सङ्क्रमित उपचार निःशुल्क गर्न तीन नीजी अस्पताललाई निर्देशन – मुख्यमन्त्री राई

मनोज दाहाल २०७७ मंसिर १२ गते २२:४० मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,१२ मङ्सिर (रासस):प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको आज अनुगमन गर्नु भयो।

नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङक्रमित विरामीहरुको उपचार नपाई अनाहकमा मृत्यु हुने,निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको,अत्याधिक लिने,धरौटी रकम राख्नु पर्ने लगायतका गुनासा आएकोले अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा मुख्यमन्त्री समक्ष मोरङको वुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड विरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म रु ३ लाखसम्म धरौटी राख्नु पर्ने,सरकारको तोकेको भन्दा ज्यादा साधारण , सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउंदा रु १५ हजारदेखि रु ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए।

भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपु सङक्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माँग भएकोमा भनसुनवाट रु ५० हजार धरौटी राखेको मुुख्यमन्त्रीलाई जानकारी दिनु भयो।

उनीहरुले अस्पतालबाट सेवा सुविधा भने राम्रो रहेको जानकारी गराए।

सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीति अनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले सङक्रमित विरामीको उपचार निशुल्क गर्न निर्देशन दिनु भयो।उहाँले म उपचार गर्छु भन्ने वाहेक सङक्रमितको उपचारको खर्च नेपाल सरकारले भुक्तानी दिने हुनाले सवैको उपचार निःशुल्क गर्न निर्देशन दिनु भयो ।महामारीको यस समयमा कोरोनो नियन्त्रण,रोकथामका गर्नु हामी सवैको कर्तव्य भएकोले नागरिकलाई अकाल मृत्युबाट जोगाउन उपचार सेवालाई सहज र निःशुल्क गरिएको हुनाले सोही अनुसार गर्न आग्रह गर्नु भयो।

उहाँले विरामीका आफन्तबाट आएका गुनासाका सम्वन्धी अस्पताल जिम्मेवारी पक्ष, प्रशासनसंग वसेर छलफल गरी सम्वोधन गर्ने बताउनु भयो।सामाजिक विकास मन्त्री जीवन घिमिरेले सङ्घीय सरकारको प्रोटोकल अनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निशुल्क उपचार उपलव्ध गराउनु पर्छ भन्नु भयो ।

अस्पतालका निर्देशक डा.ज्ञानेन्द्र कार्कीले नेपालको सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षम वाहेक गरीव, असहायलाई स्थानीय निकायको पत्र अनुसार मङ्सिर ८ गतेदेखि निःशुल्क उपचार सेवा दिइरहेको बताउनु भयो।

उहाँले कोभिड सङ्क्रमित उपचारमा खट्ने चिकित्सकको मासिक रु दुई लाख २० हजार र स्टाफ नर्सलाई रु एक लाख २८ हजार तलव भुक्तानी दिएको बताउदै सेवा अनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको र न्यूरो अस्पताल विराटनगर–९ को पनि आज निरीक्षण गर्नु भयो।

अनुगमनको क्रममा मुख्यमन्त्री समक्ष विरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा विरामी भेट्न जाँदा प्रत्येक पटक रु २ हजार मूल्य बरावरको पिपीइ लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सककाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो राखे।

नोबेल अस्पतालले कोभिड विरामीसंग दैनिक रु २० उपचार खर्च लिने गरेको छ भने न्यूरो अस्पतालले रु ३० हजार लिने गरेको छ।

सो अवसरमा नोबेल अस्पतालका प्रवन्धक राजेश नेपालले सङ्घीय सरकारको निःशुल्क उपचारको पत्र नआएकोले शुल्क लिएको बताउनु भयो।

यसैगरी न्यूरो कोभिड अस्पतालले सङक्रमितसंग दैनिक रु ३० हजार उपचार सेवा लिएरहेको अस्पतालमा उपचार गराइरहेका विरामीका आफन्तले बताएका छन्।

सामाजिक विकासमन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले सङक्रमितको उपचार खर्च सरकारले दिने हुनाले अविलम्व निःशुल्क उपचार सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनु भयो ।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया