नेपालमा प्रधानमन्त्रि ओली देखि सर्वसाधारणको भाइटीका यस्तो रह्यो (प्रम देखि सर्वसाधारणका तस्बिरहरु सहित)

इनेप्लिज २०७७ मंसिर १ गते १३:०९ मा प्रकाशित

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्षको भाइटीका अधिकांशले सम्पन्न गरेका छन् ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भएकोले अझ पनि नेपालभरि भाइटीका लगाउने क्रम भने जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ ।

कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय विश्वास रहेको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

बन्दबन्दिको कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।

प्रतिक्रिया