शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:०६
वासिङटन डिसी 02:21

नेपाली पत्रकारितालाई धरासयी हुनवाट वचाउन विशेष कार्ययोजना आवश्यक

इञ्जा ग्लोवल मेडिया कन्फरेन्स सम्पन्न

इनेप्लिज २०७७ मंसिर १५ गते २२:०४ मा प्रकाशित

 

लुइभेल, केन्टकी । कोरोना महामारीका कारण संकटमा परेको नेपाली सञ्चार जगत र यसको समाधानका लागि छलफल गर्न नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)को आयोजनामा भएको ग्लोवल मेडिया कन्फरेन्स २०२० आगामी कार्यदिशाहरु तय गर्दै सम्पन्न भएको छ ।

विश्वभरका ९० भन्दा वढी नेपाली पत्रकारहरु सहभागी भएको कन्फरेन्सले नेपालको सञ्चार क्षेत्रमा भएको ३० अर्व भन्दा वढीको लगानीलाई सुरक्षित गर्न नेपाल सरकारले विशेष पहल लिनुपर्ने र यो व्यवसायसंग जोडिएका पत्रकारहरुको पेशागत सुरक्षाका लागि एउटा कार्ययोजना वनाउनु पर्ने निश्कर्ष निकालेको छ ।

कन्फरेन्सको उद्घाटन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार सम्व्द्ध पक्षहरुसंग कुराकानी गरेर सञ्चार जगतको समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहांले लोककल्याणकारी विज्ञापन अभिवृद्धि गर्ने देखि अन्य नीतिहरु अवलम्वन गर्ने जानकारी गराउनु भएको थियो । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष गोपाल वुढाथोकीले कोरोना महामारीको कारण अहिलेसम्ममा ३१ सय भन्दा वढी पत्रकारहरुले रोजगारी गुमाएको, ४ सय पत्रकारहरुलाई कोरोना संक्रमण भएको र ५ जना नेपाली पत्रकारहरुको कोरोना संक्रमणवाट निधन भएको जानकारी दिनुभयो ।

वरिष्ठ लोक गायक तथा अवैतनिक वाणिज्यदूत प्रेमराजा महतले ईन्जाले समाजका बुद्धिजिवी र पत्रकारहरुको एकै ठाउंमा जमघट गराएर असल काम गरेको बताउनु भयो ।

नेपालबाट कार्यक्रममा कार्यपत्र प्रस्तोता वरिष्ठ पत्रकार घमराज लुइटेलले आफ्नो लामो अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै कुल सञ्चारकर्मी मध्ये २० प्रतिशतले रोगजारी गुमाएको, अनिश्चितकालिन वेतलवी विदामा वस्न वाध्य वनाइएको, तलवमा कटौति गरिएको लामो समयसम्म तलव सुविधा प्रदान नगरेको तथ्यांकहरु प्रस्तुत गर्नुभयो ।

अमेरिकाबाट कार्यपत्र प्रस्तोता वरिष्ठ पत्रकार विष्णु शर्माले कोरोना महामारीका कारण समस्यामा परेका विश्वभरका महिला पत्रकारहरुको अवस्थावारेमा जानकारी गराउनु भएको थियो । उहांले संसार भरि संचारमा कोरोनाले पारेको असरबारे पनि संक्षिप्त प्रकाश पार्नु भएको थियो ।

कोरोना महामारीका कारण सञ्चार उद्यमीहरुले विज्ञापनको ठुलो मात्रा गुमाउनु परेको कारण नै धेरै सञ्चारकर्मीहरुलाई यो संकटको अवस्था आइपरेको मिडियाका लगानीकर्ताहरुले वताएपनि कतिपय मिडियाका मालिकहरुको नियतनै खराव भएको पनि विज्ञहरुको टिप्पणी थियो ।

ग्लोवल कन्फरेन्सको अध्यक्षता गरिरहनु भएका इञ्जा अध्यक्ष गुणराज लुइटेलले संकटमा परेको नेपाली सञ्चार जगतलाई सहयोग पुर्याउन इञ्जा सदैव तत्पर रहेको र आगामी दिनमा पत्रकारहरुका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ लगायतका संस्थासंग मिलेर एउटा कन्सोर्टियम वनाएर अगाडि वढ्ने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले नेपाली सञ्चार जगतलाई अगाडि वढाउन सरकारले सस्तो व्याजदरमा ऋण प्रवाह गर्नुपर्ने र पत्रकारहरुका लागि कुनै कार्यक्रम तत्कालै वनाउनु पर्ने माग गर्नुभयो । उहांले नेपाल सरकारले आर्थिक, भौतिक र मानसिक समस्या भोगिरहेका नेपाली पत्रकारहरुका लागि तत्कालै महासंघले सुझाव गरे अनुसारका नीति तय गर्नुपर्ने तर्क राख्नु भयो ।

इञ्जा सल्लाहकार तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले महामारी सुरु भएको लामो समय वित्दा पनि सरकारले पत्रकारहरुको पेशागत रक्षाका लागि कुनै ठोस योजना नवनाएको र मिडिया मालिकहरु पनि पत्रकारहरुको समस्याप्रति संवेदनशील नभएको वताउनुभयो ।

कार्यक्रममा युरोपवाट सहगागी वरिष्ठ पत्रकारहरु भगीरथ योगी, ददि सापकोटा, अनुराधा पौडेल, लक्ष्मण देवकोटा, टुवल परदेशी, र दीपक धितालले कोरोना महामारीका कारण युरोपको पत्रकारितामा कसरी असर पुग्यो र त्यहांका सरकारहरुले पत्रकारिता जगतको संरक्षणका लागि कस्ता कदमहरु उठाए भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका संयोजक इञ्जा उपाध्यक्ष विष्णु शीतलले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको वारेमा इञ्जाले सदैव कार्य गर्ने जानकारी गराउंदै कन्फरेन्समा आएका सुझावहरुलाई कार्यान्वयनका लागि सम्वन्धित निकायहरुसंग समन्वय र सहकार्य गर्ने वताउनुभयो ।

कोरोना महामारीका कारण आर्थिक संकटमा परेका नेपाली पत्रकारहरुका लागि राहत उपलव्ध गराउन क्रियाशिल हुनु भएका इञ्जा उपाध्यक्ष तथा इञ्जा एशियाका अध्यक्ष टंक पन्तले इञ्जाले तत्कालै पहिलो चरणको राहत स्वरुप ७८ जना पत्रकारहरुका लागि लेखनवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक राजेन्द्र अर्यालले न्युनतम पारिश्रमिक पाउनका लागि नै संघर्ष गरिरहेका नेपाली पत्रकारहरुका लागि कोरोनाले अर्को संकट थपिदिएको चर्चा गर्नुभयो । उहांले आफ्नो स्थानवाट पत्रकारको हक र हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै इञ्जाको प्रशंसा गर्नु भयो ।

सञ्चारिका समुहकी अध्यक्ष नीतु पण्डितले महिला पत्रकारहरुले भोगिरहेका समस्याहरुको वारेमा जानकारी गराउंदै सरकार र पत्रकारिता सम्वद्ध संस्थाहरुले मिलेर एउटा ठोस कार्यनीति लिनु पर्ने माग गर्नुभयो ।

कारियक्रममा ईन्जा ईन्डियाबाट भरत पौडेल र सुभाष शर्मा, ईन्जा जापानबाट आनन्द कोइराला, ईन्जा कोरियाबाट मन्जु गुरूंग, ईन्जा क्यानडाबाट बद्री तिमिल्सिना र सुरेन उप्रेती एवं अष्ट्रलियाबाट वरिष्ठ पत्रकार तथा प्रवचक आचार्य राजनको समेत सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघमा १३ हजार ५ सय पत्रकारहरु आवद्ध भएपनि नेपाली सञ्चार उद्योगमा भएपनि कुल २५ हजार भन्दा वढी पत्रकारहरु कार्यरत रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले ग्लोवल कन्फरेन्सले एउटा भावी कायदिशा तय गर्न सकोस भनी शुभकामना व्यक्त गर्नुभयो ।

कवियत्री सरु गुरागाइले सुदिपभद्र खनालद्वारा रचित पत्रमकारिता सम्वद्ध कविता वाचन र गायक मुरारी गुरागाइले नारायणगोपालको लयमा रहेको राष्ट्रिय गीत गाउनु भएको थियो ।

गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रहरु र सवै टिप्पणीहरुलाई समेटेर एक पुस्तिका प्रकाशित गरी सवै सम्बद्धहरुलाई सार्वजनिक रुपमा उपलब्ध गराइने कुरा ईन्जाले जनाएको छ । स्मरणीय छ ईन्जाले नेपालमा कोभिड-१९ को कारण आर्थिक समस्या झेलिरहेका ७८जना पत्रकारहरुलाई लेखन वृत्ति प्रदान गरेर कलम चलाउन सहयोग गरिरहेको छ ।

प्रतिक्रिया