अधुरो प्रेमको सुमधुर मित्रता

अधुरो प्रेमको सुमधुर मित्रता २०७७ मंसिर १ गते २०:५४ मा प्रकाशित

“ह्यापी लक्ष्मीपुजा” तिम्रो ह्वास्टएप मेसेजको जवाफ दिन मैले जरुरी सम्झिन। यो वर्ष महामारी शुरु भएदेखि नै मभित्र पनि मसान वैराग्य पलाएको छ। तीज मनाउने कुरामा पनि म सहमत थिइन दशै पनि परिवारलाई खुशी पार्नको लागि मनाए तर तिहार त कुनै हालतमा पनि मनाउदिन भन्ने प्रण नै गरे तर तिम्रो दुई शब्दको शुभकामनाले दिनभर सोचिरहे। न म तिमीलाई पाउन चाहन्छु न गुमाउन तर तिम्रो मेसेज नआउदा जति नियास्रो लाग्छ तिम्रो मेसेज आउदा त्यति नै बेचैनी बढ्छ।” यति भनीरहदा उसको आंखाबाट आशु बगेको रेकर्ड गरेर पठाएको भिडीयोमा प्रस्ट देखिन्थ्यो।

अनौठो सम्बन्ध छ उसको र मेरो, कहिले महिनौ सम्पर्क हुदैन कहिले घण्टौ कुरा हुन्छ । ऊ मबाट हजारौ माइल टाढा छे, उसको विवाह पछि मैले उसलाई भौतिकरुपमा आजसम्म भेटेको छैन तर बेलाबखत जब ऊ दुखी हुन्छे या कुनै सुखद घटना घट्छ, उसले मलाई सम्झिन्छे र म उसलाई सम्झिन्छु तर हरेक लक्ष्मी पुजाको दिन म उसलाई दुई शब्दको शुभकामना पठाउने गर्छु किनकी यही लक्ष्मी अर्थात धन थियो जसको कारण मैले मेरो प्रेम गुमाए।

म अति सम्पन्न परिवारको एक्लो सन्तान तर आफ्नो एकलौटी निर्णय लिन मेरो कर्तव्य र संस्कार दिदैनथ्यो। सामाजिक संरचना नै त्यस्तै थियो मैले र उसले नबोलेपनि उसलाई र मलाई समाजले फरक देख्थ्यो। उ क्षेत्रीकी छोरी म ठकुरीको छोरा, एउटै जातमा पनि जातिय भेदभाव थियो त्यो भन्दा पनि यस भित्र लक्ष्मी अर्थात धनकै मोलतोलले रोकेको थियो हामीलाई । मैले खुलेर उसलाई आफ्नो प्रेम दर्शाउन सकिन न उसले मेरो प्रेम बुझ्न सकी। म धनमा हुर्किएको ऊ लाडप्यारमा हुर्किएकी, म धनलाई सब सम्झन्थे तर ऊ सधै सपनाको संसारमा रमाउथी। स्कुल जीवनदेखि नै अत्यन्तै माया गर्थे म उसलाई तर त्यो चंचले केटीलाई मनको कुरा भन्न हिम्मत गर्नै सकिन। कलेजको प्रारम्भिक शिक्षापछि जब म उच्च शिक्षाको लागि विदेश जाने पक्का भयो, उसले आंखाभरी आँसु पारेर भनेकी थिई, “अब्रोडमा सेटल नहुनु यहाँ डक्टरको कमी छ।” मैले टाउको हल्लाई तर त्यसपछि म विदेश नउडेसम्म हाम्रो भेट भएन। म बेलायत आएपछि पहिलो टेलिफोन मैले उसैलाई गरेको थियो। ऊ प्रति असीम प्रेम हुदाहुदै पनि यो कुरा म उसलाई भन्नै सक्दैन थिए किनकी उसले आफ्ना धेरै सपनाहरु मसंग साटेकी थिई, मनमा जे आउछ ऊ सबै मलाई नै भन्थी त्यसैले मलाई डर लाग्थ्यो मैले मेरो प्रेम व्यक्त गर्दा उसका सपना टुट्ने पो हुन कि कतै मैले उसको सामीप्य गुमाउने पो हुँ कि? पढाई सकाएर म नेपाल फर्किए मन एउटा आशा बोकेर । मेरो घरमा मेरो विवाहको कुरा चल्यो। मैले मेरी आमालाई उसको बारेमा भने तर त्यहा शुरु भयो खान्दानी रितीरिवाज, परम्परा अनि ठुलो जात र सानो जातको कुरा तैपनि आमालाई मनाए र उसको घरमा उसको हात माग्न पठाए तर मेरी आमाले बुहारीको भन्दा दाइजोको कुरालाई बढी प्राथमिकता दिनु भएछ। यो सब थाहा पाएपछि उसले मसंग भेट्न त टाढा फोनमा समेत कुरा गर्न छोडीदिई।

अचानक उसको विवाहको कुरा सुने र उसको घरैमा गए, उसलाई सोधे, “आर यु ह्यापी?” उसको जवाफ आएन। मेरो मन भारी भयो तैपनि भन्न सकिन “आई लभ यु मोर द्यान माइसेल्फ।” तालिमको लागि पुन विदेशीने निर्णय गरे। विवाह पछि उसले पनि देश छोडी र मैले पनि। घरबाट विवाहको दबाव जति आएपनि बाल्यकालदेखि उसलाई राखेको ठाउमा अरु कसैलाई राख्न चाहिन मैले। पहिलो माया त प्राय सबैको अधुरै रहन्छ तर कसैको अन्तिम माया बन्नेछु। मैले उसलाई आफ्नो बनाउन सकिन तर उसको सबभन्दा नजिकको मान्छे बनेको छु। बाल्यकालमा जस्तो उसले उसका सपनाका कुरा मसंग गर्दिन तर मैले सपना देख्न अझै छोडेको छैन।

अधुरो प्रेमको सुमधुर मित्रता
भियना, अस्ट्रिया

प्रतिक्रिया