णय सच्याउन बाध्य पा¥यो । यही आन्दोलनका कारण अन्त्यमा प्रज्ञाप्रतिष्ठान पनि अमानक वर्णविन्यासको निर्णयलाई फिर्ता लिएर छापिइसकेको कोश खारेज गर्न बाध्य भयो । यसको सूचना प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले हस्ताक्षर गरी डा.खगेन्द्र लुइटेललाई निर्णयसहितको पत्राचार गर्नुभएको छ ।

यसको लगत्तै त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागले पनि निर्णय गरी “अमानक नेपाली वर्णविन्यास खारेज गरिएको सम्बन्धमा” निर्णय गरी डा.खगेन्द्र लुइटेल, अध्यक्ष मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाललाई पत्राचार ग¥यो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयकै शिक्षाशास्त्र संकाय; नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्क्रम विकास केन्द्र सानोठिमी भक्तपुर र साझा प्रकाशनसमेतले डा.खगेन्द्र लुइटेललाई सम्बोधन गरी मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाललाई पत्राचार गरी लागु गर्न खोजिएको अमानक वर्णविन्यासअनुसारको शब्दकोश र विद्यालयस्तरमा पठनपाठनका लागि परिपत्र गरिएको निर्णयसमेत फिर्ता गरेको जानकारी गराएको थियो । यससम्बन्धी निर्णय र पत्राचारका कपीहरू डा.खगेन्द्र लुइटेलको पैरवी प्रकाशनबाट प्रकाशित “मानक नेपाली वर्णविन्यास (नियम, समस्या र समाधान) नामक पुस्तकमा समेत समावेश गरिएको छ ।

डा.खगेन्द्र लुइटेलमाथि यो आरोप किन ?

नेपाली भाषामाथि भएको यो हठात आक्रमणका विरुद्ध डा.लुइटेलले गरेको “झिकिकटक” आन्दोलनले तिलमिलाएको प्रज्ञाप्रतिष्ठानभित्र र बाहिरको त्यो तत्त्व प्रतिशोधको भावना बोकेर बसेको थियो । प्रतिशोधले प्रेरित त्यही तत्त्वले दैवकी देवीसमेतका पात्र उत्पत्ति गराएर डा.लुइटेलमाथि बौद्धिक चोरीको असफल आरोपको प्रयास गरेको मात्र हो । माथि उल्लेख गरिसकिएको छ, दैवकी देवी प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीकी सालीको छोरी हुन् । यही नाता प्रयोग गरी डा.लुइटेललाई बदनाम गराउन खोजियो । कुलपति गंगाप्रसाद उप्रेती पनि भाषा बिगार्ने काममा सक्रिय हुनुहुन्थ्यो भन्ने कुरा यहाँ उल्लेख गर्नुपर्दा ज्यादै दुख लाग्छ तर तितो यथार्थ भने त्यही नै हो ।

यसपछि डा.रमेश भट्टराईको कुरा पनि यहाँ उल्लेख गर्न जरुरी हुन्छ । रमेश भट्टराई पनि नेपाली भाषाको कथित नयाँ वर्णविन्यासको एक कारक पात्र हुनुहुन्थ्यो । उहाँ खगेन्द्र लुइटेलको सहपाठी एवं प्रतिस्पर्धी पनि हुनुहुन्छ । प्रतिस्पर्र्धाको त्यो दौडमा डा.लुइटेल सधैं अगाडि रहनुभयो । ठूला घटना हुन इतिहासका सानासाना घटनाहरूले काम गरिरहेको हुन्छ । यहाँ पनि त्यही भयो ।

के गरे रमेश भट्टराईले ?

रमेश भट्टराई विद्यालयस्तरीय नेपाली विषय समितिको अध्यक्ष रहँदा आफ्नी पत्नी सुधा त्रिपाठीका लेखहरू कक्षा ८, ९, १० र ११ का पाठ्यपुस्तकहरूमा पढ्न पढाउन बाध्य पारे । यसमा भट्टराईले आफ्नो पदको मर्यादालाई नाघी आफ्नी पत्नीका लेखहरू हरेक कक्षामा पार्नु आफैंमा लज्जास्पद थियो । यसका लागि उनले राजनीतिक पहुँचको प्रयोग गरी उतिबेलाका लेखकहरूमध्ये धनप्रसाद सुवेदीहरूलाई दबाब दिएको कुरा पनि बाहिर आइसकेको छ ।

पाठ्यपुस्तक तयार गर्दा सुरुमा विषय विज्ञ र विषय शिक्षकबीच छलफल हुन्छ र पाठ्यपुस्तकको मस्यौदा तयार हुन्छ । यो मस्यौदा समन्वय समितिमा जान्छ र त्यहाँबाट सुधार भएर आएपछि फेरि विषय समितिले पारित गर्दछ । यसपछि यो शिक्षामन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिमा जान्छ । यहाँबाट पारित भएपछि छपाइको कार्य हुन्छ । यसरी पाठ्यपुस्तक तयार गर्ने क्रममा रमेश भट्टराईले आफ्नी पत्नी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष रहेको र तपाईंहरूलाई जागिर खानुछैन ? सेवा आयोग पास गर्नु छैन ? भन्ने दबाब दिँदै धेरैजना लेखकहरूलाई प्रत्येक कक्षामा सुधा त्रिपाठीका लेख रचना राख्न दबाब दिएका थिए भन्ने कुरासमेत बाहिर आइसकेको छ । आफ्नाबारे प्रश्न उठेपछि त्यसमा प्रतिक्रिया दिनु उनीहरूको नैतिक जिम्मेवारी थियो । तर उनीहरू लुइटेलविरुद्ध अनेक अन्टसन्ट लेखी हामीलाई “इरिटेड” गराउनै व्यस्त भए । खैर यस्ता नैतिकता नभएका व्यक्तिको के कुरा गर्नु ?

आफू पदमा रहँदा पदकै दुरुपयोग गरेर मनपरी गर्ने डा.रमेश भट्टराई अहिले डा.लुइटेललाई आरोप लगाउने र भाषा आन्दोलनमा उनै डा.लुइटेलद्वारा पराजित भएको आफ्नो “इगो”लाई शान्त पार्ने काममा लाग्नुभएको स्पष्ट देखिन्छ ।

महाभारतको एउटा प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु । महाभारतको युद्ध के कारणले भएको थियो ? यसको एउटा मात्र कारण छैन । कर्णलाई गुरु द्रोणाचार्यले आफ्नो शिक्षालयमा बस्न अनुमति नदिएको पीडा थियो र अर्जुन सर्वश्रेष्ठ धनुर्धर भएको घोषणाको प्रतिशोध लिनु थियो । गुरु द्रोणाचार्यलाई गुरुकुलका आफ्ना मित्र राजा द्रुपदले एउटा गाई नदिएर गरेको अपमानको बदला लिनुथियो । राजा द्रुपदलाई द्रोणाचार्यले आफ्ना शिष्य पाण्डवहरूको प्रयोग गरी युद्धमा हराएर आफ्नो आधा राज्य खोसेर लिएपछि द्रोणाचार्यको बध गर्नका लागि यज्ञद्वारा धृष्टध्युम्न अग्निकुण्डबाट जन्माएका थिए । दुर्याेधनलाई द्रौपदीले इन्द्रप्रस्थको दरबारको पोखरीमा खस्दा हाँसेको र “अन्धाको छोरो पनि अन्धो” भनेर गरेको अपमानको बदला लिनुथियो । शकुनीलाई आफ्नी बहिनी गान्धारी अन्धा धृतराष्ट्रलाई मागी विवाह गराइएको अपमानको घाउ हस्तिनापुरसँग लिनुथियो । शिखण्डीलाई आफ्नो पूर्वजन्ममा भीष्मले पत्नीको रूपमा स्वीकार नगरेको प्रतिशोध लिनु थियो । यी अनेक अहंकार, प्रतिशोधको भावना, अपमानको हिसाबकिताबहरू जब एउटा समयमा एउटै बिन्दुमा आइपुगे, त्यसपछि महाभारतको युद्ध भएको थियो । यहाँ पनि डा.खगेन्द्र लुइटेललाई इतिहासदेखि वर्तमानसम्म अनेक प्रतिशोधका भावनाले बौद्धिक चोरीको आरोप लगाई कृत्रिम महाभारत खडा गरिएको हो, खडा गरिएको छ ।

डा.रमेश भट्टराई र सुधा त्रिपाठीको कुरा गर्दा उहाँहरूले डा.खगेन्द्र लुइटेलमाथि भौतिक आक्रमण गर्नेसम्मको काम गर्नुभएको तथ्य देखिन्छ । यसले डा.लुइटेलको व्यक्तिगत सुरक्षामा नै असर परेकोले उहाँले पहिले नै “शान्तिसुरक्षाको व्यवस्था गरिपाऊँ” भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरीसमेत हाल्नुभएको थियो । सो उजुरीको बोधार्थ सम्माननीय प्रधानमन्त्री, कुलपति, त्रिभुवन विश्वविद्यालय; गृह मन्त्रालय, नेपाल सरकार; शिक्षामन्त्री, सहकुलपतिको कार्यालय, त्रिवि र उपकुलपति, त्रिविलाई समेत दिइएको थियो । यसरी व्यक्तिगत रूपमै सुरक्षा चुनौतीसम्म आइपुग्ने गरी लाग्नुभएका डा.रमेश भट्टराईहरूले डा.लुइटेलमाथि बौद्धिक चोरीको आरोप लगाउनु कर्तव्य जालसाजीबाहेक केही होइन ।

जुनबेला यो आरोप बाहिर आयो, तत्कालै संसारभर छरिएर रहेका नेपालीहरूलाई डा.खगेन्द्र लुइटेलका विरुद्ध सामाजिक सञ्जालमा व्यक्तिगत मेसेज पठाउने र भ्रामक प्रचारप्रसार गराउने कार्यमा एउटा टोली नै लागेको छ । कतिपयले उनीहरूको नाम सार्वजनिक नै गरिसकेका छन् । यसरी मेसेन्जरमा सन्देश पठाउने काममा स्वयं डा.रमेश भट्टराई, सुधा त्रिपाठी, हेमनाथ पौडेल, कृष्ण घिमिरेलगायत सक्रिय रहेको कुरा बाहिरिइसकेको छ । आफूलाई त्रिवि नेपाली केन्द्रीय विभागको फलानो भन्दै परिचय दिएर भ्रम फैलाउने यस्तो काम अत्यन्तै निन्दनीय छ ।

डा.खगेन्द्र लुइटेललाई लगाइएका सबै आरोप कपोलकल्पित छन् । जस्तो डा.खगेन्द्र लुइटेललाई प्रहरीले हनुमान ढोकामा थुनामा राखी जरिमाना तिराइएको भन्नेसम्मका हुँदै नभएका आक्षेपहरू पनि लगाएका छन्, तर तथ्य र प्रमाण बुझ्दा त्यस्तो नभएको पाइयो । डा.लुइटेलले त्यस्तो आरोपहरूको पुष्टिका लागि चुनौती दिँदासमेत आरोपीहरूद्वारा प्रमाणका लागि एक शब्द बोल्न सकेका छैनन् । खोटा सिक्का खोटा नै रहे ।

यसबारे तथ्य प्रमाण बुझ्न साझा प्रकाशनमा सम्पर्क गर्दा सुधा त्रिपाठीको अर्काे चर्तीकला थाहा पाइयो । साझाका कर्मचारीले दिएको सूचनाअनुसार केही वर्षअघि सुधा त्रिपाठीले साझाका पूर्वमहाप्रबन्धक ममता झाको चरित्रहत्या यस्तै गलत तरिकाले गर्ने दुष्प्रयास गनुभएको रहेछ । यसका विरुद्ध ममता झाले अदालतमा उजुरी दिएको र अदालतले झुटो गालीबेइजती जालसाजीमा उहाँलाई त्यतिबेलै जरिवाना गराएको रहेछ । सुधा त्रिपाठी र रमेश भट्टराईको जोडी कुर्सी प्राप्तिका लागि जेसुकै गर्न तयार हुने र पद नपाएपछि अर्काको चरित्रहत्या गर्ने उहाँहरूको विशेषतै रहेछ । “नानीदेखि लागेको बानी कसले छोड्छ ?” भन्ने उक्तिअनुरूप अहिले कतै पनि पद नपाएर घरमै थन्किनु परेकाले लुइटेलको चरित्रहत्या गर्न थालेका रहेछन् । पहिला नाम उल्लेख गरेरै गरेको हुँदा जरिवाना तिर्न परेकाले अहिलेचाहिँ बेनामे ढङ्गले लुइटेलको चरित्रहत्या गर्न थालेका रहेछन् । सुधा त्रिपाठीले अदालतमा जरिवाना तिरेको फैसला साझाका कर्मचारीले मलाई पठाइदिएका छन् । यसैगरी उनीहरूले अर्कापूर्व महाप्रबन्धक डोलिन्द्र शर्मालाई पनि यस्तै घटिया हर्कत गरेर दुख दिएका रहेछन् । सुधा त्रिपाठी त्रिविविको रेक्टर भएका बेला क्याम्पसलाई सम्बन्धन दिँदालगायत विभिन्न सन्दर्भमा गरेका भ्रष्टाचार तथा रमेश भट्टराई साझा प्रकाशन र गोरखापत्र संस्थानको जिएम हुँदा गरेका भ्रष्टाचारसम्बन्धी समाचार त्यतिबेलै पढिएको हो ।

अर्को कुरा, डा.खगेन्द्र लुइटेल स्वयम्ले उहाँलाई लगाइएका आरोपका विषयमा लामो खण्डन जारी गरिसक्नुभएको पनि छ । उक्त खण्डनमा आरोप लगाइएका एकएक वाक्यहरूको तार्किक जबाफ दिइएको छ । यस्तो आरोप निराधार रहेको बुझ्नका लागि त्यो नै प्रशस्त छ । तथापि यस घटनाले डा.लुइटेलका विरोधीहरूको खास पहिचान भएको र त्यस्तो विरोधको कारण र नियतको पनि पर्दाफास भइसकेको छ । भाषा बचाऊ आन्दोलनका नेतृत्वकर्ता विशिष्ट विद्वान् प्रा.डा.लुइटेलमाथि लगाइएको आरोप आफैंमा खोटो छ । यससन्दर्भमा संसारभरका अनेक लेखक, विद्वान्वर्गले पनि यसमा आफ्नो धारणा राखिसकेका र राख्ने क्रम बढिरहेको छ ।

अन्त्यमा भन्न चाहन्छु, भाषा, साहित्य तथा शिक्षा क्षेत्रमा यस्तो घृणित खेल नखेलियोस् । नेपाली भाषाको पहिचानलाई मेटाउने दुष्प्रयास कसैले नगरोस् । समयसापेक्ष जनबोली, अभ्यास र समयको गतिसँगै भाषामा सुधार परिमार्जन हुँदै जान्छ । यसलाई सरकार, प्रज्ञाप्रतिष्ठान, विद्वान् र सबै नेपाली भाषीहरूले जोगाउने, संरक्षण र सम्बद्र्धन गर्नुपर्दछ । यस क्रममा आउने गलत प्रवृत्तिविरुद्ध लड्ने डा.खगेन्द्र लुइटेलजस्तै अन्य प्रतिनिधि पात्रहरू जन्मँदै जाऊन् ।

नारायण अधिकारी,ट्रस्टी सदस्य, अनेसास भर्जिनिया, अमेरिका ।

 

प्रतिक्रिया