चुलो धुवाँ मुक्त बन्दै रौतहटको एउटा संसदीय निर्वाचन क्षेत्र

सञ्जय मित्र,रौतहट २०७७ मंसिर ११ गते १३:३९ मा प्रकाशित

सञ्जय मित्र,रौतहट,

रौतहटको एउटा संसदीय निर्वाचन क्षेत्र नै चुलो धुवाँमुक्त बन्ने तरखरमा रहेको छ ।रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ को अधिकांश घरपरिवारमा ग्याँस चुलो पुग्न थालेकोले भान्छाघरमा चुलोबाट निस्कने धुवाँमुक्त क्षेत्र घोषणा गरिन थालिएको हो।

क्षेत्रको मौलापुर नगरपालिकाका चुलो धुवाँमुक्त घोषणा भइसकेको छ। फतुवाविजयपुरको पनि सबै वडामा ग्याँस चुल्हो वितरण भइसकेको छ ।
निर्वाचन क्षेत्रमा मौलापुर,कटहरिया,देवाहीगोनाही, गरुडा,गुजरा र फतुवाविजयपुर नगरपालिकाका ४४ वटा वडा रहेका छन्।

गत संसदीय निर्वाचनको समयमा चुनाव प्रचारको क्रममा मतदातासमक्ष गरेको प्रतिबद्धतालाई पूरा गर्दै साँसद तथा नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले अहिलेसम्म २४ हजार परिवारलाई निशुल्क ग्याँस सिलिन्डर,ग्याँस चुल्हो, रेगुलेटर,पाइप तथा लाइटर प्रदान गरिसकेको साहका स्वकीय सचिव विजय यादव निर्बिजको दाबी छ।

घरघरमा ग्याँस सिलिन्डर पु¥याउने कामको नेतृत्व गर्दै आएका त्रिभुवन साहले अब केही वडा बाँकी रहेकोले निकट भविष्यमै संसदीय क्षेत्रलाई चुलो धुवामुक्त घोषणा गरिने जानकारी गराएका छन्।

साँसद साहले निशुल्क ग्याँस चुलोको सम्पूर्ण सेट नै वितरण गर्न थालेपछि अन्य जनप्रतिनिधि तथा राजनैतिक कार्यकर्तालाई दबाब परेको थियो।फतुवाविजयपुर, देवाहीगोनाही र कटहरिया नगरपालिकाका केही वडामा जनप्रतिनिधिले नै चुलो धुवाँमुक्त अभियानमा सहयोग गरेका छन्।

संसदीय निर्वाचन क्षेत्रमा करिब ३० हजार परिवार रहेकोमा २४ हजारभन्दा बढी परिवारमा ग्याँस चुलो सेट पुगिसकेको र बाँकी परिवारमा पनि पु¥याउने तयारी भइरहेको साहका स्वकीय सचिव निर्बिजको भनाइ छ।

ग्याँस चुलोको सम्पूर्ण सेट वितरणका लागि पहिले इच्छुकहरुको नाम संकलन हुने गरेको र फरक राजनैतिक आस्था राख्नेले सुरुमा आफ्नो नाम लेखाउन नचाहने र ग्याँस सिलिन्डर वितरण हुन थालेपछि आफूमाथि अन्याय भयो भन्नेहरू पनि देखिएको सिलिन्डर वितरणमा सहयोगी गरुडा नगरपालिका ५ का रामविनोद साहको भनाइ छ।

“जो लिन चाहे पनि प्रक्रियामै आउनु पर्छ, कसलाई आवश्यकता छ र लिन चाहेका छन् भने कुनै भेदभाव नगरी क्षेत्रका सम्पूर्ण परिवारलाई ग्याँस चुलोको सम्पूर्ण सेट प्रदान गर्ने योजना छ” साँसद साह भन्दछन् “मुख्यतः विपन्न परिवारलाई सुविधा प्रदान गर्न खोजिएको हो तापनि सबै वर्गले सुविधा लिइरहेका छन् ।”

ग्याँस चुलोले महिलाको समयको बचत गर्ने,धुवाँबाट हुने रोगबाट जोगिने र पर्यावरणलाई सहयोग गर्ने हुनाले हरेक परिवारमा ग्याँस चुलो पु¥याउन खोजिएको हो।हरेक परिवारमा ग्याँस चुलो पु¥याएर संसदीय निर्वाचन क्षेत्र नै चुलो धुवाँमुक्त बनाउने अभियान सफलताको अन्तिम चरणमा रहेकोले सम्भवतः देशको पहिलो औपचारिक चुलो धुवाँमुक्त क्षेत्र बन्ने सम्भावना रहेको स्वकीय सचिव निर्बिजको भनाइ छ।

 

प्रतिक्रिया