बुधबार, मंसिर १० २०७७
काठमाडौं ०७:३८
वासिङटन डिसी 20:53

अमेरिकाका नेपालीले यसरी मनाए लक्ष्मी पूजा

इनेप्लिज २०७७ कार्तिक ३० गते १:३२ मा प्रकाशित

अमेरिकामा विभिन्न राज्य ,शहर,गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले यमपञ्चकको दोस्रो दिन लक्ष्मी पूजा श्रद्धाभक्तिको साथ मनाएका छन् । साँझ परे पछि लक्ष्मी पूजा गर्नु पर्ने हुनाले जाडो मौशमको कारण विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो स्थानमा लक्ष्मी पूजा सम्पन्न भै सकेको छ । मुलुक छोडी बिदेसिएका नेपालीहरुले आफ्ना चाडपर्वलाई अझ श्रद्धाभक्तिका साथ मनाउने गर्छन ।

अमेरिकामा अझ पनि ३ घण्टाको समय फरक हुने राज्यहरुमा सुरसार हुदै गरेको अवस्था छ । यस बर्ष कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो ।

नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री,दियो,कलस,फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् ।

तर यस पटक कोरोना भाइरस महामारीको कारण बिगत बर्ष भन्दा खल्लो हुन् पुगेको छ । आफन्त र आफ्नै परिवार बीच समेत आउने जाने नहुनाले नेपालीहरुको दोश्रो महान चाड तिहार उल्लासमय हुन सकेन ।

तथापी परिवार रमाएर चाड मनाई रहेका छन । लक्ष्मी पूजाको दिन साँझ भए पछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

अमेरिकामा घर आफै सफा हुने हुनाले सफासुग्घर गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा,भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । अमेरिकामा पनि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएका छन ।

अमेरिकामा नेपाल जस्तो गरि दियोमा बत्तिमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन छ । किनभने सबै काठका घर हुने हुनाले आगलागीको डर र बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । बिगत बर्षहरुमा भैलो नजिक र आफन्तका घरमा खेलिने भएता पनि यस बर्ष कोरोना भाइरसको कारण रद्ध भएको छ ।

कार्तिक कृष्ण औँसीको रात अत्यन्त अँध्यारो रातको रुपमा रहने हुँदा यो अन्धकाररातलाई उज्यालो प्रकाशले आलोकित पार्नको लागी घर-घरमा झिलिमिली बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर ,सन्दुक ,सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।

 

प्रतिक्रिया