मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १५:०२
वासिङटन डिसी 04:17

सद्‌भाव र विश्वासको पर्व तिहार

विनोद पोख्रेल २०७७ कार्तिक २९ गते १४:१५ मा प्रकाशित

चाडपर्व तथा संस्कृतिले भरिएको हाम्रो हिन्दु धर्म भित्र रहेका परम्परागत मान्यताहरू तथा प्रचलनहरू नै हाम्रा चाड पर्वहरूका आधार हुन भने हाम्रो संस्कृतिको पहिचान पनि हुन । यसै प्रसङ्गमा तिहार पनि हाम्रो संस्कृति पहिचानको पर्व हो । यस पर्वलाई कहिले देखि, किन र कसरी मनाउँदै आएको हो भन्नेमा विभिन्न भनाई रहे पनि पौराणिक काल देखि मनाउँदै आएको सन्दर्भ हाम्रा पुराण तथा ग्रन्थहरूमा उल्लेख गरिएका छन्।

वास्तवमा हिन्दी शब्दको “त्योहार” शब्दबाट अपभ्रंश हुँदै तिहार को नामाकरण भएको हो भन्ने विद्धानहरुको भनाई रहेको छ जसको अर्थ चाड पर्व भन्ने बुझिन्छ। तिहार एउटा पर्व मात्र नभएर पर्वहरूको पनि पर्व हो भन्नुमा अतिशयोक्ति नहोला। कार्तिक कृष्ण पक्षको त्रयोदशी बाट सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया दिन भाइ टिका लगाएर समाप्त हुने यस पर्वको पाँच दिनलाई यमपन्चक पनि भनिन्छ हरेक पाँच दिनको आफ्नो आफ्नो महत्त्व रहेको छ। हरेक जीव जन्तु तथा वस्तुमा भववानको बास हुन्छ भनेर त्यसका प्रतीकको रूपमा काग, कुकुर, गोरु, पर्वत तथा भाई बहिनीको पूजा गरेर मनाइने यस पर्वका पनि विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक, वैज्ञानिक तथा परम्परागत महत्त्व रहँदै आएको छ।

भगवान् रामचन्द्रले लोक कल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिककृष्ण औँसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा मृत्युका देवता यमराजले यमपञ्चकका पाँच दिन पृथ्वीमा रहेकी आफ्नी बहिनी यमुनाकहाँ बसेको कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्,यी सबै प्रसङ्गमा यस पर्वको ठूलो महत्त्व रहेको ठानिन्छ।

पाँच दिनसम्म मनाइने यस पर्वको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तुभन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकारसँग भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको प्रसंगले प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको धार्मिक मान्यता रहेको छ । तिहारले एकातिर मानव तथा पशु पन्छी बिचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले दर्साउने गरेको छ।

सामाजिक रूपमा पनि तिहारको महत्त्व रहेको छ ।वर्षभरि खेती किसानी सकेर विश्राम लिए पछि खेतीपाती स्याहार गर्ने बेला राम्रो फल लागोस् भनी खुसी हुँदै धनसम्पत्ती कि स्वरूप लक्ष्मीको पुजागरी दिपावली गरी खुसी मनाउदै आएको भन्ने समेत सामाजिक मान्यता रहेको छ।त्यसै गरी लक्ष्मी पुजाकै दिनलाई नयाँ वर्षको रूपमा लिई सोही दिन वर्ष भरिको आम्दानी खर्चको लेखा जोखा राख्ने नयाँ नयाँ योजनाहरु बनाउने परम्परा समेत गाउँ घरमा रहेको थियो तथापि नेवार समुदायमा अहिले पनि यसै दिनलाई नयाँ वर्षको रूपमा मान्दै नेवाःसंवत् मनाउदै आएको देखिछ।
हिन्दू संस्कृति अनुसार तिहार पर्व पाँच दिन सम्म कसरी मनाइन्छ भने बारे विभिन्न व्याख्या विश्लेषण गरिएता पनि वस्तुगत रूपमा काग पूजा, कुकर पूजा, गाई पूजा अर्थात् लक्ष्मी पूजा, गोरु पूजा तथा गोवर्धन पूजा र भाइटिका गरी पाँच दिन हर्ष उल्लासका साथ मनाइने हिन्दू परम्परा रहेको छ।

काग तिहार: कार्तिक कृष्ण त्रयोदशी अर्थात् यम पञ्चकको पहिलो दिन काग तिहार मानिन्छ र सो दिन कागको पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङ्ग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसै गरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।त्यसैले पंछिहरुको प्रतिकको रुपमा समेत यस दिनमा कागको पूजा गरिँदै आएको मान्यता रहेको छ।

कुकुर तिहार : कार्तिक कृष्ण चतुर्दशी अर्थात् तिहारको दोस्रो दिन कुकुर तिहार मानिन्छ।हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रूपमा वर्णन गरिएको छ । मृत्युपर्यन्त पनि मोक्षकोद्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । यस्तै कुकुरलाई भगवान् भैरवको बाहनकोरुपमा पनि चिनिन्छ ।मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरूलाई सहयोग गरेको पाइन्छ ।कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हर क्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा चिनिन्छ ।कुकुर तिहारको दिन पूजाआजा गरी माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पाप नाश गर्न नर्क नुहाउने चलन रहेको छ । यस दिन मासको पात खाने चलन पनि रहेको छ । यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ ।

गाई तिहार तथा लक्ष्मीपूजा :कार्तिक कृष्ण औशी अर्थात् तिहारको तेस्रो दिन गाई तिहार तथा लक्ष्मीपूजाको रूपमा मनाइने गरिन्छ।गाई तिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दुहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा मान्ने हुँदा यस दिन गाईको पूजा गर्ने गरिछl कार्तिक कृष्ण औँसीको रात अत्यन्त अँध्यारो रातको रुपमारहने हुँदा यो अन्धकाररातलाई उज्यालो प्रकाशले आलोकित पार्नको लागी घर-घरमा झिलिमिली बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ।आफू भित्र अन्तर्निहित कुनै पनि किसिमको अन्धकार रुपी सोच तथा भावनालाई चेतनाशक्तिको प्रकाशले हटाउनुपर्छ भन्ने समेत यस दिनको सन्देश रहेको छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छl सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित यस दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ। दीपावलीमा “तमसोमाज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर्नु पर्छ भन्ने मान्यता राख्दै यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो समेत गर्ने गर्दछन्। नेपाल मात्र होइन भारतमा समेत दिवालीको रूपमा देशकै सबै भन्दा ठुलो राष्ट्रीय पर्वको रूपमा हर्ष उल्लासपूर्वक मनाइने गरिन्छ।

गोरु तिहार तथा गोवर्धन पूजा:कार्तिक शुक्ल प्रतिवदा अर्थात् तिहारको चौथो दिन गोरु तिहार तथा गोवर्धन पूजा गरी यस पर्व मनाइने गरिन्छ। वर्षभरि अन्न उब्जाउनको लागी गरिने खेतिको एउटा सारथि को रूपमा रहेको गोरुको सम्मान गर्दै यस दिन गोरुलाई मिठो मिठो खाना खुवाई पूजा गरिन्छ भने वर्ष दिन भरि हरेक चाडपर्व पूजा अनुष्ठाउनमा सुद्ध बनाउन प्रयोग गरिने गाईको गोबरको महत्त्वलाई सम्मान गर्दै गोबरको पर्वत बनाई फुलहरुले सिंगारि गोवर्धन पर्वतको रूपमा पूजा गरिन्छ।पौराणिक कथन अनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एक दिन गोकुलवासीहरूलाई भने केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराउँछन् र भगवान् कृष्णले गोवर्धन पर्वतलाईहातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन्।त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो भन्ने विश्वास समेत रहेको छ।

भाइ टिका : कार्तिक शुक्ल द्वितीया अर्थात् यमपञ्चकको पाँचौँ दिन भाइटिका पर्छ। आफ्ना दिदीबहिनी दाजुभाइको सुख-समृद्धि, अरोग्य, धन धान्य पूर्ण एवं दीर्घायुको कामना गर्दै एक आपसमा टिका लगाउनु नै यस पर्वको महत्त्व रहेको छ। यो दिन नै तिहारको सबै भन्दा महत्त्वपूर्ण दिन हो। लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत यस पर्वलाई लिइन्छ।दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटिकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन थियो तर अहिले फोन मेसेन्जर वाट रङी विरङ्गी निमन्त्रणा कार्ड बनाई निमन्त्रणा पठाउने गरिन्छ।भाइटिकाका दिन बिहान केही नखाई नुहाएर अष्ट चिरञ्जीवीको पूजा गरी सबैभन्दा पहिले दियो, कलश, गणेश तथा बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकी पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई शिरमा तेल लगाइ यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा फूल, अक्षता, चन्दन तथा सप्तरंगी टिका लगाई दाजु भाईको पूजा गरिन्छ र मिठो मिठो खानेकुरा खुवाई टोपी बस्त्रादी उपहारसमेत दिने गरिन्छ त्यसैसरि दाजु भाईले समेत दिदि बहिनीलाई टिका माला लगाई दक्षिणा तथा गहना वस्त्रादी उपहार दिने गरिन्छ। भाइटिकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरियै रहन्छ भन्ने विश्वासले दिगो माया प्रेम तथा सद्भावको प्रतीकको रूपमा फुल माला दुवो लगाई दिने परम्परा रहेको छ। सप्तरङ्गी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ भनी दाजुभाइ प्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास यस भाइ टिका पर्वमा गरिन्छ।

यसरी हाम्रा धार्मिक, सांस्कृतिक तथा परम्परागत चाडपर्वहरू मनाउनु को उद्देश्य राम्रा लुगा लगाउने खाने पिने रमाउने मात्र नभई एक आपसमा माया प्रेम सद्भाव तथा विश्वास दर्साउने हुनु पर्छ र यस्तो विश्वासलाई अविछिन्न तथा दिगो बनाउन सफल हुनु पर्छ भन्ने परम्परागत मान्यता रही आएको छ । यस्ता सकारात्मक भावनाका तथा एक आपसको माया प्रेमलाई सफल बनाउनु तथा सत्य साबित गर्नु नै हाम्रो मान्यता तथा विश्वास रही आएको छ भने यस्ता परम्पराहरुलाई संस्कृतिको रुपमा स्थापित गराउन सक्नु नै हाम्रा चाडपर्वहरूको महत्त्व रहेको छ।

विनोद पोख्रेल
हाल : हाल टेम्सास

प्रतिक्रिया