बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:०८
वासिङटन डिसी 15:23

छठ पबनीको उत्पत्ति बारे

सञ्जय मित्र, रौतहट २०७७ मंसिर ५ गते ८:११ मा प्रकाशित

सञ्जय मित्र,

विश्वभर आस्था र श्रद्धाका साथ मनाइन लागेको छठ पर्वको प्रादुर्भाव रौतहटमा भएको छ।यस पर्वको विस्तार पनि यहीँबाट विश्वभर हुन पुगेको हो।

सामान्यतया छठ पर्वलाई सूर्यपूजासित जोडेर हेरिन्छ।सूर्यपूजा नै छठ पर्व हो भन्ने प्रचारप्रसार पनि भइरहेको छ।छठपूजामा सूर्यपूजा गरिन्छ तर सूर्यपूजा नै छठ पर्व होइन।छठपर्वको एउटा अंग सूर्य पूजा हो।

सूर्य पूजा रौतहट र यस आसपासका विभिन्न जिल्लाको संस्कार र लोक संस्कृतिमा व्याप्त रहेको छ।विभिन्न लोक देवदेवी तथा कूल देवताको पूजामा पनि सूर्यलाई अर्घ दिने गरिन्छ।बनीगोरेया,कारिख, णिनाथ–गोविन्द लगायतका अनेक देव देवीको पूजा हुँदा मूल पूजा राति हुने र बिहान सूर्यलाई अर्घ दिएर समापन गरिन्छ।गणिनाथ–गोविन्दको पूजा त शुक्रवार सुरु हुन्छ र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ।यसरी सूर्यपूजा यस क्षेत्रको लोकसंस्कार र संस्कृतिमै रहेको छ तर सूर्यलाई अर्घ दिइने सबै लोकसंस्कृतिलाई छठ भनिएको पाइँदैन।

अग्निपुराण,सूर्यपुराण, विष्णुपुराण,देवी भागवद्पुराणादि अनेक पुराण तथा स्वयम् ऋग्वेदमा नै सूर्यलाई विभिन्न किसिमको पूजा,उपासना तथा अर्चनाको बारेमा उल्लेख गरिएको पाइन्छ।रामायण तथा महाभारत र अन्य धार्मिक ग्रन्थहरुमा पनि सूर्यपूजा र सूर्यवंशसम्बन्धी तथ्यहरु पाइन्छन् तर छठ पर्वको स्पष्ट उल्लेख कतै गरिएको पाइन्न।

छठ पर्वलाई कतिपयले सूर्यपूजाको विभिन्न ग्रन्थको आधार दिएर शास्त्रीय पर्व बनाउने प्रयास पनि गरेका छन्।अझ पछिल्लो चरणमा यो प्रयास केही बढी हुन थालेको छ।यदि छठ पर्वको विस्तार केही शताब्दीपहिले नै भइदिएको भए धेरैले यसको विषयमा शास्त्र पनि लेखिसक्थे होला तर अहिलेसम्म यसबारेमा धार्मिकशास्त्रहरु मौन छन्।

पछिल्ला केही दशकमा छठ पर्व लोकआस्थाको महापर्व हो भन्ने कुराको सञ्चार जनमानसमा व्यापक मात्रामा भएको छ।छठ पर्व शास्त्रीय पर्व होइन भन्ने आधार पनि यही हुनुपर्छ।छठ पर्वको उत्पत्ति र विस्तारको बारेमा खासै कतै चर्चा गरिएको पाइन्न।

वास्तवमा हाम्रो क्षेत्रका संस्कृति र इतिहास निरन्तर अवहेलनाको शिकार हुनुका साथै केही राम्रो भयो भने जान्ने बुझ्नेले आफ्नो बनाई अतिक्रमण गर्ने र आफ्नो ट्रेडमार्क दिइहाल्ने पुरानो चलन हो तर लोकपर्व छठ कैयौँ सहस्राब्दीसम्म यस क्षेत्रमा परिपक्व बन्दै पछिल्लो केही दशकमा विश्व विस्तार भएको हो।
छठ पर्वको उद्भव महाभारतसित सम्बन्धित छ।

हिडिम्बावन (हालको हेटौँडा)मा लामो समयको बसाइँपछि पाण्डवहरु अज्ञात बासको लागि विराटनगरतर्फ प्रस्थान गर्दछन्।राजा विराटको राजधानी भएकोले विराटनगर भनिएको हो, राजा विराटले बसाएको नगर पनि हुन सक्छ।कतै कतै मत्स्य देश पनि भनिएको छ।मत्स्य देशको राजधानी विराटनगर हुन पनि सक्छ वा छिमेकमा मत्स्य देश बलियो भएकोले चिनाउन सजिलोको लागि बताइएको हुन सक्छ।

पाण्डवहरुले अज्ञातबास कसरी सुरु गरे त ? यस सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन्।

अज्ञातबासको समय नजिकिँदै जाँदा कौरवका अनेकन गुप्तचरहरु पाण्डवको पछि पछि लागेका थिए।

अज्ञातबासको समय नजिकिँदै जाँदा पाण्डवहरु वर्तमान रौतहटको समनपुर पुग्छन्।समनपुर त्यसभन्दा पनि पहिलेको मानव बस्ती हो।बागमती नदीको किनारमा अवस्थित समनपुर पाटलीपुत्र र कान्तिपुरको मार्गमा अवस्थित छ। पहिले तिब्बती व्यापारीहरु कान्तिपुरसम्म सामान पु¥याउने र कान्तिपुरबाट पाटलीपुत्रसम्म सामान जाँदा यहीबाटो भएर जान्थ्यो।पाटलीपुत्रबाट पूर्वमा बंगालसम्म र पश्चिममा बनारससम्म जलमार्गद्वारा सजिलै पुग्थ्यो।गंगाको उत्तरमा वैशाली र दक्षिणमा पाटलीपुत्र थियो।

पाण्डवहरुले बुझेका थिए कि कौरवका गुप्तचरहरुको आँखामा छारो हाल्नु सजिलो छैन।भेष बदलेर केही दिन स्थानीयबासीसित बसेर एक दिन पाण्डवहरु सुरुङमा पसेर बागमतीतिर निस्कन्छन्।अझै पनि कतिपयको विश्वास छ कि त्यो सुरुङ यति लामो र गहिरो थियो कि बागमती नदीभन्दा पूर्वतिर निस्कन्थ्यो।
सुरुङमा पस्नुभन्दा पहिले द्रोपदीले स्थानीयको सल्लाहअनुसार लोकदेवी छठीमाईको व्रत गर्छिन्।छठ व्रत गरेपछि मनोकामना पूरा हुन्छ भन्ने विश्वास थियो ।नदी किनारमा एक दिन निराहार बसी साँझमा दूधबाट बनेको खीर र रोटीले छठी माईको पूजा गर्छिन् र प्रसाद ग्रहण गर्दछिन्।भोलिपल्ट पनि दिनभरि निराहार व्रत बसेर साँझ सूर्यकी पत्नी सन्ध्यालाई पूजा गर्छिन् अस्ताउँदो सूर्यलाई अर्घ दिएर।राती फेरि छठीमाईको पूजा गर्छिन् कोसियामा।बिहान सूर्यकी अर्की पत्नी ऊषालाई पूजा गर्छिन् उदाउँदो सूर्यलाई अर्घ दिएर।बिहान र बेलुकीको घाटको पूजा छठीमाईको छोरो श्रीसप्ताको हुन्छ।

यसरी छठीमाईसित जोडिएका विभिन्न देवदेवीको पूजाको चलन पहिलेदेखि नै हो वा पछि थपिएका हुन् भन्ने कुरा खोजीको विषय हुनुपर्छ तर द्रोपदीले नदी किनारमा छठव्रत सुरु गरेको र छठव्रतको कामनाजस्तै अज्ञातबास पूरा भएको, युद्धमा पाण्डवको विजय भई गुमेको राजपाट फिर्ता भएको सबैले सुनेपछि अन्यले पनि छठव्रत गर्न थालेको किंवदन्ती अद्यपर्यन्त रहेको छ।

पाँच पाण्डव र एकजना द्रौपदी गरी छ जना कतै हिँड्दा अरुले थाहा पाइहाल्ने र अज्ञात बास सफल नहुने भन्ने परेपछि छठव्रत सम्पन्न भएपछि बागमती नदीको पश्चिमपट्टि रहेको विशाल पोखरीको दक्षिणतिरको किनारमा कसैले थाहा नपाउने गरी खनेको सुरुङमा पस्तछन्।सबैभन्दा अन्तिममा पसेको भीमले सुरुङको मुख छोप्न ठूलो ढुंगा हाल्दछन्।त्यस सुरुङ माथि अहिले मन्दिर छ र स्थानीय समनपुरबासी अहिले त्यस ढुंगोलाई महादेव भनी पूजा गर्दछन्।स्थानीयको विश्वास के छ भने सुरुङमाथि ढुंगो भएकोले ढुंगोमाथि जति पानी खन्याए पनि पानी सुरुङभित्र पस्छ।पानी कहाँ जान्छ, थाहा हुँदैन।

यस मन्दिरमा माओवादी द्वन्द्वकालसम्म पनि कछाडिया समुदायको बिहे हुने गर्दथ्यो । अहिले यो परम्परा रोकिएको छ।

पाण्डवहरु सुरुङमा पसेर बागमतीको बगरमा निस्की पूर्वतिर गएछन् र विराटनगरमा पुगी त्यहाँ एक वर्षको अज्ञातकाल बिताएछन्।

अनेक किंवदन्ती,महाभारतसित जोडिएको हेटौँडाको सम्बन्ध,समनपुरको महादेव मन्दिर,पाण्डवको अज्ञातबास र विराटनगर तर्फ प्रस्थान आदिले छठ पर्वको सुरुआत रौतहटको समनपुरबाट भएको हो भन्ने देखिन आउँछ।छठ पर्वमा मुख्य रुपमा उपयोग हुने सम्पूर्ण सामग्रीहरु स्थानीय हुनु,नितान्त कृषिसित सम्बन्धित हुनु र यस क्षेत्रको लोकपरम्परामा अहिले पनि छठको मूल दिन पञ्चमी खरना र छठको रातको कोसिया पूजा छठको मूल पूजा हुनु भन्ने मान्यता रहेको तथा अन्य क्षेत्रबाट सूर्यपूजालाई नै छठपूजा भनी प्रचार गरिएको आदिले छठ पर्वको सुरुआत समनपुरबाट भएको कुरालाई थप पुष्टि गर्दछ।छठ पर्वका अत्यन्त पुराना गीत तथा लोक कथाहरु यसै क्षेत्रको लोक भाकामा हुनु र लोक कथाको भावभूमि पनि यसै क्षेत्रको पाइनुले छठ पर्व यहीको भन्ने पुष्टिको आधारहरु खडा गर्दछन्।अझ महत्वपूर्ण कुरो त के हो भने यस क्षेत्रकै पर्व भएकोले यसको विस्तार नहुँदासम्म अन्य क्षेत्रका मानिसले थाहा नपाएर यसको बारेमा कुनै कृति लेखेका छैनन् र कतै मूर्तिपूजाको सुरुआत गरेका छैनन्।गणतन्त्र आइसके पछि पछिल्लो दशकमा बल्ल कतै कतै छठ पूजाको लागि स्थायी संरचनाको निर्माण हुन थालेको छ।

(लेखक छठ पबनी : उद्भव र विस्तार कृतिका लेखक तथा अनुसन्धानकर्मी हुन् ।)

 

प्रतिक्रिया